काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को लागि हालसम्म १० वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । प्रस्तावित लाभांश कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
हालसम्म लाभांश घोषणा गर्ने हाइड्रोपावर कम्पनीहरुमा यूनाइटेड इदी मर्दि एन्ड आरबी हाइड्रोपावर, विकास हाइड्रोपावर, साप्सु कालिका हाइड्रोपावर, माण्डु हाइड्रोपावर, आशुतोष इनर्जी, कावेली हाइड्रोपावर, हिलटन हाइड्रो इनर्जी, सुपर मादी हाइड्रोपावर, स्नो रिभर्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हुन् ।
लाभांश घोषणा गरेका १० कम्पनीमध्ये साप्सु कालिका हाइड्रोपावर, आशुतोष इनर्जी, कावेली हाइड्रोपावर र हिलटन हाइड्रो इनर्जी नेप्सेमा सूचिकृत छैनन् ।
नेप्सेमा सूचिकृत नभएका कम्पनी कुनले कति गरे लाभांश घोषणा
साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आशुतोष इनर्जीले १८ दशमलव ९४७३ प्रतिशत नगद लाभांश दिनेछ । कावेली हाइड्रोपावरले १६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ भने हिलटन हाइड्रो इनर्जीले २० प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेप्सेमा सूचिकृत कम्पनी
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८२।८३ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेका छन्। कम्पनीले बुक क्लोज गरेको छैन् ।
विकास हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००।१४ रुपैयाँबराबरको नगद लाभांश छन्। कम्पनीले बुक क्लोज गरेको छैन् ।
माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको कुल १२ प्रतिशत हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले असोज १ गते साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
स्नो रिभर्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते साधारण सभा गर्नेछ । कम्पनीले सभा प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । त्यसरकाण असोज ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँ कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश पारित गर्न कम्पनीले आउँदो असोज २७ गते २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभा भाग लिने छन्।












