काठमाडौं । बैंक वित्तीय संस्थाले सञ्चालक समितिका लागि वर्षमा कम्तीमा एक पटक सम्पत्ती शुद्धिकरण तथा आतंकवादमा वित्तीय लगानी (एएमएफ/सिएफटी) सम्बन्धी तालिम दिनुपर्ने प्रावधान छ। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त सबैं बैंक वित्तीय संस्थाका लागि यो प्रावधान अनिवार्य गरेको छ।
ठूला वाणिज्य बैंकहरूले यसलाई निक्कै गम्भीरतापूर्वक ग्रहण गरेर आवासीय सुविधा सहित सञ्चालक समिति सदस्यहरूका लागि दुई दिनसम्मको गहन तालिम वा अभिभूमिकरण कार्यक्रममा सहभागि गराउँछन् । केही वित्तीय संस्थाले यसलाई राष्ट्र बैंकको आँखामा छारो हाल्ने उद्देश्यले दुई तीन घण्टे अभिमूखीकरण कार्यक्रममा सीमित राख्दै आएका छन् ।
राष्ट्र बैंकले यस्ता तालिम तथा पुनर्ताजगी कार्यक्रमको अनिवार्यता गर्नुको पछाडी खास कारण के हो भने सञ्चालक समितिले कुनै पनि नीतिगत निर्णय लिंदा एएमएल/सिएफटीसँग सम्बन्धित संवेदनशील विषयमा पूर्ण जानकार रहेर उचित निर्णय लिने क्षमता विकास होस् । यसबाहेक व्यवस्थापनले गरेका कामकारवाहीमा एएमएल/सिएफटीसँग सम्बन्धित विषय वस्तुको गम्भीरता बुझ्न सकुन् ।
बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण,आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण तथा विस्तार हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२ को दफा १५ मा चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनलाई सो विषयको गाम्भीर्यताका बारेमा अभिमूखीकरण कार्यक्रम गर्नुपर्ने व्यवस्था गरेको छ।
निर्देशन २०८२ को दफा १५ मा कर्मचारीको हकमा दक्षता अभिवृद्धि र तालिम कार्यक्रम, कार्यान्वयन अधिकारी तथा एएमएल/सिएफटी विभागको कार्यक्रमा प्रत्यक्ष तथा नियमितरूपमा संलग्न अन्य कर्मचारीहरूलाई एएमएल/सिएफटी सम्बन्धी विषयमा तालिम कार्यक्रममा सहभागि गराउनुपर्ने व्यवस्था छ।
यो निर्देशिकामा ‘तालिम दिनुपर्नेछ’ भन्ने शब्दावलीको प्रयोग गरिएको छ। जसले अनिवार्यता झल्काउँदैन। यसबाहेक तालिमको पटक र दुईवटा तालिम बीचको अवधिको विषयमा पनि प्राधिकरणको निर्देशिका माैन छ। अर्थात् प्राधिकरणले यो विषयलाई बीमकको जिम्मेवारीमा नै छोडेको छ।
बीमकले जारी गरेका प्रेस विज्ञप्ती, प्रकाशन गराएका समाचार, वेबसाइट तथा सामाजिक सञ्जालमा उपलब्ध विवरणहरू केलाउँदा एएमएल/सिएफटी सम्बन्धि प्रशिक्षणको कार्यक्रमहरू जीवन बीमकको भन्दा निर्जीवन बीमकको कर्मचारीका लागि अलि बढी देखिएका छन्। दक्षता अभिवृद्धि तालिमको हकमा पनि जीवन बीमकको तुलनामा निर्जीवन बीमक उदार देखिन्छन् ।












