काठमाडौं । विश्वका एकमात्र खर्बपति एलन मस्कले केही उद्योगपतिले स्टारलिंकको भारतमा प्रवेश रोकिरहेको आरोप लगाएका छन्।
सोसल मिडिया एक्समा गरिएको पोस्टको जबाफमा मस्कले लेखेका छन्, ‘दुर्भाग्यवश भारतीय जनतामाथि आफ्नो एकाधिकार पकड कायम राख्न केही उद्योगपतिले हामीलाई रोकिरहेका छन्। तपाइँ अनुमान गर्न सक्नुहुन्छ कि तिनीहरु को हुन् ! यो भारतका जनताविरुद्धको अपराध हो!’
पोस्टमा भनिएको छ कि भारतमा स्टारलिंक आवश्यक छ। किनकि धेरै गाउँ अझै पनि ब्रोडब्यान्डमा जडान भएका छैनन्।
मस्कले बुधबार राति एक्समा लेखेका छन्, ‘भारतमा स्टारलिंकले ती मानिसलाई छिटो र किफायती इन्टरनेट जडान प्रदान गर्नेछ। जो हालको मूल्यका कारण यसलाई प्रयोग गर्न असमर्थ छन् वा जससँग इन्टरनेट जडान छैन।’
यसअघि बुधबार दिल्लीमा भएको इन्डिया मोबाइल कांग्रेसमा स्टारलिंकका व्यापार सञ्चालनका उपाध्यक्ष लरेन ड्रेयरले भने, ‘स्टारलिंकले पहिले नै भारतमा २० वटा गेटवे साइट निर्माण गरिसकेको छ र भारतीय प्रयोगकर्ताको डाटा देशभित्र राख्न भारत–विशिष्ट सुरक्षा नियन्त्रण विकास गरेको छ।’
ड्रेयरका अनुसार स्टारलिंकले सबै स्वीकृति प्राप्त भएपछि सकेसम्म चाँडो भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरु सुरु गर्ने आशा राखेको छ। –एजेन्सी












