IME Life New

मन्त्रालयमा अर्थमन्त्री वाग्लेको एक साता, के-के भए महत्वपूर्ण काम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले पदबहाली गरेको एक साता बितेको छ। यो एक साताको अवधिमा अर्थमन्त्री वाग्लेले महत्वपूर्ण कामहरु गरेका छन्।

त्यसो त पदबहालीकै क्रममा अर्थमन्त्री वाग्लेले ३ निर्णय गरेका थिए। चैत १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने तथा अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने वाग्ले पहिलो निर्णय थियो।

Esewa
Crest

यसैगरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको दोस्रो निर्णय थियो। निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने उनको तेस्रो निर्णय थियो।

एक साताका महत्वपूर्ण काम

मेरिटका आधारमा पदस्थापन

अर्थमन्त्री वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर ३० जना उपसचिवको मेरिटमा आधारित पदस्थापन गरे। नियमित बढुवा भएका ३० जना राजस्व समूहका उपसचिवको योग्यतामा आधारित पदस्थापन गरिएको थियो।

मन्त्रालयको आन्तरिक ब्रिफिङ

मन्त्री वाग्लेले अर्थ मन्त्रालयअन्तर्गतका महत्वपूर्ण महाशाखा तथा कार्यालयहरुको ब्रिफिङ लिइरहेका छन्। उनी नियमित छलफल र अन्तर्क्रियामा जुटिरहेका छन्।

वाग्लेले मन्त्रालयअन्तर्गतका कार्यालयको संरचना र कार्यप्रगति अवस्था, बजेट कार्यन्वयन, राजस्व संकलन, राजस्व चुहावट नियन्त्रणका उपायलगायतका विषयमा विस्तृतमा जानकारी लिइरहेका छन्। वाग्लेले ६ वटा महाशाखा, २ वटा विभाग, २ वटा कार्यालय र एक प्राधिकरणको ब्रिफिङ लिइसकेका छन्। बजेट महाशाखा, अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, वित्तिय संघीयता समन्वय महाशाखा, योजना अनुगमन तथा मूल्यांकन महाशाखा, वित्तीय क्षेत्र महाशाखा, नेपाल बीमा प्राधिकरण, महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग र आन्तरिक राजस्व विभागको ब्रिफिङ लिएका हुन्।

राजस्व चुहावट रोक्न निर्देशन

अर्थमन्त्री वाग्लेले उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकाय र राजस्व प्रशासनलाई निर्देशन दिएका छन्। सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजस्व संकलन गर्न र राजस्वको चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्नमात्रै नभई राजस्व त्योभन्दा बढी संकलन गर्न उनले निर्देशन दिए।

निजी क्षेत्रलाई सरकारको प्राथमिकता र नीतिबारे जानकारी

यसअघि वाग्लेले निजी क्षेत्रका ३ वटा प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँग छलफल तथा अन्तर्क्रिया गरेका थिए। छलफलमा नयाँ राजनीतिक परिवेश, नयाँ सरकार गठनको जनादेशबारे निजी क्षेत्रलाई उनले जानकारी गराएका थिए।

सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडि बढ्ने भन्दै अर्थमन्त्री वाग्लेले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न र निश्चिन्त भएर लगानी बढाएर देशमा रोजगारी सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे।

बजेट तयारी सुरु

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका छन्। समितिले पूर्णता पाउँदैछ। यस बीचमा मन्त्रिस्तरीय ३ दर्जन बढी निर्णय उनले गरेका छन्।

राजस्व परामर्शसम्बन्धी अन्तरक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट लक्षित राजस्व परामर्शसम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुन थालेका छन्। उनी शुक्रबार राजस्व परामर्शसम्बन्धी अन्तरक्रिया तथा देशकै ठूलो भन्सार कार्यालय अनुगमन तथा निरिक्षणका लागि वीरगन्ज पुगेका थिए।

त्यस क्रममा वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आईसीपी)को निरीक्षण तथा आन्तरिक राजस्व कार्यालय पर्सा र बाराको निरीक्षण गरेर अर्थमन्त्री वाग्ले वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटलाई सुझाव दिन आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS