काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले कम्पनीले एक कार्यक्रममार्फत आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
करिब ६ महिनाअघि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत रोल्पा नगरपालिका–१०, धाङ्सीका विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको संघर्ष र अध्ययनप्रतिको लगाव सार्वजनिक भएको थियो। जन्मजात दुवै हात नचल्ने अवस्थाका सन्देशले खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेका छन्।
उनको संघर्षको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्सले शिक्षालाई निरन्तरता दिन पहल गर्दै काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको थियो। सोही सहकार्यअन्तर्गत केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षामार्फत अध्ययनको अवसर प्रदान गर्दै आएको छ। सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्ट्सले नियमित सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएकाले विशेष आवश्यकता भएका बालबालिकाले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिएका थिए। साथै, आवश्यकतामा रहेका वर्गको जीवनस्तर सुधार र सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।
अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले शिवम् सिमेन्ट्सको सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै अध्ययनमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन्।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको शिवम् सिमेन्ट्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विशेष क्षमता भएका बालबालिकाको शिक्षा र समावेशी विकासमा सहयोग पुर्याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ।












