काठमाडौं । साना तथा मझौला उद्यम क्षेत्र जोखिमपूर्ण देखिए पनि बीमा कम्पनीहरुका लागि यो एक विशाल र अप्रशोधित व्यावसायिक बजार हो। प्रतिवेदनका अनुसार हालसम्म नेपालका साना तथा कुटीर उद्योगहरुमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
साना तथा मझौला उद्यम क्षेत्रले भोगिरहेको जोखिम र बीमाको दायरासम्बन्धी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, नेपाल बीमा प्राधिकरण र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीजद्वारा तयार पारिएको अध्ययन प्रतिवेदनले बीमा कम्पनीहरुले ग्रामीण र सुगम दुवै क्षेत्रका साना उद्यमीका आवश्यकता अनुसारका साना र सुलभ बीमालेख ल्याउन सकेमा यो क्षेत्र नाफामूलक बन्न सक्ने दाबी गरिएको छ।
नेपालको अर्थतन्त्रमा लगानी परिचालन गर्न साना तथा मझौला उद्यमहरुले महत्वपूर्ण भूमिका खेल्छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०।८१ सम्ममा यी उद्यमले विभिन्न व्यवसायमा कुल १० खर्ब रुपैयाँ (करिब ७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुँजी लगानी गरिसकेका छन्। यो क्षेत्र रोजगारीको पनि एक प्रमुख स्रोत बनेको छ। यो अविधमा यो क्षेत्रले ३ लाख ८० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ।
आर्थिक वर्ष २०८०।८१ मा मात्रै साना तथा मझौला उद्यमहरुले ११ अर्ब रुपैयाँ (करिब ७ करोड ७० लाख अमेरिकी डलर) भन्दा बढी नयाँ पुँजी लगानी गरेका छन् र १ लाख ३० हजारभन्दा बढी रोजगारी सिर्जना गरेका छन् (उद्योग विभाग, २०२५)।
‘नेपालको लघु उद्यममा जोखिम व्यवस्थापनः बीमा कवच खाडल’ (अक्टोबर २०२५।२०२६) अध्ययन प्रतिवेदनमा कोशी, मधेस र कर्णालीजस्ता प्रदेशहरुमा बीमाको माग उच्च भए पनि पहुँच नपुगेकाले डिजिटलाइजेसन ई–सेवा, खल्ती, जीओकृषि, प्लान्टस्याट र स्थानीय सहकारीमार्फत बीमा वितरण गर्दा कम्पनीहरुको सञ्चालन खर्च घट्ने र बजार विस्तार हुने सुझाव दिइएको छ।












