काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको निरन्तरता सुनिश्चित गर्न पहल भइरहेको जानकारी दिएको छ।
बोर्डले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल गरिरहेको छ।’
बोर्डले लामो समयदेखि उपचार खर्चवापतको रकम सोधभर्ना नगरेपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले माघ १ गतेदेखि सेवा ठप्प पारेको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि सेवा बन्द गर्ने घोषणा गरिसकेको छ।
बोर्ड कार्यक्रम सञ्चालनका लागि उपलब्ध साधन श्रोतको सीमितता रहेको जानकारी गराएको छ। बोर्डले भनेको छ, सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रम मार्फत दैनिक करीब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । बोर्डको भनाइमा दैनिक औसत ८ करोड़ रुपैयाँ बराबर आम नागरिकको गोजीबाट हुने स्वास्थ्य उपचार खर्च जोगिंदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको छ।
बोर्डले प्रेस विज्ञप्तीमार्फत् “स्वास्थ्य बीमाको सही सदुपयोग गरों” भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक स्वास्थ्यकर्मीलाई दबाब नदिन समेत अनुरोध गरेको छ।
साथै सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानून तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अनुरोध गरेको छ।












