काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाको १ हजारभन्दा बढी बिक्री केन्द्रबाट चिनी ११० रुपैयाँमै बिक्री भइरहेको दाबी गरेको छ।
विभागले आज एउटा विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। चाडपर्वको मुखमा चिनीको हाहाकार भइरहेको बेला विभागले भने सहजै ढंगले चिनी उपलब्ध भइरहेको दाबी गरेको हो।
विज्ञप्तिमा सरोकारवालासँगको बैठकपछि भाटभटेनी, बिगमार्ट, सेल्सबेरीसमेतका काठमाडौंका १ हजारभन्दा बढी बिक्री केन्द्रहरुबाट प्रतिकेजी चिनी ११० रुपैयाँमै उपलब्ध भइरहेको विभागले जनाएको छ। यसका साथै चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेकोले आमउपभोक्तालाई अधिक सञ्चय नगर्न पनि विभागले आग्रह आग्रह गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीपहिरो तथा सोबाट पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएको र भारतले चिनी निकासी प्रतिबन्ध लगाएका कारण चाडपर्वमा बढी खपत हुने अत्यावश्यक खाद्य वस्तु चिनीको अभाव भन्ने खबर विभिन्न सञ्चार माध्यमबाट प्रकाशन भएपछि विभागले यो सूचना जारी गरेको हो।












