काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले साउनमा ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जीवन बीमकहरुले ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी २८ हजार १२१ वटा दाबीको हो।
अघिल्लो आर्थिक वर्ष २०८२।८३ को साउनमा जीवन बीमकहरुले २८ हजार ५९ वटा दाबीको ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको साउनमा भुक्तानी भएका दाबी संख्या र रकम क्रमशः ०.२२ प्रतिशत र ७.३६ प्रतिशतले बढेको छ।
जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै अचाक्ली बढेको छ। चालु वर्षको साउनसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख २५ हजार ६३० पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ११८.१० प्रतिशत र १२०.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनसम्म जीवन बीमकहरुले ५७ हजार ६०३ वटा दाबीको ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।
यसैगरी निर्जीवन बीमकहरुले चालु वर्षको साउनमा १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी १० हजार ९६९ वटा दाबीको हो।
अघिल्लो वर्ष साउनमा निर्जीवन बीमकहरुले १० हजार ४७० वटा दाबीको १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको साउनमा भुक्तानी भएका दाबी संख्या ४.७७ प्रतिशतले बढ्दा भुक्तानी रकम भने २०.६६ प्रतिशतले घटेको छ।
निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको साउनसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख १० हजार ६५० पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ९.६५ प्रतिशत र ६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनसम्म निर्जीवन बीमकहरुले १ लाख ९०८ वटा दाबीको २६ अर्ब ११ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।












