काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले भोलि शुक्रबारदेखि साबिककै मूल्यमा ग्यास बिक्रीवितरण गर्न बिक्रेताहरुलाई आग्रह गरेको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। संघले काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै ग्यास उद्योगीलाई शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा नबढाई ग्यास बिक्रीवितरण गर्न र आ–आफ्ना बिक्रेतालाई जानकारी गराउन अनुरोध गरेको छ।
यसअघि गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक अवरुद्ध हुन पुगेको छ। त्यसपछि काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगहरुले मकवानपुर, पर्सा, वारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरुमा सिलिन्डर रिफिल गरी ट्रकहरुमार्फत वैकल्पिक मार्गबाट ल्याई एलपी ग्यास बिक्रीवितरण गर्दै आइरहेका थिए।
संघले भदौ १८ गते विज्ञप्ति जारी गरी काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै ग्यास उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५.३८ रुपैयाँ ढुवानी भाडाबापत थप गरी हुन आउने जम्मा रकम २ हजार १६५.३८ रुपैयाँमा नबढाई ग्यास बिक्रीवितरण गर्न अनुरोध गरेको थियो।
यसैबीच अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्रयाक खोली यातायात सुचारु भएसँगै एलपी ग्यास बुलेटहरु पनि काठमाडौं आउन थालेका हुनाले काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगहरुलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको छ। त्यसैले साबिककै मूल्यमा ग्यास बिक्रीवितरण गर्न संघले आग्रह गरेको हो।












