काठमाडौं । जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ अर्ब ७४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छन्।
वित्तीय विवरणअनुसार असोजसम्म १४ वटा बीमा कम्पनीले १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ यही अवधिसम्म कम्पनीहरुले १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको नाफा ११.३४ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म सर्वाधिक नाफा आर्जन गर्नेमा सन नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले प्रभु महालक्ष्मी लाइफ अगाडि रहेको छ।
चालु वर्षको असोजसम्म सन नेपाल लाइफले २४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।
यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा रिलायब नेपाल लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको छ।
तेस्रो धेरै नाफा आर्जन गर्नेमा एसियन लाइफ रहेको छ। यो कम्पनीले चालु वर्षको असोजसम्म १६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको छ।
त्यस्तै समीक्षा अवधिसम्म नेपाल लाइफले १५ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले १४ करोड १२ लाख रुपैयाँ, नेसनल लाइफले १२ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड रुपैयाँ र हिमालयन लाइफले ९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा रिलायन्स लाइफको नाफा बढ्दा अन्य कम्पनीको घटेको छ।
चालु आर्थिक वर्षको असोजसम्म प्रभु महालक्ष्मी लाइफले ९ करोड ३० लाख रुपैयाँ र मेटलाइफले ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। प्रभु महालक्ष्मी लाइफको नाफा ४५.८९ प्रतिशतले बढ्दा मेटलाइफको ४६.०९ प्रतिशतले घटेको छ।
उता राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख ४४ हजार रुपैयाँ घाटा व्यहोरेको छ।












