काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न मुलुकमा राजदूत नियुक्त गर्न दरखास्त तथा सिफारिस आह्वान गरेको हो।
राजदूत नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन्। साथै, अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यसर्त (टीओआर) बमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ।
सम्भावित उम्मेदवार को आवेदन वा सिफारिस गर्दा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणलगायतका कागजात पेश गर्नुपर्नेछ वा ाmय२mयाब।नयख।लउ ई–मेल गरी पठाउन सकिनेछ।
दरखास्त तथा सिफारिस बुझाउने अन्तिम मिति जेठ २२ (५ जुन २०२६) अपराह्न ५ बजेसम्म रहेको छ। रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनलाई छनौट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ। प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारको सर्टलिस्ट गरिने र सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ।
आवेदकहरुमध्ये परराष्ट्र मन्त्रालयले प्रारम्भिक छनोट गरेपछि मन्त्रिपरिषदले नाम सिफारिस गर्नेछ। त्यसपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने र सम्बन्धित देशबाट ‘एग्रिमो’ प्राप्त भएपछि मात्रै अन्तिम नियुक्ति हुने व्यवस्था छ।
राजदूतको कार्यकाल ४ वर्षकोहुने छ। सरकारले आवश्यक ठाने कार्यकालअघि नै फिर्ता बोलाउन सक्ने प्रावधान राखिएको छ। तलब र सुविधा विशिष्ट श्रेणीका सरकारी कर्मचारी सरह हुनेछ।
यस्ता छन् मापदण्ड
- कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने।
- नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
- नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपाललाई प्रतिनिधित्व गर्न सक्षम हुनुपर्ने।
- तोकिएको देश वा संस्थामा गर्नुपर्ने प्रमुख कार्यसँग सम्बन्धित ज्ञान वा अनुभव हुनुपर्नेछ।
- अंग्रेजी भाषामा राम्रो दख्खल हुनुपर्नेछ (राजदूत भएर जाने देशको आधिकारिक भाषाको ज्ञान भए अझ राम्रो) ।
- प्रस्तावित देशमा कुनै प्रकारको स्वार्थको द्वन्द्व वा व्यक्तिगत स्वार्थ हुनु नहुने।
- उच्च नैतिक चरित्र र आचरण भएको हुनुपर्नेछ।
- अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा काम गर्न सक्ने क्षमता हुनुपर्ने।
- कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि तथा सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासको ज्ञान हुनुपर्नेछ।
- कुनै पनि देशको स्थायी वा अस्थायी बसोबास अनुमति वा आप्रवासन सुविधा (पीआर) प्राप्त नगरेको व्यक्ति।
- हाल कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिले आवदेन दिन नपाउने।
- नेपाल सरकार वा अन्य अन्तर्राष्ट्रिय निकायद्वारा बनाइएको कुनै कालोसूचीमा नाम समावेश नभएको हुनुपर्ने।
- कुनै विदेशी सरकारको तलब खाने गरी कुनै पदमा काम गरेको व्यक्तिका लागि १० वर्षको ‘कुलिङ पिरियड’।
- नेपालको सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी सेवामा अयोग्य घोषित गरिएको व्यक्तिलाई राजदूतमा आवेदन दिन निषेध।
- भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्तिले आवेदन दिन नपाउने।
थप योग्यता
- अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर (मास्टर्स वा सोभन्दा माथि) उपाधि।
- कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तासम्बन्धी विशेष तालिम वा प्रमाणपत्र।
- नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित क्षेत्रमा शैक्षिक प्रकाशन, अनुसन्धान वा महत्त्वपूर्ण योगदान।
- राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका सरकारी, कूटनीतिक, निजी (कर्पोरेट), गैरसरकारी संस्था वा सार्वजनिक सेवाका क्षेत्रमा नेतृत्व तहमा अनुभव।
- वित्तीय व्यवस्थापन तथा प्रशासनिक निगरानीसम्बन्धी राम्रो अनुभव।
- द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि निर्माण वा अन्तर्राष्ट्रिय कानुनी संरचनामा काम गरेको अनुभव।
- प्रस्तावित देश वा क्षेत्रमा पहिले काम गरेको वा पदस्थापन भएको अनुभव।
- व्यापार प्रवर्द्धन, लगानी सहजीकरण वा आर्थिक कूटनीतिमा अनुभव।
- संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु वा क्षेत्रीय निकाय (जस्तैः सार्क, बिमस्टेक आदि) बारे जानकारी वा अनुभव।
- नेपाली र अंग्रेजी भाषामा उत्कृष्ट लेखन तथा बोल्ने क्षमता; पदस्थापन हुने देशको भाषामा दक्षता भए अझ राम्रो।
- उच्चस्तरीय सरकारी अधिकारी, राजनीतिक नेतृत्व, व्यवसायिक क्षेत्र, नागरिक समाज तथा कूटनीतिक समुदायसँग सम्बन्ध स्थापना र कायम राख्न सक्ने क्षमता।
- सञ्चार माध्यमसँगको सहकार्य तथा सार्वजनिक कूटनीतिको अनुभव।












