काठमाडौं । एनसीएचएल र Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH बीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको प्रवर्द्धनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा GIZ–SET4NPL का प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
यस सहकार्य मार्फत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधारको प्रयोग गरी GIZ को SET4NPL परियोजना अन्तर्गतका पहलहरू मार्फत नेपालमा सार्वजनिक यातायात सम्बन्धी भुक्तानीको डिजिटलाइजेशनलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ । यसअन्तर्गत एनसीएचएल र GIZ ले उक्त परियोजनामार्फत विकास गरिएका यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्ल्याटफर्महरूसँग NEPALPAY QR, NEPALPAY Card / connectIPS लगायतका पेमेन्ट च्यानलहरु इन्टिग्रेट गर्नेछन् ।
उक्त सहकार्यमा ओपन–लूप टिकटिङलाई प्रवद्र्धन गर्दै यात्रुहरूका लागि एनसीएचएलका भुक्तानी उपकरणमार्फत विभिन्न यातायात प्रणालीमा डिजिटल भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइनेछ । साथै, यसले टिकटिङ्ग, भाडा संकलन, कारोबार प्रोसेसिङ्ग तथा सेटलमेन्ट लगायत सार्वजनिक यातायात सम्बन्धी भुक्तानीका सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउन सहयोग पुग्नेछ । यस सँगै सार्वजनिक यातायात तथा विकसित हुँदै गरेका नयाँ मोबिलिटी सेवाहरूमा डिजिटल भुक्तानीको प्रयोगलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ ।
एनसीएचएलले इन्टिग्रेसन, टेस्टिङ्ग तथा डिप्लोयमेन्टका लागि एपीआई उपलब्ध गराउनका साथै प्राविधिक सहयोग प्रदान गर्नेछ । त्यस्तैGIZ–SET4NPL परियोजना अन्तर्गतका सम्बन्धित टिकटिङ्ग प्रणाली, एप्लिकेसन तथा उपकरणहरूमा एनसीएचएलका भुक्तानी माध्यमहरूको इन्टिग्रेसनमा सहजीकरण गर्नेछ ।
एनसीएचएलले नेपालको भुक्तानी इकोसिस्टमको डिजिटलाइजेशनलाई निरन्तर प्राथमिकताका साथ अघि बढाउँदै आएको छ र यस सहकार्यलाई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका मोबिलिटी तथा सार्वजनिक यातायात सेवासम्म डिजिटल भुक्तानी पूर्वाधारको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । त्यस्तै यातायात टिकटिङ्ग तथा भाडा संकलन प्रणालीलाई राष्ट्रिय भुक्तानी पूर्वाधारसँग जोड्दै यस पहलले सार्वजनिक यातायात तथा भविष्यका मोबिलिटी सेवाहरूमा डिजिटल भुक्तानीको व्यापक प्रयोगका लागि अहम भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।












