काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा विशेष अदालतले जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह सहित तीनजना प्रतिवादीलाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।
विशेष अदालतको शुक्रबारको इजलाशले राजबहादुर शाहबाट १ करोड ५० लाख रुपैयाँ, शिशिर गैरेबाट २० लाख रुपैयाँ र सुरेन्द्र थापाबाट १० लाख रुपैयाँ धरौटी वा जमानत लिई तारेखमा रिहा गर्न आदेश दिएको हो।
उनीहरूविरूद्ध दायर अभियोग पत्रमा संस्थागत रकम निजी स्वार्थका लागि शेयर कारोबारमा प्रयोग गरेर शेयरको मूल्य प्रभावित पार्ने, रकमको वास्तविक स्रोत लुकाउने तथा कसुरबाट प्राप्त सम्पत्तिलाई शेयर कारोबारको आवरणमा व्यवस्थापन गरेको आरोप लगाइएको थियो।
अभियोगपत्रमा राजबहादुर शाहलगायत सञ्चालक समिति सदस्य र अन्य अभियुक्तहरूले हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित शेयर तथा अन्य शेयर खरिद बिक्रीमा मूल्य प्रभावित पारेको दाबी गरिएको छ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिएको आदेशमा उल्लेख गरेको छ।
हिमालयन रिइन्स्योरेन्सका कार्यकारी निर्देशक रहेका शिशिर गैरेको कार्यकालमा हिमालयन रिइन्स्योरेन्सको रकम ब्रोकरमार्फत् प्रयोग गरि निजी स्वार्थका लागि शेयर खरिद बिक्री गरेको अभियोग छ ।
नेपाल रिइन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सार्वजनिक कोषको रकम दुरुपयोग गरी शेयर कारोबारमार्फत लाभ पुर्याएको तथा शेयरको मूल्य प्रभावित पार्ने कार्यमा संलग्न रहेको अभियोग छ।












