काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म ९ अर्ब ८३ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले ४ लाख ८२ हजार ६२७ वटा बीमालेख जारी गरेर ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ मा कम्पनीहरुले ४ लाख ३२ हजार ६९ वटा बीमालेख जारी गरेर ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार २०.९७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौसम्म १३ वटा बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।
समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार २२.४३ प्रतिशतले बढेको छ।
शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। चालु आर्थिक वर्षको भदौसम्म कम्पनीले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २३.०१ प्रतिशतले बढेको छ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ। चालु वर्षको भदौसम्म यो कम्पनीले ९७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ४१.३५ प्रतिशतले बढेको छ। यो निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा सबैभन्दा धेरै वृद्धि हो।
यसैगरी चालु आर्थिक वर्षको भदौसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३५.१२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १५.७७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३१.१७ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २४.४५ प्रतिशत र नेको इन्स्योरेन्सको २१.८६ प्रतिशतले बढेको छ।
चालु वर्षको भदौसम्म युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म युनाइथेड अजोड इन्स्योरेन्सको व्यापार ७.३९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १७.५१ प्रतिशतले बढेको छ।
यसैगरी भदौसम्म सानिमा जीआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार १४.३८ प्रतिशतले घट्दा नेसनल इन्स्योरेन्सको १७.५१, राष्ट्रिय बीमा कम्पनीको २१.७९ प्रतिशत र प्रभु इन्स्योरेन्सको ६.१७ प्रतिशतले बढेको छ।













