काठमाडौं । वित्तीय क्षेत्रका नियमनकारी निकायहरुमा प्रमुखहरुको तोकिएको अवधिभन्दा अगावै राजीनामा दिने रोग अब निजी क्षेत्रका कम्पनीहरुमा पनि देखिन थालेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बीमा प्राधिकरणलगायत निकायका प्रमुखहरु लामो समय टिक्न नसकेको उदाहरण हामीमाझ छर्लंगै छ। तर, अब यस्तो अवस्था निजी क्षेत्रका कम्पनीमा पनि देखिएका छन्।
यसको पछिल्लो उदाहरण हो, युनाइटेड अजोड इन्स्योरेन्स। पछिल्लो समयमा यो कम्पनीमा व्यवस्थापकीय नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोकिएको कार्यकालसम्म टिक्नै नसकेको देखिएको छ। यसको प्रमुख कारण कम्पनीको सञ्चालक समितिको दबाब नै रहेको देखिन्छ।
निर्जीवन बीमा कम्पनी युनाइटेड अजोडका तत्कालीन सीईओ श्रवणकुमार रावलको हृदयाघातका कारण २०८१ कात्तिक ८ गते असामयिक निधन भएपछि सञ्चालक समितिले कमल गौतमलाई २०८१ मंसिर २६ गते सीईओ नियुक्त गरेको थियो। चारवर्षे कार्यकालका लागि नियुक्त गरिएका उनी जम्मा १३ महिना पनि काम गर्न नपाउँदै २०८२ माघ ४ गते राजीनामा दिएर बाहिरिए। कम्पनीको सञ्चालक समितिबाट अनावश्यक हस्तक्षेपका कारण काम गर्ने वातावरण नभएपछि उनी बाहिरिन बाध्य भएका थिए।
बैंकिङ क्षेत्रमा समेत लामो समय उच्च व्यवस्थापनमा रहेर अनुभव संगालेका गौतमले समस्याग्रस्त एभरेष्ट इन्स्योरेन्सको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले हिमालयन जनरल इन्स्योरेन्ससँग मर्ज हुनु अघिसम्म एभरेष्ट इन्स्योरेन्सको नेतृत्वमा रहे। एभरेष्ट इन्स्योरेन्समा चारवर्षे पहिलो कार्यकाल पूरा गरेका गौतमले दोस्रो कार्यकालमा समेत एक वर्ष अवधि पूरा गरेका थिए।
२०७९ को साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेपछि गौतम नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए। उनले त्यहाँ २०८० फागुन २ गते उनी स्वेच्छिक राजीनामा दिएर हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिएका थिए। त्यसको करिब ९ महिनापछि युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक समितिले उनलाई सीईओ पदमा भित्र्याएको थियो।
गौतमको राजीनामापछि सञ्चालक समितिले सीईओ पदमा नारायणकुमार भट्टराईलाई भित्र्यायो। चारवर्षे कार्यकालका लागि नियुक्त गरिएका भट्टराई सञ्चालक समितिको अनुचित दबाब र हस्तक्षेपपछि तीन महिना पनि नबित्दै राजीनामा दिएर बाहिरिन बाध्य भए। भट्टराई २०८३ वैशाख १० गतेमात्र सीईओ नियुक्त भएका थिए। युनाइटेड अजोड प्रवेश गर्नुअघि उनी ३ वर्षदेखि बीमा क्षेत्रबाट बाहिर रहेका थिए। उनले त्यसअघि साबिक गुराँस लाइफ इन्स्योरेन्समा ४६ महिना सीईओ रहेका थिए।

युनाइटेड अजोड इन्स्योरेन्समा संस्थापक शेयरधनीहरुमा संस्थागत शेयरधनीहरुमध्ये चौधरी समूहसँग सर्वाधिक १२.३२ प्रतिशत शेयर स्वामित्व छ। कुल १२.३२ प्रतिशतमध्ये सीजी ग्रुप प्रालिको स्वामित्वमा ९.०४ प्रतिशत र सीजी फुड्सको स्वामित्वमा ३.२८ प्रतिशत शेयर रहेको छ।












