काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई केही जटिल रोगको उपचारका लागि २ लाख रुपैयाँसम्मको सुविधा पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ८ वटा जटिल रोगका बिरामीले हाल स्वास्थ्य बीमामा पाइरहेको १ लाख रुपैयाँ उपचारमा थप १ लाख रुपैयाँ गरी २ लाख रुपैयाँसम्मको सुविधा पाउने बताएका छन्। पौडेलका अनुसार कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहात दिन सरकारले यो सुविधा बढाएको हो।
साउन १ गतेबाट ८ प्रकारका बिरामीले सरकारको पूर्वप्रतिबद्धताअनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखसम्मको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए।
स्वास्थ्य बीमाअन्तर्गत क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने मन्त्री पौडेलले जानकारी दिए। यस विषयमा मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो।
बीमा बोर्डको मंगलबार बसेको बैठकले ८ वटा जटिल रोगीलाई २ लाख रुपैयाँसम्म उपचार सेवा दिने निर्णय गरेको छ।

















