काठमाडौं । नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो। यसले आकस्मिक जोखिमका बेला आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ। यही चेतनालाई आत्मसात गर्दै सानिमा रिलायन्सका सुवास रिजालले बीमालाई महाअभियानका रुपमा अगाडि बढाइरहेका छन्।
बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास विगत ७ वर्षदेखि कार्यरत छन्। कपिलवस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रुपमा जन्मिएका सुवासले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। कपिलवस्तुबाट माध्यमक, प्लस टु पोखरा, स्नातक पोखरा र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन्।
अध्ययनपश्चात कोरियामा ५ वर्ष काम गरेर फर्किएका सुवासले बीमा अभिकर्ताको पेसालाई व्यावसायिक रुपमा अगाडि बढाइरहेका छन्। उनको बीमामा लाग्नुको पृष्ठभूमी भने मार्मिक छ। आजभन्दा ७ वर्ष अगाडि पाल्पाको सिद्धबाबा नजिकै ठूलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए। यस क्रममा एकजना डाक्टर र उनको पत्नीको घटनास्थलमै मृत्यु भयो। उनलाई यस घटनाले रातभर निन्द्रा लाग्न सकेन। उनलाई जीवन अनिश्चित रहेको अनुभूति भयो। यस्तो अनिश्चितालाई रोक्न त सकिँदैन तर यसबाट हुने जोखिमको न्यूनीकरण भने गर्न सकिन्छ भनेर उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्नो एक वर्षको बाबु, श्रीमती र आफ्नै बीमा गरेर यस पेसामा प्रवेश गरे।
यस क्रममा कम्पनीको क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय प्रवन्धक जयदेव गौतम तथा शाखा प्रमुख प्रकाश गौतमसँग बीमाको विषयमा धेरै बुझ्ने र सिक्ने मौका पाए। कोभिड १९ भन्दा ठीक अगाडिको समय थियो। सुवास करिब एक महिनाको आउने–जाने क्रममा आफ्नो बीमा मात्रै गरेनन्, अभिकर्ता बनेर व्यावसायिक रुपमा अगाडि बढ्नसमेत प्रोत्साहित भए। त्यसपछि उनी बीमा अभिकर्ता पेसा एउटा सामाजिक काम हो। यसमा लाग्छु भन्ने भनेर दृढताका लागि परे। यस २०–२५ दिनको उक्त बसाइले सुवासलाई बीमा अभिकर्ता पेसालाई अँगालेर अगाडि बढ्ने हौसला मिल्यो।
सुवासलाई अभिकर्ता अन्य पेसा–व्यवसायजस्तै उत्तिकै महत्वपूर्ण लाग्छ। कसैले एउटा सामान ६०० रुपैयाँमा खरिद गरेर १ हजार रुपैयाँमा बिक्री गर्यो भने त्यसमा भएको नाफालाई टीका–टिप्पणी गर्दैनन् तर अभिकर्ता पेसामा भने नियमानुसार पाउने कमिसनजस्ता कुरामा हुने आलोचनाप्रति भने उनलाई एकदमै दुःख लाग्छ। राति–दिन असीमित समय दिएर बीमा गर्न उत्प्रेरित गर्दा पनि समय र विभिन्न स्रोत साधनको खर्च हुने उनी बताउँछन्।
सुरुआती चरणमा सुवासले बुटवलका ठूल्ठूला व्यक्तित्व भएका व्यक्तिको ठूल्ठूला बीमा गराए। तर, उनलाई क्षेत्रीय तथा शाखा प्रमुखले ‘यदि तपाइँलाई समाजमा चिनिनु छ र साँच्चिकै समाजसेवा गर्नुछ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुस्। यसले तपाइँको पुण्यको काम हुन्छ’ भने। त्यसपछि उनी आफू जन्मिएको कपिलवस्तुको ग्रामीण बस्तीमा गए।
सहरमा ठूल्ठूला बीमा गराउँदै आएका सुवास गरिबभन्दा गरिब मानिसका छोराछोरीको बीमा गराउन पुगे। तत्कालीन अवस्थामा उनी साविक सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्नेभित्र परे। यसरी उनले बीमालाई अभियानका रुपमा अगाडि बढाए। यसै क्रममा उनका धेरै तीता–मीठा अनुभव पनि रह्यो।
सुवासको नजिकका एकजना आफन्तलाई कोभिड १९ भन्दा अगाडि बीमाका लागि प्रस्ताव गरेका थिए। उनले बीमा गर्न मान्नु भएन। पछि कोभिड १९ का कारण मृत्यु भयो। त्यसपछि उनलाई बीमामा लाग्नुपर्छ भन्ने प्रेरणा जाग्यो। उनले बीमाको प्रस्ताव गरेका व्यक्तिको कोभिड १९ को उपचारका क्रममा २०–३० लाख रुपैयाँ खर्च पनि भयो र ज्यान पनि गयो।
सुवास बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष थिए। जहाँ ऋण समितिको एकजना सदस्यको काकीको दम्पतीलाई बीमाका लागि प्रस्ताव गरेका थिए। तर, ती दम्पतीले केही दिन पर्खिन अनुरोध गरे। दुर्भाग्य बुटवलबाट भैरहवा जाने क्रममा दुर्घटनामा परेर मृत्यु भयो।
त्यस्तै सुवासले एकजना साथीलाई यस्तैगरी ५० लाख रुपैयाँको बीमाको प्रस्ताव गरेका थिए। उनले ‘मसँग प्रशस्त सम्पत्ति छ, मलाई बीमाको आवश्यक छैन’ भनेका थिए। जाँड, रक्सी र चुरोट केही पनि सेवन नगर्ने उनको मिर्गौला फेल भयो। अहिले उपचारका क्रममा उनको ठूलो सम्पत्ति सकियो। अहिले उनै साथी बीमा गर्न नमानेकोमा पछुतो मानिरहेको सुवास बताउँछन्।
यसरी बीमा गराउँदै हिँड्ने क्रममा कोही बिरामी भएको, कसैको मृत्यु भएको, कसैको दुर्घटना भएका घटनाले आफूलाई यस पेसाबाट कहिल्यै पनि बिमुख नगराउने सुवास बताउँछन्। उनी भन्छन्, ‘किड्नी फेल भएर बाटा–बाटामा मागेको हिँडिरहेको देख्दा मलाई यदि ती व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए आज यो दिन भोग्नु पर्दैन थियो भन्ने लाग्छ।’
तराई समुदायमा प्रायः मानिसको दैनिक १५–२० वटा भोला खान्छन्। पान, चुरोट अनि रक्सी खाने चलन धेरै छ। ‘यदि कसैले भोला खाने पैसा मात्रै बचाउन सक्यो भने ५ लाखको बीमा हुने थियो’, सुवास भन्छन्।
यही कुरा सुवास गाउँगाउँमा गएर चेतना फैलाइरहेका छन्। उनी अर्घाखाँचीका पहाडी भूभागमा पनि गए। गाईबाख्रा पालन गर्ने खेतीकिसानी गर्नेलाई पनि एउटा बाख्राको रकमबराबरको बीमा गराउन सुझाउने गर्छन्। जुन रकमले भोलि गएर बालबालिकाका उच्च शिक्षा सहज हुने भन्दै उनी गाउँ–गाउँ पुग्छन्।
यही अभियानका क्रममा सुवासले गाउँ–गाउँकै बीमा गराएका छन्। उनीले आफूमात्रै अभिकर्ता बनेर काम गरेका छैनन्। जुन–जुन गाउँ–गाउँमा पुग्छन्। त्यहाँ अभिकर्ता बनाएर ठूल्ठूला टिम पनि निर्माण गरिरहेका छन्। यसरी हजारौँ संख्यामा बीमा गराइसकेका उनले सयौँको संख्यामा अभिकर्ता पनि निर्माण गरेका छन्।
यस क्रममा सुवास सन् २०२२ का लागि एमडीआरटी क्वालिफायर्ड पनि भए। उनीमात्रै यस पेसामा छैनन्। उनले श्रीमती राधिका पोखरेललाई पनि सँगसँगै अगाडि बढाएका छन्। सन् २०२३ मा राधिका पनि एमडीआरटी क्वालिफायर्ड भइसकेकी छन्।
सुवासले यतिधेरै संख्यामा बीमा गराउँदै गर्दा अहिलेसम्म एउटा पनि पोलिसीमा दाबी परेको छैन। यसले यस वर्ष एकजनालाई एजेन्सी म्यानेजर बनाउने प्रण लिएका छन्। उनी आफूसँगै टिम निर्माण गरेर टिममा काम गर्ने उद्देश्यका साथ अगाडि बढेका छन्। यसरी उनको यो त्याग अनि तपस्याबाट मासिक ४–५ लाख रुपैयाँको आम्दानी गर्न सक्ने अवस्था निर्माण गरिसकेका छन्।
पाँच वर्ष कोरियामा काम गरेर फर्किएका सुवासले कोरियामा भन्दा नेपालमा राम्रो आम्दानी गरिरहेका छन्। यसले पनि उनलाई बीमा क्षेत्रमा अझ लामो समय बसिरहन हौसला मिलेको छ।
बीमाको महत्व
सुवासले सहरी भूभागदेखि ग्रामीण क्षेत्रमा एजेन्सी निर्माण गरिसकेका छन्। उनले पूरै नेपालभर एजेन्सी निर्माण गर्ने लक्ष्य बोकेका छन्। यस अभियानमा हिँड्दै गर्दा उनले मानिसहरुले फजुल खर्च अत्याधिक गर्ने तर बीमा गरौँन भने पैसा छैन भन्ने प्रवृत्ति धेरै पाए। उनी भन्छन्, ‘मानिसहरुले खर्च गरेको देख्दा यहाँ कोही पनि गरिव छैनजस्तो लाग्छ। सानो खुसियाली तथा जमघटमा कुखुरा काट्ने, खसी काट्ने, जाँड–रक्सी पिउने, भोला–चुरोट खाएकै छ, पान पनि चपाएकै छ। तर, बीमा गर्ने कुरा गर्यो भने भिजेको बिरालो झैँ गरिहाल्ने।’
यसमा केही व्यक्तिको गलत ब्रिफिङले पनि मानिसहरु डिमोटिभेट भएको सुवासको भनाइ छ। सुरु–सुरुमा जतिबेला बीमा कम्पनीहरु अहिलेको जस्तो गाउँ गाउँमा पुगेका थिएनन्। सहर–सहरमा शाखा कार्यालयहरु थिएनन्। त्यतिवेला बीमितले अभिकर्तालाई बीमाशुल्क बुझाइदिने र अभिकर्ताले उक्त रकम बीमा कम्पनीसमक्ष नपुर्याउँदा बीमितको पैसा बीचैमा हराएको धेरै घटना सुवासले सुने। यसले गर्दा धेरै मानिस त्यही घटनालाई आधार मानेर बीमाप्रति नकारात्मक बनेको उनले पाए।
बीमाका लागि गाउँ–गाउँमा पुग्दा सुवासलाई केही बीमितले घेर्न पुगे। उनी भन्छन्, ‘कतिपय अवस्थामा अरुले गरेका गल्तीलाई समेत मैले सहेर जबाफ दिनुपर्यो। गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउन पर्यो।’
सुवासले गाउँ–गाउँमा जाँदा हिजो हजुरबुवा, बुवा, छोरा अनि नातिसम्म भरिया बनेर बसेको देख्दा यसबाट रुपान्तरण हुने एकमात्र विकल्प बीमा रहेको बताए। कतिपय परिवारमा ५ कक्षाभन्दा माथि नपढेको उनले पाए। ‘अभिकर्ता नै बनाउँछु भन्दा योग्यता नपुग्ने अवस्था पाएँ’, उनले भने।
यसरी बीमा गर्ने अनि गराउनेमात्रै नभएर बीमाको आफ्नो महाअभियानमार्फत सबै मानिसलाई बीमाको दायरामा ल्याउने र उनीहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्ने सुवासको प्रण छ। यस क्रममा सुवास विभिन्न विद्यालय, क्लब अनि समूहमा पुग्ने गरेका छन्। उनी आफैँसँग बीमा गर्नैपर्छ भन्ने मान्यता राख्दैनन्। बरु उनीहरुले रोजेको व्यक्तिलाई अभिकर्ता बनाएरै बीमा गराउँछन्। अर्कोतर्फ यसबीचमा सहकारी पनि डुबेको र बचत समूहले पनि व्यवस्थापन गर्न नसकेका कारण बीमाशुल्क बुझाउनेजस्तो कुरामा संयमित भएको पाइएको छ।
यहाँ आफ्नो परिवारका सदस्य बिरामी हुँदा चन्दा उठाएर हिँड्नुपर्ने तर बीमा गरेर उक्त जोखिमलाई बीमाको दायरामा ल्याउन भने तयार नहुने अवस्थाले गर्दा यसलाई चिर्न सुवासको यो अभियान जारी छ।
यहाँ क्षमता हुँदा–हुँदै पनि मानिसहरुले बीमा नगर्दा भोलि परिवार सडकमा आउने अवस्था रहेको र यस्तो अवस्थालाई रोक्नुपर्ने सुवास बताउँछन्।
यदि सबैको बीमा गर्ने हो भने समाजमा क्रान्ति आउने उनको विश्लेषण छ। यदि समयमा बीमा गर्ने हो भने मानिसको बचत गर्ने क्षमता पनि बढ्ने र बीमा गर्नका लागि जसरी पनि बीमाशुल्क जुटाउनुपर्ने भए पछि मानिसहरु पनि ६ घन्टा काम गर्नेले ७–८ घन्टा काम गर्न पुग्ने सुवासको तर्क छ। ‘यहाँ मानिसहरु कमाएको पैसा बचत नगरेर धेरै खर्च गरेर गरिब भएका हुन्’, उनी भन्छन्, ‘यदि कमाएको निश्चित रकम बीमामार्फत बचत गर्ने हो भने गरिबी दर यसले घटाउँछ। त्यसैले हामी गरिब–गरिब बस्तीमा छाप्रा–छाप्रामा हामी पुग्न जरुरी छ। यसलाई महाअभियानका रुपमा म अगाडि बढाइरहेको छु।’

















