काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ।
अर्थ मन्त्रालयले आज नेप्सेको सीईओ नियुक्तिका लागि सहसचिव महेश आचार्यको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरेको हो। अब समितिले भोलि मंगलबार नै सीईओ नियुक्तिका लागि विज्ञापन निकालेर आवेदन खुला गर्ने बताइएको छ।
सहसचिव आचार्य हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख छन्। समितिको सदस्यमा लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा विज्ञ सदस्यका रुपमा रहेको बताइएको छ।
नेप्सेको सीईओबाट चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए। उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो। यद्यपि, उनले सोचेजस्तो काम गर्न नसकेपछि व्यापक आलोचना खेप्नुपरेको थियो। नेप्सेकै कर्मचारी पनि उनको कामबाट सन्तुष्ट हुन सकेका थिएनन्।
अब आचार्य नेतृत्वको छनौट समितिले दरखास्त आह्वान गरेपछि योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकनका आधारमा सर्टलिस्ट जारी गर्नेछ। त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि समितिले सर्टलिस्टमा परेकाहरुलाई डाक्नेछ।
अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ। त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्नेछ। तिनैमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।












