काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा बीमा कम्पनीहरुले ३२ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउनमा ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को साउनमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ३१.१५ प्रतिशतले बढेको हो।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउनमा २६ अर्ब ६२ करोड २० रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ३२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमामा जीवन बीमा कम्पनीहरुले २० अर्ब २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
चालु आर्थिक वर्षको साउनमा जीवन कम्पनीहरुले ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३४.७५ प्रतिशत र नवीकरण बीमाशुल्क ३२.५८ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २२.८५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५९ लाख ९४ हजार ९५३ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ४.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा यो संख्या ५७ लाख ४२ हजार ७३५ वटा थियो।
समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख १ हजार ८७५ वटा र वैदेशिक रोजगार बीमालेख संख्या १९ लाख ४३ हजार ६९३ वटा रहेको छ। अघिल्लो वर्ष साउनमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख २४ हजार ३९४ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २६ लाख १९ हजार २३६ वटा थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या १६.२५ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २५.७९ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको साउनसम्म कुल जारी जीवन बीमालेख संख्या ७ लाख ४१ हजार ५२१ र कुल जारी निर्जीवन बीमालेख संख्या २ लाख ५४ हजार ६०७ रहेको छ।












