काठमाडौं । जीवन बीमक संघको गत बिहिवार सम्पन्न साधारणसभाबाट नेपालमा सञ्चालित १९ वटा जीवन बीमक संघको लागि तयार पारिएको आचार संहिताको मस्यौदा पारित गरेको छ । संघको बिहिवार सम्पन्न साधारणसभाले पारित गरेको आचार संहिता कार्तिक २७ गतेदेखि नै लागू भएको जीवन बीमक संघका उपाध्यक्ष पोषक पौडेलले जानकारी दिए ।
नयाँ जारी भएको आचार संहितामा नेपालमा जीवन बीमा व्यवसाय मर्यादित बनाउने, जीवन बीमाको जनचेतना जगाउँदै व्यवसायको प्रबद्र्धन गर्ने, अस्वस्थ प्रतिस्पर्धा नगर्ने लगायतका स्वनियमनहरुको व्यवस्था गरिएको छ ।
त्यस्तैगरी, जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि समेत आचार संहितले समेटेका छ । जस अनुसार अधिकृत वा सो भन्दा माथिल्लो तहमा कार्यरत कर्मचारीहरुले एक कम्पनीबाट अर्को कम्पनीमा सरुवा हु्ँदा कम्तीमा ४५ दिन कुलिङ पिरियडमा बस्नुपर्ने भएको छ । त्यसैगरी, कुनै पनि कम्पनीमा भर्ना भएको एक वर्ष नभई उक्त कम्पनी छोडेर दोस्रो कम्पनीमा जान पाइने छैन । यही कार्तिक २७ गतेदेखि लागू भएको आचार संहिता अनुसार अर्को कम्पनीमा कार्यरत कर्मचारीलाई भर्ना गर्दा एक तहभन्दा माथिल्लो तहमा भर्ना गर्न पाइने छैन ।
नयाँ संहित अनुसार कम्पनीहरुले आफ्नो व्यापार प्रबद्र्धन गर्न अर्को कम्पनीका विरुद्धमा प्रचार गर्न समेत पाइने छैन । बीमा प्रडक्टहरुको यथार्थ तथ्याङ्कको आधारमा मात्रै तुलना गर्न पाइनेछ ।