IME Life New

घट्दो ब्याजदर र बढ्दो तरलताले बदलिँदै लगानी रणनीति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बैंकिङ प्रणालीभित्र हाल संस्थागत निक्षेपकर्ताको लगानी रणनीतिमा तीव्र परिवर्तन देखिन थालेको छ। अलिकति समयअघि मात्र ब्याजदर बढ्ने अपेक्षासहित सरकारी ट्रेजरी बिल्सजस्ता अल्पकालीन उपकरण रोजेका ठूला संस्थागत निक्षेपकर्ता अहिले फेरि दीर्घकालीन मुद्दति निक्षेपतर्फ सिफ्ट भइरहेका छन्।

ब्याजदर घट्दो क्रममा जान थालेपछि अल्पकालीन उपकरणबाट प्रतिफल घट्ने निश्चितजस्तै भएपछि यस्तो रणनीतिक मोड आएको बैंकरहरुको विश्लेषण छ। उनीहरुका अनुसार बीमा कम्पनी, सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थागत निकायहरुले अहिले पुनः स्थायित्व खोज्दै मुद्दति निक्षेपलाई प्राथमिकता दिन थालेका छन्।

Crest

तरलता प्रशस्त भएपछि बैंकहरुमाथि ब्याजदर घटाउने दबाब झनै बढेको छ। यस्तै अवस्थामा सर्ट टर्म उपकरणबाट अपेक्षित लाभ लिन नसकिने ठम्याइ गर्दै संस्थागत निक्षेपकर्ता फेरि मुद्दति निक्षेपको सुरक्षात्मक र स्थिर आम्दानीतर्फ केन्द्रित भएका हुन्।

ब्याजदर घट्न थालेसँगै मात्र गत आर्थिक वर्षको अन्तिममा वाणिज्य बैंकहरुमा करिब २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ। यो वृद्धिदर सामान्य अवस्थाभन्दा निकै माथि मानिन्छ।

बैंकहरुका अनुसार अल्पकालीन लगानीको परिपक्वतापछि संस्थागत निक्षेपकर्ता सोझै मुद्दति निक्षेपमा फर्किन थालेका छन्। उनीहरुको प्राथमिकता अब १ वर्षभित्रको अवधिसम्म सीमित देखिएको छ। जसले दीर्घकालीन पूँजी व्यवस्थापनमा बैंकहरुलाई चुनौती दिन थालेको छ।

बैंकरहरुका अनुसार ‘संस्थागत निक्षेपकर्ताहरु पहिले ब्याजदर बढ्ने अपेक्षामा सर्ट टर्म ट्रेजरी बिल्समा गएका थिए। तर, तरलता बढ्दै जाँदा यस्तो सम्भावना कमजोर बनेपछि उनीहरु फेरि मुद्दतिमा सरेका छन्। यसले असार महिनामै निक्षेप अभूतपूर्व रुपमा बढेको हो।’

ब्याजदर घट्नाको अर्को प्रमुख कारकका रुपमा रेमिटेन्सलाई हेर्न सकिन्छ। गत आर्थिक वर्षको ११ महिनामा मात्रै १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। यो रकमले बैंकिङ प्रणालीभित्र तरलता थप बढाएको छ। यसले तत्कालै ब्याजदर माथि जान सक्ने सम्भावनासमेत देखिएको छैन।

अर्कोतर्फ बैंकरहरु भन्छन्, ‘जब बजारमा तरलता प्रशस्त हुन्छ, बैंकहरुलाई फन्डको अभाव हुँदैन। जसले गर्दा निक्षेपमा उच्च ब्याजदर दिनुको आवश्यकता कम हुन्छ। त्यसैले दीर्घकालीन लगानी आकर्षक नबन्ने हो भने संस्थागत निक्षेपकर्ता १ वर्ष वा सोभन्दा कम अवधिका मुद्दति योजनामा सीमित हुन बाध्य छन्।’

बैंकहरुले दीर्घकालीन कर्जा प्रवाहका लागि दीर्घकालीन निक्षेप खोजिरहेका हुन्छन्। तर, हालको परिदृश्यमा संस्थागत निक्षेपकर्ता न्यून ब्याजदरका कारण लामो अवधिको फन्डमा पैसा राख्न चाहिरहेका छैनन्। यसले बैंकहरुलाई एसेट–लायबिलिटी म्याचिङ अर्थात् स्रोत प्रयोग सन्तुलन गर्न कठिनाइ बढाएको छ। कर्जाको अवधि लामो हुने तर निक्षेप छोटो अवधिमात्र रहने हो भने बैंकहरुको नगद व्यवस्थापन र लाभप्रदता दुवै प्रभावित हुन सक्छ।

ब्याजदरको उतारचढाव, तरलता प्रवाह र संस्थागत निक्षेपकर्ताको आन्तरिक रणनीतिले बैंकिङ प्रणालीमा निक्षेपको बनावटमा गहिरो परिवर्तन ल्याएको छ। यो प्रवृत्तिले अबको दिनमा बैंकहरुलाई ब्याजदर रणनीति, कर्जा प्रवाह नीति र स्रोत व्यवस्थापन रणनीति फेरबदल गर्न बाध्य पार्ने जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS