काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयरको अजेन्डा पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्युमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको १ः०.२५१४११ को अनुपातमा अर्थात २५.१४११ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।
हकप्रद शेयर निष्कासनका सम्बन्धमा नियमनकारी निकायको कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।












