काठमाडौं । बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल एक अनुभवी तथा कर्मठ व्यक्तित्व माधव शर्माद्वारा लिखित पुस्तक ‘त्यो’ उनको २६ वर्ष लामो व्यावसायिक यात्राको अनुभव, सिकाइ र जीवनदृष्टिको सार हो।
बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका शर्माले तत्कालीन गुराँस लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स तथा युनियन लाइफ इन्स्योरेन्स हुँदै हिमालयन लाइफ इन्स्योरेन्समा जुनियर डीसीईओ तथा मार्केटिङ हेडका रूपमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
बीमा व्यवसायको विकास, नेतृत्व, मार्केटिङ तथा व्यवस्थापनका क्षेत्रमा उनले हासिल गरेको अनुभवलाई ‘त्यो’ पुस्तकमा समेटेका छन् । आफ्नो कार्यजीवनका विविध आरोह–अवरोह, चुनौती, सफलता र असफलताबाट प्राप्त व्यावहारिक ज्ञानसँगै विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा प्रशिक्षणबाट हासिल गरेका सिकाइलाई समेत उनले पुस्तकमा समेटेका छन् ।
त्यसैले ‘त्यो’ केवल एउटा पुस्तक मात्र नभई व्यक्तिगत जीवन र व्यावसायिक यात्रालाई अझ प्रभावकारी, अनुशासित र सफल बनाउन मार्गदर्शन गर्ने अनुभवको दस्तावेजका रूपमा प्रस्तुत भएको छ।
लेखक शर्माको विश्वासमा, जीवनमा सफलता हासिल गर्न ज्ञानसँगै अनुभव, निरन्तर सिकाइ, सकारात्मक सोच, अनुशासन र सही कार्यदिशाको महत्वपूर्ण भूमिका हुन्छ। आफ्नो १०० भन्दा प्रत्यक्ष तालिम, सेमिनार र प्रत्यक्ष काउनसेलिङबाट निखारीएको भावना अनि मान्यतालाई आफ्नो २६ वर्षको व्यावसायिक अनुभवसँग जोडेर ‘त्यो’ पुस्तकमार्फत पाठकमाझ प्रस्तुत गरिएको छ।
‘त्यो’ व्यक्तिगत जीवनको विकासदेखि व्यावसायिक सफलता र नेतृत्व क्षमताको अभिवृद्धिसम्मका लागि उपयोगी मार्गदर्शक बन्न सक्ने विश्वास लेखकले व्यक्त गरेका छन् ।
२६ वर्षको अनुभव, सिकाइ र संघर्षबाट निखारिएको जीवनदृष्टिको प्रतिबिम्ब ‘त्यो’, पाठकका लागि आफूलाई अझ अब्बल बनाउने प्रेरणाको एउटा महत्वपूर्ण दस्तावेज बन्ने अपेक्षा गरिएको छ।












