काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपदपछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।
अर्थमन्त्री वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। भोलि शुक्रबार बहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रुपमा वाग्ले सहभागी हुनेछन्।
त्यसपछि शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा एस. जयशंकरसँग अर्थमन्त्री वाग्लेले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन संठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन्।
अर्थमन्त्री वाग्ले शनिबार ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरुसँगको सम्मेलनमा प्रमुख वक्ताका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ। शनिबार ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रुपमा सहभागी हुन्छन्।
वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्किनेछन्। भ्रमण टोलीका सदस्यहरु अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन्।












