काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि फागुन १३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १२ गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्ना ११ औँ वार्षिक साधारणसभा यही फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजना गर्दैछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५९ लाख २७ हजार ९७७.८९ रुपैयाँ नगद अनुमोदन गर्नेछ। सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
कम्पनीले पुँजी संरचनाको परिमार्जन, बोनस शेयर र हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुबाट कुनै रायसुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।












