काठमाडौं । खल्ती डिजिटल वालेटका संस्थापक समेत रहेका सूचना प्रविधि उद्यमी अरविन्द साह बारा क्षेत्र नम्बर ३ बाट भारी मतान्तरका साथ विजयी भएका छन् ।
नेपाली काँग्रेस पार्टीबाट पटक पटक संसदीय निर्वाचनमा जित हासिल गर्दै मन्त्री समेत भइसकेका फरमुल्लाह मन्सुरलाई ३० हजार मतको अन्तरले पराजित गर्दै साहले इतिहास रचेका हुन् ।
नव निर्वाचित प्रतिनिधि सभा सदस्य अरविन्द साह नेपालका सफल प्रविधि उद्यमी, नवप्रवर्तनका प्रवक्ता र डिजिटल रूपान्तरणका अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन्। कम्प्युटर इन्जिनियरिङ अध्ययनपछि सूचनाप्रविधिको क्षेत्रमा सक्रिय बनेका उनले निजी क्षेत्रमार्फत नेपालमा डिजिटल सेवा विस्तार र वित्तीय पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
साहले जानकी टेक्नोलोजी प्रा.लि. मार्फत नेपालमा एसएमएस आधारित सेवा विस्तारको नेतृत्व गरेका थिए। सन् २००७ देखि उनले कम्पनीलाई अघि बढाउँदै विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी डिजिटल सूचना सेवाको पहुँच बढाए। आज जानकी टेक्नोलोजी नेपालका अग्रणी एसएमएस सेवा प्रदायकमध्ये एकको रूपमा स्थापित छ।

त्यसपछि उनले डिजिटल वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित सन् २०१७ मा खल्ती डिजिटल वालेटको सह संस्थापक तथा निर्देशकका रूपमा नयाँ परियोजना शुरू गरे। खल्तीले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई लोकप्रिय बनाउँदै लाखौँ नेपालीलाई अनलाइन वित्तीय सेवामा जोड्ने काम गरेको छ। “डिजिटल खाडल कम गर्दै सबैका लागि वित्तीय पहुँच” भन्ने उनको दृष्टिकोणले नेपालमा डिजिटल वित्तीय साक्षरताको अभियानलाई समेत बल दिएको छ।
विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमतामा परिचित साह आईओई पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित सदस्यसमेत रहे। त्यस समयदेखि नै उनले शिक्षा, प्रविधि र व्यवस्थापनमा सुधार ल्याउने विषयमा सक्रिय भूमिका खेलेका थिए।
साहको चुनाैतीहरूः
साहले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा बारा जिल्लाको सदरमुकाम कलैयाका शहरी र ग्रामीण दुबै क्षेत्र समावेश छ। कलैयाले पटक पटक राष्ट्रिय स्तरको क्रिकेट खेलाडी जन्माएको छ। कलैयाका सन्तानहरू उच्च शिक्षामा अब्बल रहँदै देश विदेशमा आफ्नो क्षेत्रमा नाम कहलिएका छन् । तर पछिल्लो समयमा कलैया तिरस्कृत भइरहेको छ, नयाँ पुस्ता यहाँ अडिन चाहँदैन, उनीहरूलाइ अडाउन सक्ने ओज गुमाइरहेको छ, कलैयाले। यी सबै पुनःस्थापित गर्ने जिम्मेवारी साहको काँधमा छ।
कलैया जिल्ला सदरमुकाम भएपनि पूर्वाधार(सडक, बिजुली, सार्वजनिक पार्क, सभागृह, खेलकुद मैदान, सांस्कृतिक केन्द्र)का हिसाबले निक्कै कमजोर छ। यही सदरमुकामको सडक ३ वर्षदेखि हिलाम्ये रहेपछि टिकटकर आशिका तामाङ्गले हिलोमा डुब्दै बनाएको भिडियो भाइरल बनेको तपाईलाई स्मरण नै छ।
कलैयाको एउटा विशेषता के हो भने, यो राणाहरूको माैजा रहेको क्षेत्र हो। अझै पनि बरेवा दरबारको केही अंश जीवितै छ। यसबाहेक रामराजा मोहनविक्रम शाह कलैयाको उच्च शिक्षाका लागि पुरानो धरोहर हो। नजिकैको गढीमाई मन्दिर विश्वमै चर्चित धार्मिक संभाव्यताको क्षेत्र हो।
कलैयाको अर्को ठूलो विशेषता हो यो समाज मिश्रित समाज हो। पहाडी, मधेशी, हिन्दू, मुश्लिम सबैको मिश्रित समाज यसको परम्परागत परिचय रहेको छ। यद्दपी मधेश आन्दोलनको आवरणमा केही व्यक्ति(पत्रकार समेत)ले पहाडी समुदायलाई लक्षित गर्दै चन्दा आतंक र ज्यान मार्ने काम गरेपछि उनीहरू उत्तरी बस्तीतर्फ विस्थापित हुन बाध्य भए। कलैयाको मिश्रित समाजलाई छिन्नभिन्न बनाई दिए।
सदरमुकाम भएपनि लगानी र बसोबासको आकर्षणको दृष्टीकोणले कलैया शहर जितपुर सिमरा, निजगढ भन्दा पछि परेको छ। वर्षाैअघि कलैया पिलुवा सडक र हुलाकी मार्ग निर्माणपछि कलैयाको कायापलट हुने बुढापाकाको भनाईले अझैसम्म पनि सार्थकता पाउन सकेको छैन। कलैया पिलुवा सडक निर्माण भएको पनि वर्षाै बितिसकेको छ।
प्रविधि उद्यमशीलताको सफल यात्रापछि अब उनले राजनीतिमा प्रवेश गरी आफ्नै जन्मभूमि बारा क्षेत्रको विकासका लागि योगदान दिने लक्ष्य लिएका छन्। सूचनाप्रविधि, डिजिटल सेवा, शिक्षा र उद्यमशीलतालाई विकासको आधार बनाउँदै स्थानीय स्तरमा आर्थिक अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता रहेको छ।












