काठमाडौं । जीवन बीमकले आफ्नो बीमा योजनाअन्तर्गत बहन गरिएको नोक्सानीका लागि नगद क्षतिपूर्ति प्रदान गर्छन्। बदलामा तपाइँले बीमकलाई बीमाशुल्कका रुपमा तोकिएको रकम तिर्नुपर्ने हुन्छ।
तपाइँले निश्चित अवधिमा नियमित रुपमा तोकिएको बीमाशुल्कको किस्ताहरु भुक्तानी गर्नुपर्ने हुन सक्छ। यस्ता आवधिक भुक्तानी भएका बीमा योजनाहरुलाई नियमित बीमाशुल्क भुक्तानी बीमा योजना भनिन्छ। यसबाहेक तपाइँ एकल बीमाशुल्क भुक्तानी विकल्प रोजेर एकमुष्ठ (फिक्स्ड डिपोजिट) रुपमा सम्पूर्ण रकम पनि भुक्तानी सक्नुहुन्छ।
दुबै विकल्पमा फाइदा र बेफाइदा छन्। यदि तपाइँ आफ्नो आवश्यकताका लागि एकल बीमाशुल्क र नियमित बीमाशुल्क योजनाहरुको उपयुक्तताका बारेमा अनिश्चित हुनुहुन्छ भने तपाइँले निम्न आधारमा तुलना गरेर निर्णय लिन सक्नुहुन्छ।
किफायतीः तपाइँ कसरी भुक्तानी गर्ने योजना बनाउनुहुन्छ ?
बीमा खरिद गर्दा प्रायः निर्णायक कारक भनेको बीमाशुल्क तपाइँको बचत क्षमताभित्र उपयुक्त हुन्छ कि हुँदैन। त्यसैले एकल बीमाशुल्क र नियमित बीमाशुल्क योजनाहरुबीचको छनौट तपाइँको आम्दानी र बचतका स्रोतहरुमा निर्भर गर्दछ।
के तपाइँसँग न्यून ब्याज आम्दानी हुने बचत खातामा ठूलो रकम निष्क्रिय छ ? वा तपाइँसँग लगानी गर्न पर्याप्त रकम हुन सक्छ। तपाइँ यसलाई अग्रिम एकमुष्ट भुक्तानीमार्फत जीवन बीमा योजना खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ। त्यस्ता भुक्तानीको तरिकाहरुले आकर्षक छुटहरु पनि ल्याउन सक्छन्, जसले गर्दा तपाइँको कुल बीमाशुल्क खर्च घट्छ।
नियमित बीमाशुल्कका साथ समयसँगै तपाइँले तिर्ने कुल बीमाशुल्क रकम एकल बीमाशुल्कबापतको रकमभन्दा बढी हुन सक्छ। यद्यपि, प्रत्येक बीमाशुल्क किस्ता एकल बीमाशुल्क योजनाका लागि चाहिने रकमभन्दा एकदमै सानो अंशमात्र हुन्छ। त्यसैले यदि तपाइँ नियमित आय भएको तलबी कर्मचारी हुनुहुन्छ भने नियमित भुक्तानी मोड तपाइँको लगानीका लागि उपयुक्त हुन सक्छ। त्यसैले कुन योजना छनौट गर्ने भन्ने विषय व्यक्तिपिच्छे फरक हुनसक्छ।
सुविधाः के तपाइँ रकमको जोहो गर्न सक्नुहुन्छ ?
यदि तपाइँ स्वरोजगार वा स्वतन्त्र व्यक्ति हुनुहुन्छ भने तपाइँको आम्दानी तलबी कर्मचारीको तुलनामा फरक हुन सक्छ। त्यसैले तपाइँ समयमै नियमित बीमाशुल्क तिर्न सक्ने आफ्नो क्षमता यकिन गर्न सक्ने अवस्था निश्चित नहुन सक्छ। त्यस अवस्थामा जब तपाइँले रकम प्राप्त गर्नुहुन्छ तब तपाइँ एकल बीमाशुल्क योजना रोजेर आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्न सक्नुहुन्छ।
यदि एकपटकको एकल रकम भुक्तानीको निर्णय लिनुअघि तपाइँलाई अल्पकाल वा दीर्घकालमा कहिले र कस्तो कामका लागि ठूलो रकम आवश्यक पर्न सक्छ भन्नेबारेमा गहिरिएर सोच्नु बुद्धिमानी हुनेछ। निकट भविष्यमै ठूलो रकमको जोहो गर्नुपर्ने अवस्था छ भने नियमित भुक्तानी योजना सुविधाजनक हुन सक्छ।
अर्कोतर्फ नियमित बीमाशुल्क भुक्तानीमा भुक्तानी गर्नुपर्ने मितिहरु सम्झिने झन्झट हुन सक्छ। यदि तपाइँले समयमै आफ्नो बीमाशुल्क तिर्न छुटाउनुभयो भने तपाइँको बीमालेख सक्रिय नहुन सक्छ। एकैचोटि सम्पूर्ण बीमाशुल्क भुक्तानी गर्दा तपाइँलाई यस्ता समस्याबाट मुक्त रहन मद्दत गर्छ।
जोखिमहरुः पुँजी बजारले तपाइँको लगानीलाई कसरी असर गर्छ ?
जीवन बीमा योजनाहरुबाट प्राप्त हुने प्रतिफल जसले पुँजी बजार लगानीसँग जीवन बीमालाई जोड्दछ, बजारको प्रदर्शनमा निर्भर गर्दछ। त्यस्ता योजनाहरुसँग एक पटकको लगानीले तपाइँलाई बजारको अस्थिरतामा पार्छ। तर, नियमित बीमाशुल्क भुक्तानीले विभिन्न बजार अवस्थाहरुमा शेयरहरुको औसत लागतबाट लाभ उठाउन सक्छ। जब बजार सुस्त हुन्छ तब शेयरको मूल्य घट्छ। यसरी तपाइँले एउटै बीमाशुल्कका लागि किन्नुहुने शेयरहरुको संख्या बढ्छ, जसले तपाइँको कुल होल्डिङ बढाउँछ। र, जब बजार पुनः प्राप्ति हुन्छ तब तपाइँले राख्नुभएको शेयरको उच्च मात्राले तपाइँको लगानीको मूल्य बढाउँछ। त्यसकारण एकल बीमाशुल्क र नियमित बीमाशुल्क भुक्तानी तरिकाहरुबीच पछिल्लोले तपाइँलाई पुँजी बजारमा हुने उतारचढावबाट जोगाउँछ।
कर लाभहरुः तपाइँ आफ्नो करयोग्य आय घटाउन सक्नुहुन्छ ?
जीवन बीमाशुल्कले तपाइँलाई आयकर ऐन, २०५८ अन्तर्गत कर छुटका लागि योग्य बनाउँछ। प्रत्येक आर्थिक वर्षमा तपाइँले बीमाशुल्क रुपमा भुक्तानी गरिएको ४० हजार रुपैयाँसम्मको करयोग्य आम्दानीबाट कट्टा दाबी गर्न सक्नुहुन्छ। एकल बीमाशुल्क बीमामा तपाइँले जुन वर्ष बीमा गर्नुहुन्छ, त्यो वर्षका लागि यो लाभ एकपटक मात्र दाबी गर्न सक्नुहुन्छ। नियमित बीमाशुल्क भुक्तानी बीमालेखमा तपाइँले बीमा अवधिभरि प्रत्येक आर्थिक वर्षमा आयकर निर्धारणका क्रममा बीमाशुल्क वापत भुक्तानी गरेको रकममध्ये अधिकतम ४० हजार रुपैयाँसम्म करयोग्य आयको गणना गर्दा कट्टा गराएर कर छुटको लाभ लिन सक्नुहुन्छ।
अतिरिक्त सुविधाहरुः तपाइँ आफ्नो जीवन बीमाको जोखिम विस्तार गर्न सक्नुहुन्छ ?
नियमित भुक्तानी नीतिहरुका साथ तपाइँ थप सुविधा (राइडर)हरुका साथ आफ्नो वित्तीय जोखिम बहनको सीमा बढाउन सक्नुहुन्छ। तपाइँको बीमाशुल्कमा हुने थोरै मात्र रकमले पनि तपाइँको मूल बीमांकभन्दा दोब्बर–तेब्बर रकम अतिरिक्त भुक्तानीको सुविधा प्रदान गर्छ।
उदाहरणका लागि
दुर्घटनाग्रस्त मृत्यु लाभ सुविधाः घातक दुर्घटनाहरुमा अतिरिक्त भुक्तानीहरु प्रदान गर्दछ।
गम्भीर रोग सुविधाः यो सुविधाअन्तर्गत समावेश गरिएको स्वास्थ्य अवस्थाहरुको निदान (पहिचान)मा एकमुष्ट रकम तिर्छ।
यद्यपि, एकल बीमाशुल्क योजनामा यस्ता लाभहरु उपलब्ध नहुन सक्छन्। साथै, नियमित बीमाशुल्क योजनाहरुले प्रायः स्थायी अशक्तताका लागि बीमाशुल्क छुट प्रदान गर्छ। बीमकले भविष्यका सबै बीमाशुल्क आफैँले व्यहोरिदिन्छ। तपाइँको बीमा अवधि समाप्त नभएसम्म तपाइँको जीवनको जोखिम बहन अक्षुण्ण रहन्छ। तर, एकल बीमाशुल्कमा तपाइँले पहिले नै सबै बीमाशुल्क तिरिसक्नुभएको हुन्छ। त्यसैले यस्ता अप्रत्याशित घटनाहरुमा तपाइँले बीमाशुल्क छुटसम्बन्धी कुनै पनि अतिरिक्त लाभहरु प्राप्त गर्न सक्नुहुन्न।
एकल बीमाशुल्क वा नियमित बीमाशुल्क भुक्तानी विकल्पहरुबीचको छनौट तपाइँको बजेट, बचत, भविष्यको आवश्यकता, सहजता, कर योजना र तपाइँको बीमाबाट तपाइँलाई चाहिने लाभहरुमा निर्भर गर्छ। जे भए पनि दुवै खाले जीवन बीमाले तपाइँका प्रियजनहरुलाई अवाञ्छित घटनाहरुका कारणले हुने आर्थिक असुरक्षाबाट जोगाउँछ। तसर्थ, तपाइँले जुनसुकै भुक्तानी मोड छनौट गरे पनि मुख्य कुरा भनेको जीवन बीमाको सुरक्षा कवचभित्र रहनु हो।