काठमाडौं । अन्तर्राष्ट्रिय प्रविधि बजारमा अहिले एउटा अनौठो र लोभलाग्दो दृश्य देखिएको छ। क्यारिबियन सागरको एउटा सानो टापु देश एंगुइला (जसको जनसंख्या काठमाडौंको एउटा सानो वडा जति) अर्थात् करिब १६ हजार मात्र छ, उसले अहिले ‘अदृश्य’ चिज बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाइरहेको छ।
यो टापु कुनै बेला आफ्ना सफा समुद्री किनार र लोबस्टर (एक प्रकारको समुद्री जीव) का लागि मात्र चिनिन्थ्यो। तर, अहिले यसको मुख्य ‘निर्यात’ भनेको यसको इन्टरनेट कन्ट्री कोड डोमेन ‘ai’ बनेको छ। सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीदेखि एआई स्टार्टअपहरुले आफ्नो वेबसाइटको ठेगानामा ‘ai’ झुन्ड्याउन हारालुछ गरेपछि यो सानो देशको ढुकुटी रातारात भरिन थालेको हो।
वास्तवमा एंगुइलाले यो सफलता कुनै ठूलो योजना बनाएर पाएको भने होइन। सन् १९९० को दशकमा इन्टरनेटको सुरुआती चरणमा हरेक देश र क्षेत्रलाई दुई अक्षरको डोमेन कोड बाँडिँदा एंगुइलाको भागमा संयोगवश ‘बष्’ पर्यो। धेरै दशकसम्म यसबाट खासै आम्दानी भएन। तर, सन् २०२२ को अन्त्यतिर जब ‘च्याटजीपीटी’ जस्ता एआई प्रविधिले विश्वलाई अचम्मित बनायो तब ‘ai’ डोमेनको माग आकाशियो।
सन् २०२३ मा मात्रै यो टापुले डोमेन बिक्रीबाट करिब ३२ मिलियन डलर (झन्डै ४ अर्ब २५ करोड नेपाली रुपैयाँ) आम्दानी गर्यो। जुन यसको कुल सरकारी राजस्वको २० प्रतिशतभन्दा बढी हुन आउँछ। सन् २०२४ र २०२५ सम्म आइपुग्दा यो आम्दानी अझ बढेर सरकारी ढुकुटीको झन्डै एक चौथाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ।
एंगुइलाको यो डिजिटल आम्दानीको स्रोत निकै महँगो पनि छ। सामान्य ‘.com’ डोमेनको तुलनामा ‘ai’ डोमेन दर्ता गर्न निकै बढी शुल्क तिर्नुपर्छ। धेरैजसो कम्पनीले २ वर्षका लागि सुरुमा कम्तीमा १६० देखि १८० डलर तिर्नुपर्ने हुन्छ र नवीकरण गर्दा यो शुल्क २०० डलरभन्दा माथि पुग्न सक्छ।
प्रविधि कम्पनीहरुका लागि यो शुल्क उनीहरुको ब्रान्डको ‘वैधानिकता’ र पहिचानसँग जोडिएको छ। तर, एंगुइलाका लागि यो कुनै वातावरणीय असर बिनाको शुद्ध ‘डिजिटल निर्यात’ हो। यसरी आएको पैसाले अहिले त्यहाँका विद्यालय, सडक र अस्पतालजस्ता सार्वजनिक सेवामा ठूलो लगानी भइरहेको छ। जसले सरकारलाई पर्यटनमा मात्र भर पर्नुपर्ने बाध्यताबाट केही राहत दिएको छ।
नेपालजस्ता साना र सीमित स्रोत साधन भएका देशहरुका लागि एंगुइलाको यो कथा एउटा महत्वपूर्ण पाठ हुन सक्छ। हाम्रो आफ्नो कन्ट्री कोड ‘.np’ लाई पनि कसरी विशिष्ट डिजिटल ब्रान्डिङ वा सेवाहरुसँग जोड्न सकिन्छ भन्नेबारे सोच्ने बेला आएको छ।
यद्यपि, एउटै क्षेत्रमा मात्र बढी निर्भर हुनुका आफ्नै जोखिमहरु पनि छन्। यदि भोलि एआई प्रविधिको आकर्षण कम भयो वा इन्टरनेटका नियमहरु फेरिए भने एंगुइलाको अर्थतन्त्रमा फेरि धक्का लाग्न सक्छ। त्यसैले यस्ता डिजिटल ‘चिठ्ठा’ले देशको मुहार फेर्न त सक्छ तर दिगो भविष्यका लागि भने आम्दानीका स्रोतहरुलाई विविधीकरण गर्न उत्तिकै आवश्यक हुन्छ।
यसरी एउटा दुई अक्षरको कोडले एउटा सिंगो राष्ट्रको भविष्य नै बदलिदिएको यो घटनाले प्रविधिको युगमा भूगोलभन्दा पनि ‘डिजिटल सम्पत्ति’ कति शक्तिशाली हुन्छ भन्ने प्रमाणित गरिदिएको छ।












