काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्रको दोस्रो बजारमा कारोबारका क्रममा हुने चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई रोक्न निर्देशन दिएको छ।
आज बिहान बसेको अर्थ समितिको बैठकले धितोपत्रको दोस्रो बजार कारोबारमा मिलेमतोमा गरिने किनबेच, आपूर्ति नियन्त्रण गरी कृत्रिम अभाव सिर्जना गर्ने वा कृत्रिम माग मूल्य सिर्जना गरी उच्च मूल्यमा बेच्ने कर्नरिङ सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्पलगायतका चलखेल रोक्न सेबोन र नेप्सेलाई निर्देशन दिएको हो। त्यस्ता कार्यको सघन निगरानी र अनुगमन गरी संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल आवश्यक कारबाही गर्न समितिले निर्देशन दिएको छ।
समितिले कम्पनीको आइपीओ निस्कासन गर्न दिनुअघि उक्त कम्पनीको पुँजीगत पर्याप्तता, नेटवर्थ, वासलात, प्रतिफललगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी अनुमति प्रदान गर्न सेबोनलाई निर्देशन दिउको छ। संस्थापकले धारणा गर्नुपर्ने शेयर स्वामित्वसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न पनि समितिले निर्देशन दिएको छ।
नेप्से अनलाइन ट्रेडिङ सिस्टम प्रविधि र डाटा सिस्टममा समय–समयमा अवरुद्ध हुने गर्दा लगानीकर्ता र सरकारको राजश्वमा समेत हानि पुगेको समितिको ठहर छ। त्यसैले नेप्सेको पुनर्संरचनाको कार्यलाई तीव्रता दिई उक्त प्रविधिको स्तरोन्नति गर्नुका साथै साइबर सुरक्षाको उच्चतम प्रत्याभूति गर्न समितिले अर्थ मन्त्रालयका साथै सेबोन र नेप्सेलाई निर्देशन दिएको छ।
यसैगरी नेप्से र सीडीएससीको प्रमुख कार्यकारी अधिकृतको पद लामो समयदेखि रिक्त रहेकोले तत्काल पदपूर्ति प्रक्रिया अगाडि बढाउन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले नेपालको पुँजीबजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री वातावरणका लागि धितोपत्र निस्कासन, सूचीकरण, बजार सञ्चालन, नियमन र लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकाय सेबोन, नेप्से र सीडीएससीसमेतको भूमिका, जिम्मेवारी र जबाफदेहीता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र सेबोनलाई निर्देशन दिएको छ।












