IME Life New

बुटवल पावर कम्पनीले सुरु गर्‍यो नेपालको पहिलो हरित हाइड्रोजन पाइलट परियोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी)ले बेलायत सरकार र विश्व बैंकको सहयोगमा प्युठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ । कम्पनीले झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको परियोजनाको उद्घाटन गरेको हो ।

बीपीसीका अनुसार १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गरिनेछ ।

Esewa
Crest

परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ)मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो ।

परियोजनाको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत् प्राधिकरण, विश्व बैंक, एफसीडीओ तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

बीपीसीले परियोजनामा ५० किलोवाट क्षमताको क्षारीय (अल्कलाइन) इलेक्ट्रोलाइजर प्रणाली जडान गरेको छ, जसले ९९ दशमलव ९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्ने कम्पनीले जनाएको छ । उत्पादित हाइड्रोजनलाई १५० बार दबाबमा कम्प्रेस गरी सिलिन्डरमा भण्डारण गरिनेछ । त्यसको प्रयोग विभिन्न सम्भावित क्षेत्रको परीक्षण तथा मूल्यांकनमा गरिने बताइएको छ ।

चीनको सीपीयू हाइड्रोजन पावर टेक्नोलोजी कम्पनीले निर्माण गरेको उक्त प्लान्ट गत अप्रिल १३ मा सफलतापूर्वक सञ्चालनमा आएको थियो । सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर पनि सफलतापूर्वक भरिएको कम्पनीले जनाएको छ ।

हरित हाइड्रोजनलाई विश्वभर न्यून कार्बन उत्सर्जनयुक्त ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्त्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिन्छ । नवीकरणीय स्रोतबाट उत्पादित विद्युत प्रयोग गरी पानीलाई विभाजन गरेर उत्पादन गरिने हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन घटाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

बीपीसीले पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन तथा आर्थिक व्यवहार्यतासम्बन्धी महत्त्वपूर्ण अनुभव र तथ्यांक प्राप्त हुने अपेक्षा गरेको छ । प्राप्त सिकाइले भविष्यमा व्यावसायिक स्तरका परियोजना विकास, नियामकीय व्यवस्था निर्माण तथा ऊर्जा नीतिमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

नेपाल सरकारले समेत हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा बीपीसीको यो परियोजनालाई नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रारम्भिक अभ्यासका रूपमा हेरिएको छ ।

बीपीसीले नेपालको प्रचुर जलविद्युत् स्रोतलाई हरित हाइड्रोजन उत्पादनमा उपयोग गरी घरेलु उपभोग, औद्योगिक प्रयोजन, यातायात तथा सम्भावित क्षेत्रीय बजारमा विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्न परियोजनाले महत्त्वपूर्ण आधार तयार गर्ने जनाएको छ ।

करिब ६ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय बीपीसी नेपालका अग्रणी निजी ऊर्जा कम्पनीमध्ये एक हो । कम्पनीले जलविद्युत् विकास, प्रसारण तथा वितरणसँगै ऊर्जा नवप्रवर्तनका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS