काठमाडौं । नेपाली जीवन बीमा कम्पनीले सेवा दिन थालेको दशकौँ भइसक्यो। तर, जीवन बीमा कम्पनीहरुले बजारमा ल्याएका बीमा योजनाहरु हेर्ने हो भने दशकौँ अघि जे थियो, अहिले पनि उही छ। बीच–बीचमा खुलेका नयाँ कम्पनीहरु पनि केवल नामको मात्र नयाँ ठहरिए, बीमा योजनाहरु उही पुरानाकालाई नै निरन्तरता दिए। नेपाली बीमा बजारमा कम्पनीको वर्गीकरण पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता भनेर गरिन्छ र बीमा योजनामा हेर्ने हो भने पहिलोदेखि तेस्रो पुस्तासम्मको योजना हेर्दा १९ र २० को भिन्नता पनि पाइँदैन।
सावधिक, अग्रिम भुक्तानी, सावधिक तथा आजीवन अनि म्यादी जीवन बीमा। नेपाली बीमा बजारमा पाइने बीमा योजनाहरु यत्ति नै हुन्। अझ म्यादी जीवन बीमा त बेचनलाई भन्दा पनि देखाउनका लागिमात्र हो। नेपाली बीमा कम्पनीहरु यही ३–४ थरी बीमा योजनालाई ‘खाए खा नखाए घिच’ भने जसरी ग्राहकलाई पसकिरहेका छन्। नेपालका कम्पनीले यी बीमा योजनालाई मात्र यसरी आत्मासाथ गरिसकेकी बीमा प्राधिकरणले बनाउने नियमहरु र जारी गर्ने निर्देशनहरुमा पनि यिनै योजनाहरुमात्र समेटिन्छन्। बीमा कम्पनीले प्राधिकरणलाई पेस गर्न पर्ने व्यापार, वित्तीय, पुनर्बीमा, बीमांकीयजस्ता विवरणको ढाँचा होस् अथवा अभिकर्ताको कमिसनको ढाँचा यिनै ४ थरी योजनाका लागि हुने गरी मात्र जारी गरिएको हुन्छ। यसरी हेर्दा नियमक निकाय आफैँले अरु पनि बीमा योजना हुन्छ भनेर परिकल्पना गरेको देखिँदैन।
अझै पनि उही पुराना योजनाहरु
विश्व बीमा बजारमा जीवन बीमाअन्तर्गत थुप्रै योजना हुन्छन्। बीमा जारी भइसकेपछि पनि बीमितको आवश्यकताअनुसार सुविधा हेरेफेर गर्न मिल्ने लचकता भएको (युनिभर्सल) बीमा योजना होस् या शेयर बजारको घटबढमा आधारित लगानीसहितको युनिट लिंक्ड बीमा योजना, राम्रो आम्दानी भएको बेला पैसा जम्मा गरेरपछि वार्षिक भुक्तानी लिन मिल्ने एन्युटी प्लान होस् कि बुढेशकालको आम्दानीका निम्ति गरिने पेन्सनसहितको बीमा योजना, यस्ता प्रकृतिका योजनाहरु त जीवन बीमामा अपरिहार्यजस्तै मानिने योजनाहरु हुन्। तर, यस्ता चर्चित योजनाहरु पनि नेपालमा अहिलेसम्म उपलब्ध हुन सकेको छैन। यस्ता प्रसिद्ध योजनासमेत नभएको बजारमा ग्राहकको मागलाई उचित अध्ययन गरेर तयार गरिने परिष्कृत योजनाहरु त कल्पनासमेत गर्न सकिन्न।
नेपाली बीमा बजारमा नयाँ बीमा योजनाहरु नभित्रिनुका थुप्रै कारण छन्। जसमध्ये मुख्य कारणहरुको तल चर्चा गर्ने कोसिस गरिएको छ।
ग्राहकको आवश्यकताको बेवास्ता
नेपाली बीमा कम्पनीहरुले अझै पनि बीमा योजनाहरु ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर ल्याएको देखिँदैन। अरुको योजनाको नक्कल गरेर आफ्नो योजना तयार गर्ने नेपाली बीमा कम्पनीहरुको पुरानै रोग हो। पहिलो पुस्ताका कम्पनीले भारतीय बजारको नक्कल गरेर जारी गरेका बीमा योजनाहरु अन्य पुस्ताका कम्पनीले नक्कल गरेर जारी गरेका छन्। जसले अहिलेसम्म पनि नेपाली बीमाको बजार धानिरहेको छ। भारतीय बजारको नक्कल नै सही त्यहाँको नयाँ योजनाहरुको पनि नक्कल गरे त यहाँ पनि केही ग्राहकले केही नयाँ स्वाद चाख्न पाउँथे कि ?
कुनै पनि उत्पादन बजारमा ल्याउनुभन्दा अगाडि त्यसको बजार अध्ययन गरी ग्राहकको माग सम्बोधन हुने गरी ल्याइन्छ। जुन कुरा कम्पनीको अनुसन्धान तथा उत्पादन (रिसर्च एन्ड डेभलपमेन्ट) विभागले गर्छ। तर, हासोको कुरा नेपालका प्रायः कम्पनीको यो विभाग नै हुँदैन। अरुले राम्रो व्यापार गरिरहेको योजनाबारे जानकारी लिएर नक्कल गर्ने प्रवृत्ति नै बीमा कम्पनीको अनुसन्धान र उत्पादन मान्नुपर्ने स्थिति छ।
अभिकर्ताको ‘सुगा रटाइ’
वर्षौंसम्म त्यही ३–४ थरी बीमा योजनामा मात्र सीमित रहँदा अभिकर्ताको ज्ञान पनि त्यतिमै सीमित भएको पाइन्छ। जीवन बीमाको प्रकार भनेर बीमा अभिकर्ताले त्यही बीमा योजनाहरुको प्रशिक्षण लिए, तिनै योजना बेचे अनि नयाँ आउने अभिकर्तालाई पनि त्यही प्रशिक्षण दिए। बीमा योजनाहरुको विकासको अध्ययन र प्रशिक्षणले निरन्तरता नपाउँदा अलिकति परिमार्जित बीमा योजना आउँदा पनि अभिकर्ता उक्त योजना बुझ्न र बुझाउन असमर्थ हुने अवस्थाको सिर्जना भयो। अभिकर्ता उही आफूले सुरुमा रटेको बीमा बुझाउँदाको सहजताभन्दा माथि उठ्न नसक्दा कम्पनीले केही नयाँ प्रयोग गर्न खोज्दासमेत अभिकर्ताको असहयोगले पूर्ण असफल भएका उदाहरणहरु बजारमा छन्। नेपाली बीमा बजारमा अहिलेको अवस्थासम्म पनि बीमा बेच्ने माध्यममा बीमा अभिकर्ता निर्विकल्पजस्तै भएको हुँदा बीमा अभिकर्ताले नचाहने बित्तिकै नयाँ प्रयोग लागू गर्ने अन्य विकल्प रहँदैन।
अन्तः बीमाको विकासबारे अद्यावधिक हुने, बीमा योजनाहरुलगायतका कुरामा वृद्धि विकास गर्ने, ग्राहकको वास्तविक आवश्यकताको खोजी गर्नेभन्दा पनि उही पुरानो बीमाको ज्ञान फलाक्ने र नयाँ प्रयोग फिटिकै गर्न नचाहने अभिकर्ताको यथास्थितिवादी मानसिकताले गर्दा बीमा कम्पनीहरु परम्परागत बीमा योजनाहरुभन्दा केही भिन्न सुविधा भएको योजनाहरु बजारमा प्रयोग गर्ने झन्झट नै गर्दैनन्।
नियमक निकायको उदासीनता
बीमा बजारको सुदृढीकरणमा पक्कै पनि नियामक निकायको विषेश भूमिका हुन्छ। बीमा क्षेत्रलाई विश्व बजारमा डोर्याउने दायित्व पनि नियमक निकायकै हो। तर, बीमा कम्पनीहरुलाई ग्राहक केन्द्रित बीमा योजना ल्याउन दबाब दिनुपर्ने नियमक निकाय उल्टै बीमा कम्पनीले केही नयाँ कुरा गर्न खोज्दासमेत नियमको अभाव देखाउँदै बीमा कम्पनीलाई उक्त योजनामा स्वीकृति दिन महिनौँ लगाउँछ। बीमा कम्पनीले नवीन प्रयोग गर्दा नियमकले उक्त योजना बजारमा ल्याउन सहजीकारणका लागि तदारुकता देखाउँदै हौसला प्रदान गर्नुपर्ने सट्टा अचाकली ढिला सुस्ती गर्दिने हुँदा बीमा कम्पनी उल्टै निरुत्साहित बन्न पुग्छन्।
ग्राहकमा वित्तीय साक्षरताको कमी
बीमा योजनाहरु जस्तो बनाए पनि आखिरीमा बीमितलाई नै बेच्ने हो। नेपालको परिपेक्षमा बीमालेखहरु ग्राहकको मागले भन्दा पनि अभिकर्ताले ग्राहकलाई बीमा बुझाइ जीवन बीमा आवश्यक छ है भन्ने कुरा मनाएर बेच्नुपर्ने स्थिति छ। यसरी ग्राहकले सामान्य बीमाबारे नै नबुझेको अवस्थामा युनिभर्सल, युनिट लिंक्डलगायत अन्य परिष्कृत बीमाबारे सोधखोज गर्ने र इच्छा व्यक्त गर्ने कुरै भएन। भिन्न–भिन्न आवश्यकता भएका ग्राहकलाई एउटै टोकरीमा राखेर जबरजस्ती एकै प्रकारको बीमा बेच्न खोज्नुभन्दा पनि ग्राहकलाई बीमाबारे सही जानकारी दिएर ग्राहकको आवश्यकताअनुसारको बीमा प्रस्ताव गर्नु बीमा कम्पनी र बीमा अभिकर्ताको दायित्व हो। तर, उनीहरुले यसतर्फ ध्यान दिएको देखिँदैन।
बीमा व्यसायलाई थप आकर्षक बनाउन सबै सरोकारवालाले ग्राहकको आवश्यकताअनुसारको नवीनतम बीमा योजनातर्फ सोचन जरुरी देखिन्छ। उही पुरानो बाजेका पालाका योजनामा मात्र अड्केर बस्ने हो भने बीमा क्षेत्र अझ उधो गतितिर लाग्ने निश्चितप्रायः छ।