काठमाडौं । ‘कफ सिरप’ सेवनबाट छिमेकी मुलुक भारतको मध्यप्रदेश र राजस्थानमा १८ बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै क्षलाई सचेत गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै ‘कफ सिरप’ बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो। ‘भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ। सो उत्पादक तथा त्यसका उत्पादनहरु विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ।’
यस्ता प्रकारका घटनाहरु विगतमा पनि भइसकेकोमा सोप्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको सूचनामा उल्लेख छ। ‘नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा Propylene Glycol, Polyethylene Glycol, Sorbitol Glycerol/Glycerine जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरुमा Ethylene Glycol Diethylene Glycol को मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मंसिर १२ मा सूचना प्रकाशित गरिएको थियो’, सूचनामा भनिएको छ, ‘त्यसपश्चात २०८२ साउन २१ मा डब्ल्यूएचओ वर्किङ डकुमेन्टबमोजिम लिक्विड प्रिपेरेसन फर ओरल युजमा Ethylene Glycol Diethylene Glycol को मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन भनि सूचना प्रकाशित गरिएको थियो। तथापि, सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिँदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको छ।’
यस्ता छन् सबै पक्षलाई विभागको आग्रह
औषधि उत्पादकका लागि
- च्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुहुन।
- उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधिबमोजिम Ethylene Glycol Diethylene Glycol को परीक्षण गरेपश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्नुहुन।
औषधि आयातकर्ताका लागि
- नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको Ethylene Glycol Diethylene Glycol मिसावट नभएको सुनिश्चित गरेपश्चात मात्र आयात तथा बिक्री वितरण गर्नुहुन।
फार्मेसीहरुका लागि
- विभागमा दर्ता भएका औषधिहरुमात्र बिक्रीवितरण गर्नुहुन।
चिकित्सकहरुका लागि
- विभागमा दर्ता भएका औषधिहरुमात्र सिफारिस गर्नुहुन।
- दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र सिफारिस गर्न गराउनु हुन।
सर्वसाधारणका लागि
- बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाहबमोजिम मात्र प्रयोग गर्नुहुन।
- विभागमा दर्ता भएका औषधिहरुमात्र प्रयोग गर्नुहुन।
- औषधिको लेबलमा उल्लेखित जानकारीबमोजिम मात्र प्रयोग गर्नुहुन।

















