IME Life New

जेनजी आन्दोलनमा देखिएको हाम्रो असली चरित्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मिलेनियल (जेनवाई)

नेपाली भनेपछि संसारमा इमान्दार, मिहेनती र विश्वासिलो जातिको रुपमा चर्चित थियौँ। संसारको जुनसुकै कुनामा पुगेपनि यही मान्यताले हामीलाई एउटा पहिचान दिलाएको थियो। एकाध अपवादबाहेक क्रुरता, हिंसा र उदण्डदा नेपालीहरुको पहिचानका विशेषण थिएनन्।

Esewa
Crest

संयुक्त राष्ट्रसंघले पनि नेपाली सेनालाई संसारका विभिन्न युद्धग्रस्त देशहरुमा शान्ति स्थापना गर्न शान्ति सैनिकका रुपमा पठाउंदा हाम्रो यसै प्रकारको चरित्रलाई हेरेर पनि खटाएको मानिन्छ। तर, पछिल्लो पुस्तामा नेपालीको पहिचानका यि विशेषणहरु देखिन छाडेको छ। अझ अप्ठ्यारो समयमा त नेपालीबाट इमान्दारिता र विश्वासको आशा गर्नु त नसोचे पनि हुने भएको छ।

अहिलेको जेनजीको आन्दोलनमा देखिएका उच्छृंखलताको हिसाब गर्ने हो भने त हामी नेपाली जनावरभन्दा कम रहेनछौँ भन्ने प्रमाणित नै भएको छ। यो आन्दोलनमा देखिएको तान्डवले हाम्रो नेपाली समाजको मानसिकता स्पष्टरुपमा उजागर गरेको छ। हामी भित्रबाट कस्तो रहेछौँ भन्ने स्पष्टता यही आन्दोलनको दौरानमा देखियो। हुन त आन्दोलनमा जे पनि जायज छ भन्ने मान्यता रहेको छ। तर, पनि जसरी जे उद्देश्यका लागि यो आन्दोलन भएको थियो, त्यो उद्देश्य केन्द्रित गतिविधिहरुमा भए गरेका कामहरुबाहेक अन्य गतिविधि एउटा नेपाली समाजलाई सुहाउने पटक्कै छैन। लुटपाट, चोरी, डकैती, तोडफोड, अर्काको सम्पतिको नोक्सानी, मानविय संवेदनहीनता आदि हामीले यो आन्दोलनको दौरान देखिएका नेपालीका थप विशेषण हुने भए अबबाट। संसारले अब हामी नेपालीलाई इमान्दार, विश्वासिलो जातिको रुपमा भन्दा पनि मानवताविहीन, चोर, फटाहा र अवसरवादी जातिको रुपमा लिनेछ।

आन्दोलनका क्रममा भ्रष्ट नेताहरुलाई दिएको सजायमा त कोही कसैको विमति नहोला। अझ ती अबोध नवयुवाहरुलाई मार्ने प्रशासक र नेताहरुलाई जिउँदै छोडिदिएकोमा नपुगेको जस्तो भएको होला। तर, सार्वजनिक सम्पति जलाउने, लुटपाट गर्ने, ब्यापारिक प्रतिष्ठानहरुमा आगो लगाउने, लुटपाट गरेको देख्दा चाहिँ साँच्चै हामी मानव नै हौँ र भन्ने आभास भएको छ। हाम्रा पुर्खाले कमाएको नेपाली हुनुको शान र इज्जत पनि धुमिल भएको छ।

जेनजी आन्दोलनले समाजको ऐना पनि उजागर गरिदिएको छ। हामीले कस्तो समाज बनाएका रहेछौँ भनेर स्पष्ट पारेको छ। हामीले हाम्रा सन्ततीलाई कस्तो शिक्षा दिक्षा दिएका रहेछौँ भनेर पनि स्पष्ट पारेको छ। आफ्ना अभिभावकलाई गर्नुपर्ने सम्मान, आदरको खडेरी त देखियो नै त्योभन्दा बढी राष्ट्रप्रति राख्नुपर्ने देशभक्तीको भावना कति हावादारी रहेछ र देशको माया भन्ने चिज केही रहेनछ भन्ने पनि देखियो। स–साना बालबालिकाको मुखमा पनि ओली चोर, देउवा चोर, प्रचण्ड चोर भन्ने भावना कसले विकास गरायो ? के उनीहरुको बालमस्तिष्कले यतिको सोच्न सक्ने हो र ? सामाजिक सञ्चाल बन्द गराएको, तिमीहरुलाई युट्युब हेर्न नदिएको त्यही मान्छेले हो भनेर कसरी बाल मस्तिष्कमा जडान गराइदिएका रहेछन्, अभिभावकहरुले त्यो पनि प्रस्ट भयो। अब ती बालमस्तिष्कले जहिले पनि केही पर्यो भने शासकको नाम लिँदै गाली गर्ने भावना विकसित भएको देखियो।

मौका मिल्नेबित्तिकै चोर्न र लुटपाट गर्न हामी कति खप्पिस रहेछौ भन्ने पनि उजागर भयो। संसद भवनको टेलिफोन, कुर्सीदेखि प्रिन्टरसम्म, सिंहदरवारको पुराना भाडादेखि ऐतिहासिक सामग्रीसम्म, भाटभटेनीका खाद्यान्नका सामान, भाँडाकुँडादेखि लत्ताकपडासम्म, खाद्य संस्थानको चामलका बोरा, नेताहरुको घरका अन्डा, पाउरोटी, रक्सीका बोतल, कपडादेखि कट्टुगन्जीसम्म, हाम्रो चरित्र नै चोर र लुटाहा भएको छर्लङ देखियो। हाम्रो मनमा भएको आपराधिक मानसिकता ठ्याक्कै उजागर भयो।

जेनजीको नाममा यसरी लुटपाट गर्ने, छानीछानी विध्वंश गर्ने, के यो भावना एकदिनमा विकसित भएको हो त ? कदापि हुन सक्दैन। हाम्रो मनस्थिति नै यस्तै अवसरको खोजीका लागि क्रमशः विकसित भएको रहेछ भन्ने प्रमाणित भयो। अनि त मौका पाउनेबित्तिकै जंगलीस्वरुप उजागर भै हाल्यो। कहिल्यै मनस्थितिमा यस प्रकारको विकृतभाव नभएको मान्छेलाई चोरभन्दा पनि उसले चोरी गर्न सक्दैन तर यो लुटपाट, क्रुरता देख्दा त नेपाली संसारको अति नै अमानवीय जातमा दरियो।

यो हाम्रो समाजको असली ऐना हो। किन यस्तो भयो हामी आफैँले समीक्षा गरौँ। हामी त आफ्नो छाक काटेर पनि अरुलाई सहयोग गर्ने पुर्खाका सन्तती थियौँ त। अर्काको दुःखलाई आफ्नो दुःख देखेर सहयोग गर्ने जातका थियौँ त। तर, आज हामी किन संसार हसाइरहेका छौँ ? यो प्रवृति हेर्दा त यहा कसैलाई पनि विश्वास गर्न सकिने देखिएन। मौका पाउनासाथ सँगै रहेकाले पनि तपाइँको लगाएको लुगा जुनसुकै बेला पनि उतार्ने पो देखियो।

समाजशास्त्रको सिद्धान्तअनुसार यसरी विकसित भएको आपराधिक मानसिकताले कहिल्यै पनि अरुको प्रगति देख्न सक्दैन र सधैँ अर्काको ईष्यामा समय व्यतित गर्ने भावना विकसित हुने देखाउँछ। तसर्थ, हामीले हाम्रो समाजको यो चरित्र बदलिनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

78%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS