काठमाडौं । शेयर बजारले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामा मिश्रित संकेत देखाएको छ। अघिल्लो वर्षको तुलनामा नेप्से सूचकांक र बजार पुँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपातमा भने केही गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुस मसान्तमा २५९४.१३ अंकमा रहेको नेप्से सूचकांक २०८२ पुस मसान्तमा १.२ प्रतिशतले वृद्धि भई २६४१.४४ कायम भएको छ। बजारको कुल मूल्य अर्थात् बजार पुँजीकरणमा पनि सकारात्मक वृद्धि देखिएको छ। २०८१ पुस मसान्तमा ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ रहेको बजारको आकार बढेर २०८२ पुसमा ४४ खर्ब ३५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, अर्थतन्त्रको आकार जीडीपीसँगको तुलनामा भने पुँजीबजारको हिस्सा खुम्चिएको छ। अघिल्लो वर्षको पुसमा बजार पुँजीकरण र जीडीपीको अनुपात ७५.३७ प्रतिशत रहेकोमा यस वर्ष घटेर ७२.६२ प्रतिशतमा झरेको छ। यसले वास्तविक क्षेत्रको तुलनामा शेयर बजारको वृद्धिदर केही सुस्त रहेको संकेत गर्दछ।
नेपालको शेयर बजारमा अझै पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनीको बाहुल्य छ। कुल बजार पुँजीकरणमा यस क्षेत्रको हिस्सा ५२.३ प्रतिशत रहेको छ। पछिल्लो समय जलविद्युत् क्षेत्रको आकर्षण पनि बढ्दो छ। जसको हिस्सा १५.२ प्रतिशत पुगेको छ।
सूचीकृत कम्पनीहरुको संख्यामा पनि वृद्धि भएको छ। २०८१ पुसमा २६७ रहेका कम्पनीको संख्या बढेर २८४ पुगेको छ। जसमा जलविद्युत् कम्पनी ९९७ वटाको संख्यात्मक वृद्धि उल्लेखनीय देखिन्छ।
समीक्षा अवधिमा बजारमा नयाँ पुँजी भित्रिने क्रम पनि उत्साहजनक छ। नेपाल धितोपत्र बोर्डले २१ अर्ब १५ करोड रुपैयाँबराबरको साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ, एफपीओ, हकप्रद शेयर)को अनुमति दिएको छ।
त्यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो अवधिमा थप ४८ अर्ब ४४ करोड रुपैयाँबराबरका धितोपत्र सूचीकृत भएका छन्। यसमा साधारण शेयर २१ अर्ब ९६ करोड रुपैयाँ र हकप्रद शेयर ९ अर्ब ६४ करोड रुपैयाँको हिस्सा ठूलो छ।
मुख्य तथ्यांकीय झलक (२०८२ पुस मसान्तसम्म)
- कुल सूचीकृत शेयर संख्याः ९ अर्ब २२ करोड
- कुल चुक्तामूल्यः रु. ९ खर्ब ८ अर्ब ५० करोड
- होटल क्षेत्रको हिस्साः ३.१ प्रतिशत
- उत्पादन तथा प्रशोधन क्षेत्रः ६.९ प्रतिशत
बजारमा सूचकांक र कम्पनीको संख्या बढे पनि उत्पादनशील र व्यापारिक क्षेत्रको हिस्सा क्रमशः ६.९ प्रतिशत र ४.८ प्रतिशत अझै न्यून देखिन्छ। बजारलाई थप सन्तुलित बनाउन गैरवित्तीय क्षेत्रका कम्पनीलाई प्रोत्साहित गर्नुपर्ने चुनौती भने कायमै देखिन्छ।












