काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ को प्रावधान बमोजिम विद्युत उपभोगमा लागू गरिएको मूल्य अभिवृद्धि कर(भ्याट) सम्बन्धी प्रावधान साउन देखि उपभोग गरेको बिजुलीमा मात्र लागू हुने प्रष्ट पारेको छ।
कुनै उपभोक्ताले २०८३ साल आषाढ ३२ गतेसम्म विद्युत् उपभोग वा खपत गरेको छ र त्यसको बिलिङ साउन १ गते वा सोभन्दा पछि भएपनि त्यस्तो विद्युत् खपतमा भ्याट नलाग्ने विभागले जनाएको छ। साउन १ गतेभन्दा अघिको विद्युत् शक्तिलाई आधारभूत आवश्यकताका वस्तुभित्र राखी भ्याट छुट दिइएकाले कर आकर्षित नहुने प्रस्ट पारिएको छ।
नेपाल विद्युत प्राधिकरणले असारको विद्युत खपतको बिल साउनमा जारी गर्दा आर्थिक ऐन, २०८३ को प्रावधान बमोजिम भ्याट समेत समावेश गरेपछि उपभोक्ता आक्रोशित बनेका थिए ।
आर्थिक ऐन, २०८३ मा विद्युत् सेवा प्रदान गर्ने संस्थाले अन्तिम उपभोक्ताबाट ५ प्रतिशत र अन्य व्यक्तिको हकमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, साउन १ गतेभन्दा अघिको खपतमा कर लाग्छ कि लाग्दैन र डिमान्ड चार्जमा भ्याट आकर्षित हुन्छ कि हुँदैन भन्ने विषयमा सर्वसाधारण उपभोक्ता र व्यवसायीहरू अलमलमा परेका थिए।
श्रावण १ गतेदेखि खपत भएको विद्युत् शक्तिमा भने नेपाल विद्युत् प्राधिकरणले लिने स्वीकृत ट्यारिफ अनुसारको न्यूनतम चार्ज वा डिमान्ड चार्ज समेत विद्युत् सेवाबापतकै रकम भएकाले त्यसमा पनि आकर्षित हुने विभागले जनाएको छ।












