काठमाडौं । बीमा कम्पनीहरुले हाल बिक्री गरिरहेका परम्परागत र सीमित दायराका बीमालेख साना तथा मझौला उद्यमीका लागि अप्रसांगिक बन्दै गएका छन्। अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पर्यटन क्षेत्रका उद्यमीहरु छुट्टाछुट्टै जोखिमका लागि फरक–फरक बीमालेख खरिद गर्नुको साटो एउटै एकीकृत बीमा योजनाको पर्खाइमा छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), नेपाल बीमा प्राधिकरणद्वारा संयुक्त रुपमा जारी ‘नेपालको लघु व्यवसायमा जोखिम व्यवस्थापनः बीमा सुरक्षाको खाडल’ अध्ययन प्रतिवेदनमा निर्जीवन बीमकले लघु तथा साना उद्यमी व्यवसायीको जोखिम बहनको आवश्यकता सम्बोधन गर्ने गरी बीमालेख प्रचलनमा ल्याउन नसकेको उल्लेख छ।
कृषिमा पशुधन र बालीको प्रत्यक्ष क्षतिलाई मात्र समेटिने तर भण्डारणमा हुने नोक्सानी, बिजुली आपूर्ति अवरुद्ध हुँदा चिस्यान केन्द्रमा राखिएका वस्तुमा हुने क्षति वा उधारो नउठ्ने जोखिमलाई बीमाले नसमेट्दा साना उद्यमी निराश छन्। यसबाहेक पर्यटन क्षेत्रमा गाडी र भवनको बीमा भए पनि बाढीपहिरोले बाटो बन्द भई बुकिङ रद्द हुँदा हुने आम्दानीको क्षति समेट्ने बीमालेख नेपालि बजारमा उपलब्ध छैन। साना व्यवसायीहरुले बाली, पशुपन्छी, उपकरण, व्यवसाय निरन्तरता र सापट जोखिमलाई एउटै छातामुनि समेट्ने एकीकृत बीमालेखको माग गरेका छन्।
यो प्रतिवेदन विस्तृत स्थलगत अनुसन्धानमा आधारित छ। जसमा नेपालका सातै प्रदेशका १३४ वटा साना तथा मझौला उद्यमका प्रतिनिधिसँग सर्वेक्षण र केन्द्रित समूह छलफल मार्फत परामर्श गरिएको थियो। नीति निर्माता, नियामक निकाय र बीमा क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तर्वार्ताबाट महत्वपूर्ण जानकारी तथा अन्तर्दृष्टि प्राप्त गरिएका थिए ।
यस अध्ययनका निष्कर्षका लागि आवश्यक सन्दर्भ तथा पृष्ठभूमि तयार पार्न ‘डेस्क रिसर्च’ (उपलब्ध तथ्यांक तथा कागजातको अध्ययन) गरिएको थियो। यस प्रतिवेदनले विभिन्न क्षेत्रगत जोखिम, बीमासम्बन्धी अवरोध र बीमाबारे रहेका गलत धारणालाई पहिचान गरेको छ।












