काठमाडौं । गत वर्ष अहमदाबादमा भएको एयर इन्डियाको उडान १७१ को दुर्घटनाको अनुसन्धान गरिरहेका विदेशी अनुसन्धानकर्ताहरूले यो दुर्घटना प्राविधिक त्रुटिको कारणले नभएर “जानाजानी गरिएको कार्य” को परिणाम भएको निष्कर्ष निकालेका छन् ।
इटालियन दैनिक कोरिएरे डेला सेराले नयाँ दिल्ली र वाशिंगटन बीचको हालैको छलफलसँग परिचित दुई स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको छ। दुर्घटनामा कुल २६० जनाको मृत्यु भएको थियो । यो दुर्घटना पछिल्लो केही दशकयता देशको सबैभन्दा खराब उड्डयन दुर्घटनाहरू मध्ये एक हो। यद्यपि, इटालियन अखबारको विवरण अज्ञात स्रोतहरू र प्रारम्भिक व्याख्याहरूमा आधारित छ, र नागरिक उड्डयन महानिर्देशनालयले अझै आफ्नो अन्तिम प्रतिवेदन जारी गरेको छैन।
टाइम्स अफ इण्डियाले लेखेको छ, कोरिएरे डेला सेराको रिपोर्ट अनुसार, भारतीय अनुसन्धानकर्ताहरूले जुन २०२५ मा इन्जिनमा इन्धन कटौती भएपछि भएको दुर्घटना यान्त्रिक विफलताले नभई जानाजानी गरिएको कार्यले भएको निर्धारण गरेका छन् । र अधिकारीहरू अब आफ्नो अन्तिम प्रतिवेदन तयार गर्ने तयारी गरिरहेका छन्। अखबारले लेखेको छ, अनुसन्धानमा सहयोग गर्ने अमेरिकी विज्ञहरूले निष्कर्षहरूलाई “एक सफलता” भनेर वर्णन गरेका छन्।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार, एयर इन्डियाद्वारा सञ्चालित बोइङ ७८७ ड्रीमलाइनर अहमदाबाद विमानस्थलबाट उडान भरेको थियो। उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भयो। विमान ठोक्किएको छात्रवासमा रहेका विद्यारी, यात्रु र चालक दलका सदस्यसहित २६० जनाको मृत्यु भएको थियो। एकजना यात्रु मात्र जीवितै उद्धार गरिएको थियो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोद्वारा जुलाई २०२५ मा जारी गरिएको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही क्षणपछि, विमानको इन्धन नियन्त्रण स्विचहरू “रन” बाट “कट-अफ” स्थितिमा सारिएको बताएको थियो। ब्यूरोको प्रतिवेदनले ककपिट एक्सचेन्जको पनि उल्लेख गरेको छ। ककपिट भ्वाइस रेकर्डिङमा, एक पाइलटले अर्कोलाई इन्धन किन काट्यो भनेर सोधेको सुनिन्छ। अर्को पाइलटले जवाफ दिए कि उनले त्यसो गरेनन्।
ककपिटमा रेकर्ड भएको पाइलटको कुराकानी र विदेशी विज्ञको प्रतिवेदनले मानवीय लापरवाहीतर्फ संकेत गरेपनि सरकारले अहिलेसम्म दुर्घटनाको लागि पाइलटहरूलाई प्रत्यक्ष रूपमा दोष दिनबाट पन्छिंदै अाएको छ।
इटालियन अखबारले आफ्नो स्रोतलाई उद्धृत गर्दै भनेको छ कि अनुसन्धानकर्ताहरूले दुर्घटना अघि विमानका कमाण्डर पाइलटले इन्जिन इन्धन नियन्त्रण स्विचहरू बन्द गरे, जसले गर्दा विमानले गति गुमायो र जमिनमा बजारियो। क्याप्टेन सुमित सभरवाल पाइलट-इन-कमान्ड थिए र प्रथम अधिकारी क्लाइभ कुन्दर सह-पाइलट थिए।
अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएका २६० जनामध्ये क्याप्टेन सुमित सभरवाल र प्रथम अधिकारी क्लाइभ कुन्दर पनि थिए।
प्रतिवेदनमा थप लेखिएको छ, “मुख्य संदिग्ध क्याप्टेन सुमित सभरवाल हुन्, जो दुर्घटनाको एक महिना अघिदेखि डिप्रेसनबाट पीडित थिए।”
कोरीएर डेला सेराका अनुसार, अन्तिम अनुसन्धान प्रतिवेदनमा पाइलटहरूको निरन्तर मनोवैज्ञानिक मूल्याङ्कन र मानसिक स्वास्थ्य अनुगमनमा सिफारिसहरू पनि समावेश हुने अपेक्षा गरिएको छ।












