काठमाडौं । खाडी क्षेत्र र मध्यपूर्वमा बढ्दो सैन्य तनाव तथा अमेरिका इरानबीच बढ्दो द्वन्द्वले विश्व बीमा उद्योगमा नयाँ जोखिम सिर्जना गरेको छ। युद्धसम्बन्धी जोखिम, आपूर्ति शृंखला अवरोध, समुद्री तथा हवाई यातायातमा अवरोध र ऊर्जा बजारमा अस्थिरताका कारण अन्तर्राष्ट्रिय बीमा तथा पुनर्बीमा बजारमा दाबी र अनिश्चितता बढ्ने सम्भावना देखिएको छ।
अन्तर्राष्ट्रिय बीमा अभ्यासअनुसार अधिकांश व्यावसायिक सम्पत्ति बीमालेखहरुमा युद्ध, विदेशी आक्रमण, सैन्य कारबाही वा शत्रूतापूर्ण गतिविधिबाट हुने क्षति सामान्यतया समेटिँदैन। दोस्रो विश्वयुद्धपछि विकास गरिएको यस्तो ‘वार एक्सक्लुजन’ प्रावधानले युद्धबाट हुने प्रत्यक्ष वा अप्रत्यक्ष क्षतिलाई बीमा दायराबाहिर राख्ने गरेको छ। त्यसैले युद्धबाट भएको आगलागी, लुटपाट वा व्यवसाय अवरोधजस्ता घटनासमेत सामान्य सम्पत्ति बीमाबाट भुक्तानी नहुन सक्ने स्थिति हुन्छ।
राजनीतिक हिंसा बीमा र पुनर्बीमा बजारमा दबाब
सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अन्तर्राष्ट्रिय बीमा बजारले ‘राजनीतिक उपद्रव बीमा’ नामक छुट्टै बीमा उत्पादन विकास गरेको थियो। यसले आतंकवाद, विद्रोह, दंगा वा केही अवस्थामा युद्धसम्बन्धी क्षतिसमेत कभर गर्न सक्छ। तर, यस्तो बीमा “‘तोकिएको विपत्ति’ अर्थात् सीमित जोखिममात्र कभर गर्ने भएकाले धेरै कम्पनीले आतंकवाद वा सामान्य दंगासम्मको मात्रै सुरक्षा लिएको देखिएको छ।
मध्यपूर्वको पछिल्लो तनावमा मिसाइल र ड्रोन आक्रमणजस्ता घटना बढेपछि धेरै व्यवसाय युद्धसम्बन्धी जोखिमका लागि बीमाविहीन हुने अवस्था आउन सक्ने विश्लेषकहरुले बताएका छन्। यसले बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच दाबी विवादसमेत बढाउने सम्भावना रहेको छ।
समुद्री र हवाई बीमामा सबैभन्दा ठूलो जोखिम
इरानले रणनीतिक महत्वको हमुज डमरु बन्द गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय समुद्री बीमा बजारमा जोखिम बढेको छ। यो मार्गबाट विश्वको ठूलो मात्रामा तेल र ग्यास ढुवानी हुने भएकाले जहाज, कार्गो तथा ऊर्जा उद्योगमा बीमाशुल्क महँगिने संकेत देखिएको छ।
समुद्री बीमामा पनि सामान्य ‘जहाज वा मालसामान’ बीमाले युद्ध जोखिम समेट्दैन। जहाज मालिकहरुले अलग ‘युद्ध जोखिम बीमा’ गराउनुपर्छ। खाडी क्षेत्रमा जहाजमाथि आक्रमण वा कब्जा जस्ता घटनाले यस्तो बीमामा ठूलो दाबी आउन सक्छ।
त्यस्तै खाडी क्षेत्रका विमानस्थलहरुमा विमान रोकिँदा हवाई बीमा कम्पनीहरु पनि जोखिममा परेका छन्। युद्धका कारण विमान उडान रोकिए वा क्षति भएमा ‘वायुसेवा युद्ध जोखिम’ नीतिअन्तर्गत ठूलो दाबी आउन सक्ने सम्भावना छ।
आपूर्ति शृंखला अवरोधले व्यापार बीमामा असर
युद्धका कारण बन्दरगाह, हवाईमार्ग र व्यापारिकमार्ग प्रभावित हुँदा विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध आएको छ। ऊर्जा, ढुवानी, विमानन र उद्योग क्षेत्रमा व्यवसाय अवरोध बढे पनि धेरै बीमा पोलिसीहरुले युद्धसम्बन्धी कारणलाई बहन नगर्ने भएकाले ठूलो आर्थिक क्षति बीमाविहीन हुन सक्ने विश्लेषण गरिएको छ।
नेपालमा कस्तो असर पर्न सक्छ ?
नेपाल प्रत्यक्ष रुपमा युद्धमा संलग्न नभए पनि अन्तर्राष्ट्रिय बीमा र पुनर्बीमा बजारसँग जोडिएको हुँदा केही अप्रत्यक्ष असर देखिन सक्ने विज्ञहरु बताउँछन्। नेपालका बीमा कम्पनीहरु विदेशी पुनर्बीमा कम्पनीहरुसँग काम गर्छन्। विश्व बजारमा युद्ध जोखिम बढ्दा पुनर्बीमा शुल्क महगो हुन सक्छ।
नेपालले आयात गर्ने इन्धन, कच्चा पदार्थ र सामान समुद्रीमार्गबाट आउने भएकाले समुद्री बीमाशुल्क बढ्दा व्यापार लागत बढ्न सक्छ। तेल ढुवानी प्रभावित भएमा अन्तर्राष्ट्रिय ऊर्जा बजार अस्थिर हुन सक्छ। जसले नेपालमा इन्धन मूल्य र आर्थिक गतिविधिमा असर पार्न सक्छ।
विश्व व्यापार सुस्त भएमा अन्तर्राष्ट्रिय भुक्तानी जोखिम बढ्ने भएकाले उधारो व्यापार बीमामा पनि दबाब आउन सक्छ। युद्ध र हवाईमार्ग अवरोधका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएमा यात्रा बीमा दाबी र विवाद बढ्न सक्ने सम्भावना हुन्छ।
विश्लेषकहरुका अनुसार अहिलेको संकटले विश्व बीमा उद्योगमा एउटा महत्वपूर्ण पाठ दिएको छ। यो परिस्थितिमा बीमालेख, पुनर्बीमा संरचना र जोखिम वर्गीकरण अत्यन्तै महत्वपूर्ण हुन्छ। युद्धसम्बन्धी जोखिम सामान्य बीमालेखबाट प्रायः बाहिर रहने भएकाले विश्वभरका व्यवसाय र बीमाधारकहरुले आफ्नो बीमा सुरक्षा पुनरावलोकन गर्नुपर्ने आवश्यकता बढेको छ।
नेपालमा प्रत्यक्ष प्रभाव सीमित भए पनि अन्तर्राष्ट्रिय पुनर्बीमा बजार, समुद्री व्यापार लागत र ऊर्जा आपूर्ति शृंखलामार्फत अप्रत्यक्ष आर्थिक असर देखिन सक्ने भएकाले बीमा क्षेत्रले पनि विश्व बजारको अवस्थालाई नजिकबाट नियाल्नुपर्ने अवस्था देखिएको छ।












