– सुदर्शन बस्नेत
जीवनका हरेक क्रियाकलापसँगै दैनिक रुपमा विपत्ति र जोखिमका अनेकौँ सम्भावना व्याप्त हुन्छन्। त्यस्ता जोखिमबाट हुन सक्ने वित्तीय नोक्सानीको रक्षावरणका लागि बीमित आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो।
आर्थिक रुपले पिछाडिएका विपन्न तथा न्यून आय भएका सीमान्तकृत समुदायका लागि गरिने बीमालाई लघु बीमा भनिन्छ। न्यून आय भई आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागि न्यूनतम बीमाशुल्क लिएर गरिने बीमाहरु लघु बीमाअन्तर्गत पर्दछन्। लघु बीमा निर्देशिका, २०७९ अनुसार लघु बीमा भन्नाले नेपाल राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायलाई लक्षित गरी जारी गरिएका बीमालेखलाई सम्झनुपर्दछ। निर्देशिकाले लघु बीमालाई जीवन लघु बीमा र निर्जीवन लघु बीमा गरी दुई भागमा विभाजन गर्ने गरेको छ। लघु निर्जीवन बीमाअन्र्तगत लघु स्वास्थ्य बीमा, पशुधन लघु बीमा, बाली लघु बीमा, दुर्घटना लघु बीमा, घातक रोग लघु बीमा, ग्राहस्थ लघु बीमा, व्यवसाय लघु बीमा, मोटर लघु बीमा, इन्जिनियरिङ लघु बीमा, दायित्व तथा मौद्रिक क्षति लघु बीमाजस्ता बीमालेख पर्दछन् भने जीवन लघु बीमाअन्तर्गत आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा पर्दछन्। जुन ग्रामीण क्षेत्रका जोखिमहरुसँग प्रत्यक्ष जोडिएका हुन्छन्।
लघु बीमा खासगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने तथा न्यून आय भएका परिवारका दैनिक जीवनमा आइपर्ने जोखिमहरुसँग कसरी प्रत्यक्ष रुपमा लघु बीमामार्फत सुरक्षित गर्न सकिन्छ भन्ने कुरामा समेटिएको हुन्छ। यसलाई मानिसहरुले कुनै विशेष जोखिमबाट आफ्नो सुरक्षाका लागि खोजिने क्षणिक आवश्यकता समाधानका लागि उपयुक्त विशेष बीमा सेवाका रुपमा हेर्नु जरुरी छ। जुन आवश्यकअनुसार स–साना प्याकेजमा आमजनमानसको आवश्यकता चाहनाअनुसार बीमाको सिद्धान्तअनुसार सहजै बीमा पोलिसी खरिद गर्न सकोस्। जस्तै– मौसमी रुपमा फैलने स्वास्थ्य समस्या डेंगु, हैजा, कालाजार आदि सोको औषधोपचार बीमा, जोखिमपूर्ण यात्राका लागि, सवारीसाधनमा यात्रा गर्दाको अवधिभरका लागि दुर्घटना बीमा, जगंली जनावरको क्षतिबाट हुने सक्ने क्षतिविरुद्ध बीमा, मृत्युपश्चात काजकिरिया गर्नका लागि गरिने बीमा आदि यस लघु बीमाअन्तर्गत गराउन सकिन्छ।
लघु बीमाको मुख्य विशेषता
- सामूहिक लघु बीमालेख जारी गर्न सकिने,
- सरल र सहज पहुँच हुने र स्पष्ट रक्षावरण,
- बीमा दाबी प्रक्रिया सरल र छिटो हुने,
- थोरै बीमा शुल्कमा धेरै रक्षावरण समेटिएको हुने,
- कम बीमांक कायम गरी बीमा गर्न सकिने,
- सरल शब्दाबली तथा थोरै सर्तका आधारमा गरिने बीमा,
- लक्षित वर्गलाई आइपर्न सक्ने जोखिमहरुको रक्षावरण प्रदान गर्दछ,
- सामाजिक उत्तरदायित्वका रुपमा समेत प्रस्तुत गरिने,
- बीमांक रकम तोकिएको र बीमितले यसको महत्व मूल्य बुझ्ने
- भरोसा गर्ने र बीमांकी कार्य गर्दा सस्तो लागतमा गर्न सकिने।
भविष्यमा बीमा बजार र बीमा गर्ने संस्कारको समाज निर्माण गर्नका लागि लघु बीमा एउटा भरपर्दो र प्रभावकारी साधनको विकास गरेर आमजनमानसमा बीमाको पहुँच वृद्धि गरी बीमालेख खरिद गर्ने बानी बसाल्न मद्दत गरी यो निदान्त समाजिक सुरक्षाको एउटा बलियो आधार बनेको हुन्छ। लघु बीमालेखको बीमांक रकम तुलनात्मक रुपमा न्यून हुन्छ भने लघु बीमाबाट मानिसलाई बीमाप्रति जागरुक गराई जनचेतना अभिवृद्धि गर्नुका साथै बीमा गर्न प्रेरित गर्नेजस्ता कार्यसमेत गर्ने अपेक्षा गरिएको हुन्छ। परिवारका दैनिक जीवनमा आइपर्ने जोखिमहरुसँग कसरी प्रत्यक्ष रुपमा जोडिएको हुन्छ। सो कुराको विश्लेषण गरिएको हुँदा यस बीमालेखले समेटिएका जोखम निम्नानुसार छन्ः
- आर्थिक पारिवारिक स्थायित्व र विचलनबाट सुरक्षा,
- दैवीप्रकोप (बाढी, पहिरो, डुबान, खडेरी, भूकम्प, चट्याङ, आदि) बाट घर, बाली तथा पशुधनमा पर्ने क्षति,
- दुर्घटना वा अन्य कारणबाट हुने मृत्यु, अंगभंग वा चोटपटक,
- अग्नि, चोरी तथा अन्य कारणबाट व्यवसाय तथा सम्पत्तिको क्षति
- रोग तथा दुर्घटनाबाट पालेको चौपाया वा कुखुरा आदिकोे क्षति,
- कीरा, रोग, दैवीप्रकोप, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणबाट बालीमा हुने क्षति,
- मानवीय तथा दैवीप्रकोपबाट हुने दूरगामी क्षति,
- घातक रोग तथा औषधोचारको बीमा।
यिनै कुरालाई मध्यनगर गरी लघु बीमामार्फत स्वास्थ्य बीमामा आबद्ध भइसकेपछि ‘रोग लाग्न नदिने मेरो जिम्मेवारी, रोग लागिहालेमा तोकिएको सीमासम्मको स्वास्थ्योपचारमा आर्थिक सहजीकरण गर्ने कम्पनीको जिम्मेवारी’ भन्ने कुराको सुनिश्चितता लघु बीमाअन्तर्गतका बीमालेखमार्फत गरिनुपर्छ। यसबाट जोखिमको समयमा वीमितलाई खर्चको तनावबाट मुक्ति दिई एकोहोरो स्वस्थ्य सुधारमा केन्द्रित हुन सहयोग पुग्छ। जुन लक्षित वर्गका लागि वास्तविक जोखिम व्यवस्थापन हो। न्यून आय भएका व्यक्तिलाई लक्षित गरी नियमनकारी निकाय; नेपाल बीमा प्राधिकरणले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई अनिवार्य रुपमा लघु बीमालेख जारी गर्नुपर्ने प्रावधान राखी नियमन गरिरहेको भए पनि अपेक्षित उपलब्धि हासिल नभएको तथ्यांकका आधारमा लघु बीमाको कार्यमात्र गर्न पाउने गरी गत वर्षबाट ७ वटा लघु बीमा कम्पनीलाई अनुमति प्रदान गरिएको छ। जसमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी ४ वटा लघु निर्जीवन बीमा कम्पनी छनु भने गार्डियन माइक्रो लाईफ, क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी ३ वटा लघु जीवन बीमा कम्पनी छन्। यसका साथै यी कम्पनीलाई ७ वटै प्रदेशमा विभाजन गरी छुट्टाछुट्टै प्रदेशमा मुख्य कार्यालय रहने गरी सञ्चालन अनुमति प्रदान गरिएको छ। सोहीबमोजिम ७ वटै लघु बीमा कम्पनीले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन्। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार यी कम्पनीको २०८० चैत मसान्तसम्म हासिल गरेको प्रगति यस प्रकार रहेको छः
माथिको तथ्यांकलाई हेर्दा हालै खोलिएका कम्पनीहरुको लघु बीमा व्यवसाय बढ्दै गइरहेको पाइन्छ। यद्यपि अझ ग्रामीण भेगसम्म लघु बीमाको शाखा विस्तारसँगै सेवा प्रवाहलाई स्थानीयस्तरमा जोड्न सके लघु बीमाको प्रभावकारितासँगै यसको आवश्यकता आमनागरिकमा पर्ने र बीमाको विश्वास र महत्व बढ्ने थियो।
लघु बीमाको महत्व
नेपालको सरकारको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा स्थानीय तहसम्म लघु बीमा पुर्याउने, १५औँ योजनाले बीमाको दायरा खुकुलो पार्दै ग्रामीण क्षेत्रसँग लघु बीमा योजनाका माध्यमबाट बीमा सेवाको विस्तार गर्ने, श्रम ऐन, २०७४ मा हरेक श्रमजीवी नागरिकलाई जीवन बीमामार्फत आर्थिक सुरक्षणको सुनिश्चता गर्दे बीमाको विस्तार गर्ने कानुनी व्यवस्थासँगै लघु बीमाको महत्व झनै गहन देखिन्छ।
बीमा शब्दले जोखिम लिने र जोखिम हस्तान्तरण गर्ने बीचको कानुनी करार वा सम्झौतालाई जनाउँदछ भने वर्तमान समयमा सबैभन्दा जोखिममा को छ ? भन्ने प्रश्नको उत्तर नै निश्चय रुपमा न्यून आय भएका र सिमान्तकृत वर्ग नै हुन भन्ने बुझिन्छ। त्यस्ता समुदायको जोखिमको वहन गर्ने दिगो तथा उपयुक्त माध्यमका रुपमा बीमा एक निर्विकल्प माध्यम हो। उनीहरुले आफनो जोखिम हस्तान्तरण गर्नका लागि जीवन बीमा, निर्जीवन बीमा तथा लघु बीमा कम्पनीसँग सम्झौता गर्न सक्छन्। लक्षित वर्गको बचत गर्ने क्षमता कमजोर र आयस्रोत अनियमित भएका कारण सोचेअनुरुप जीवन बीमामा आवद्ध हुन सकेका छैनन्, आबद्ध भए पनि आवश्यकताअनुसारको बीमा लिएका छैनन् र आवश्यकतानुसार लिएकाहरुले पनि विभिन्न कारणले निरन्तरता दिन सकेका हुँदैनन। यस्ता समुदायमा जीवन बीमामा बचत गर्ने कि साँझ–बिहानको छाक टार्ने भन्नेसम्मका समस्याहरु देखा पर्न सक्छन्।
उपरोक्त समुदायका लागि लागतका हिसाबले, सम्झौता गर्ने प्रक्रियाका हिसाबले, क्षतिपूर्ति प्राप्त गर्ने माध्यमका हिसाबले, बुझ्न सरल र सहजताका हिसाबले तथा उपलब्धता र आफनो जोखिमसँग मिल्ने बीमालेखका हिसाबले एकमात्र विकल्प लघु बीमा हो।यद्यपि हाल प्रचलनमा रहेका लघु बीमालेखमा यसको वितरण प्रणालीमा र दाबी प्रक्रियाका सवालमा समयानुकूल ब्यापक सुधारको आवश्यकता देखिन्छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९।८०) मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देखाएको छ। जसमा कृषि क्षेत्रमा लाग्नेहरु सबैभन्दा बढी अर्थात् ३७.८१ प्रतिशत गरिब रहेको कुरा पनि उल्लेख गरिएको छ। यसरी गरिबीको रेखामुनि रहेका समुदायको जीवनस्तर उकास्न समुदाय लक्षित गरिबी निवारणका कार्यक्रमहरु अपरिहार्य हुन्छन् भने लघु बीमाले यस्ता समुदायका लागि गरिबी निवारणको क्षेत्रमा एक अस्त्रका रुपमा कार्य गर्दछ। यसबाट पनि ग्रामीण क्षेत्रमा बसोबास गरी मध्यम तथा न्यूनस्तरको जीवन यापन गरिरहेका व्यक्ति तथा समुदायका लागी लघु बीमाको अपरिहार्यता प्रस्ट हुन्छ। यस्ता समुदायमा कुनै अप्रिय घटना घट्दा वा क्षति हुँदा क्षति व्यवस्थापन गर्ने क्षमता कमजोर हुन्छ भने क्षतिपूर्तिको दिगो र विश्वसनिय माध्यम लघु बीमा नै हो।
एकातर्फ यस्ता समुदायमा आर्थिक क्षति उत्पन्न हुदा स्थानीय निकाय वा संघसंस्थासँग गुहार माग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ भने अर्कोतर्फ त्यसको न्यूनीकरणका लागि पनि लघु बीमा एक निर्विकल्प माध्यमका रुपमा कार्य गर्दछ। लघु बीमा कम्पनीहरुले कृषकहरुलाई केन्द्रमा राखी उनीहरुको आवश्यकता तथा क्षमताका आधारमा पशुधन बीमा, बाली बीमालगायत अन्य नगदेबालीलाई समेत समेट्ने गरी बीमाले जारी गर्दछन्। यसबाट मुख्य गरिबी रहेको क्षेत्र तथा समुदायमा उपस्थिती जनाई लक्षित बर्गको जोखिम बहन गर्ने गर्दछ। गरिबीको रेखामुनि रहेको वर्ग यसै पनि सामाजिक तथा भौगोलिक रुपमा कमजोर हुने भएका कारण यस्ता वर्गमा ऋण ग्रस्तता पनि स्वाभाविक रुपमा हुन्छ नै।
कसैले ऋण लिएर खेती गरेको वा पशुपालन गरेको छ र उसको बालीनालीमा क्षति पुग्यो वा पशुचौपायलाई केही भयो भने एकातिर जीविकोपार्जन बन्द हुन सक्छ भने अर्कोतिर ऋण फिर्ता गर्न नसक्ने अवस्था सृजना हुन सक्छ। यस्तो अवस्थामा गरिब झन् झन् गरिब भई आर्थिक अवस्था दयनीय हुन सक्छ। यस्ता समुदायलाई लघु बीमामा आबद्ध गर्न सकेमा उनीहरुका लागि लघु बीमाले विपत्तिको सम्पत्तिका रुपमा कार्य गर्छ तथा आर्थिक र सामाजिक उत्थान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यसका अतिरिक्त लघु बीमाको महत्वलाई निम्न बुँदाद्वारा स्पष्ट पार्न सकिन्छ
- बीमामा पहुँच वृद्धि गर्न,
- न्यून आय भएका तथा पिछाडिएका सीमान्तकृत वर्गको जीवन तथा सम्पत्तिको जोखिमविरुद आर्थिक सुरक्षा प्रदान गर्दछ,
- बचत र वित्तीय सुरक्षाको आधार प्रदान गर्दछ,
- स्वास्थ्य, शिक्षालगायत आवश्यक सेवामा पहुृँच विस्तार गर्न सहयोगी हुन्छ,
- बीमाको दायरा विस्तार गरी बीमामा समोविशता कायम आउँछ,
- सही अर्थमा बीमाको महत्व प्रस्ट पार्न,
- स्थानीयस्तरबाट नै सरल र सहज रुपमा बीमाको सेवा लिन,
- विपत्तिको सम्पत्तिका रुपमा सुविधा लिन,
- सबैका लागि बीमा भन्ने नारालाई सार्थकता दिन,
- बीमाशुल्क खर्च नभई लगानी हो भन्ने धारणाको विकास गर्न,
- बीमाप्रतिको सचेतना वृद्धि गर्न,
- लक्षित समुदायको दैनिक जीवनमा पर्न सक्ने सम्भावित जोखिमकहरुमा आर्थिक सुरक्षा प्रदान गर्न,
लघु बीमामा देखिएका केही कमजोर पक्ष निम्नानुसार छन्
- असहज वितरण प्रक्रिया
- दाबी प्रक्रियामा अस्पष्टता
- लक्षित वर्गसम्म पुग्न नसकेको
- सीमित बीमालेख
- स्थानीय निकायको न्यून संलग्नता
- राज्यको न्यून प्राथमिकता
अस्वस्थ प्रतिस्पर्धा
माथि उल्लेखित बुँदालाई अध्ययन विश्लेषण गर्दा लघु बीमाको महत्व र योगदान धेरै रहे पनि नेपालमा हाल इजाजत दिएका कम्पनीहरुलाई स्थानीय दूरदराजसम्म शाखा विस्तार गर्नुपर्नेमा सहर केन्द्रित रहेर बीमा व्यवसाय गर्न अभिप्रेरित रहनु रहेको छ। साथै, साबिकका बीमा कम्पनीहरुको बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा गरी बीमा व्यवसाय गर्नु, नयाँ अध्ययन तथा अनुसान्धानअनुसार जनसमुदाय र आवश्यकताअनुसार फरक–फरक बीमा पोलिसी ल्याउन नसक्नुजस्ता कारणले हाल स्थापित कम्पनीहरुको लघु क्षेत्रमा प्रभावकारी ढंगले काम नगरेको हो कि भन्ने देखिन्छ।
यसका साथै लघु बीमाको पहुँच वृद्धि गर्न नेपाल सरकार, नियमनकारी निकाय, बीमा कम्पनी तथा आवद्धसँग संस्थाहरुले निम्नानुसारका कार्यहरु गर्नुपर्ने देखिन्छ
- नियमनकारी निकायले जसरी बीमाको बजारसँगै पहुँच अभिवृद्धिका लागि लघु बीमा कम्पनीको परिकल्पना गरियो, त्यसरी नै यसको कार्यान्यवन पक्षलाई प्रभावकारी बनाउने पर्दछ।
- लघु बीमाको विस्तार स्थानीय निकाय सग अनिवार्य रुपमा क्षेत्र तोकिनुपर्दछ।
- लघु बीमा कम्पनीले जीवन तथा निर्जीवन बीमा कम्पनीले निरन्तर गरिरहेको बीमा व्यवसायमा प्रतिस्पर्धा गर्नुभन्दा नयाँ–नयाँ क्षेत्रमा आफ्नो बीमा व्यवसाय गर्ने नीति ल्याउनुपर्दछ।
- लघु बीमालेख बिक्री गरिरहेका अभिकर्ता तथा संस्थाहरुलाई प्रोत्साहन गर्ने।
- लघु बीमामा लक्षित वर्गको पहुँच वृद्धि गर्न ब्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
- लघु बीमा कम्पनीलाई नियमन र नियन्त्रण गर्न स्थानीय निकायलाई थप अधिकार प्रत्यायोजन गर्ने।
- लघु बीमा कम्पनी र स्थानीय निकायबीच आवश्यक सहकार्यको व्यवस्था मिलाई लघु बीमाप्रति अपनत्व लिने नीतिगत ब्यवस्था गर्ने। लघु बीमाअन्तर्गत बीमालेख जारी गर्ने तथा दाबी प्रक्रियालाई आधुनिक प्रविधिमैत्री बनाउने।
- आफ्नो घरपरिवारमा पनि विभिन्न वार्षिकोत्सव मनाए जसरी बीमालेख नवीकरण गर्ने दिनलाई पनि एक उत्सवका रुपमा मनाउने संस्कृतिको विकास गर्ने।
- बीमालेख किन्ने बानीको विकास गर्ने। ‘बीमा’ खर्च होइन लगानी हो भन्ने चेतनाको विकास गर्ने।
- लघु बीमामा सञ्चालन खर्च बढी हुने भएका कारण राज्य तथा नियमनकारी निकायबाट सोहीबमोजिम हेरिनुपर्ने। यसका लागि कर छुट, सहुलियत वा यस्तै खालका प्याकेज घोषणा गरिनुपर्ने।
- बाली तथा पशुधन बीमाका लागि स्थानीयस्तरमा कार्यरत सरकारी सेवाका प्राविधिकहरुमार्फत निःशुल्क प्राविधिक कार्यका लागि आवश्यक समन्वय गरिनुपर्ने।
- विपतको बेला सरकारको बाटो हेर्नुभन्दा लघु बीमालाई अनिवार्य गर्नुपर्दछ।
- लघु बीमा ऐन, २०७९ मा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने।
सुझाब तथा निष्कर्ष
लघु बीमा भन्नेबित्तिकै हामी न्युन आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा व्यक्तिका लागि विशेष रुपमा लक्षित बीमा सेवा भनेर बुझ्छौँ। वास्तवमा लघु बीमाको प्रमुख विशेषता यही रहे पनि हालको समय परिस्थतिमा लघु बीमाको धारणामा परिवर्तन गर्न आवश्यक देखिन्छ। यसले विपन्न वर्गका लागिमात्र नभई समाजका सवै वर्गको विशेष आवश्यकता पुरा गर्ने बीमाको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिन्छ। लघु बीमाको बीमा शूल्क न्युन हुने भएकोले गर्दा यसको स्थायित्वका लागि डिजिटल माध्यम वा स्थानीय सहकारी वा लघु वित्तीय संस्था वा महिला समूहसँग सहकार्य गरी बीमा सेवालाई प्रभावकारी बनाउनुपर्दछ। जसमा समाजको आमजनमानसको आवश्यकतासँगै सहजै किन्न सकिने र नोक्सानी हुँदा समयमै दाबी भुक्तानी हुने गरी प्रणालीको विकास गर्नुपर्दछ। लघु बीमालाई ग्रामीण तथा सहरी क्षेत्रमा बीमा गर्ने संस्कारको विकास गरी भविष्यमा बीमा उन्मुख समाज निर्माण गर्न मद्दत गर्दछ। जसले देशको बलियो, सुरक्षित तथा दिगो अर्थतन्त्र निमार्णमा टेवा पुर्याउँदछ।
अन्य बीमाले समेट्न नसकेका, भौगोलिक आर्थिक सामाजिक कारणले पछाडि परेका, आयस्तर कमजोर भएका, स–साना पेसा व्यवसाय सञ्चालन गरिरहेका वर्ग तथा समुदायका लागि लघु बीमा निर्विकल्पका रुपमा रहेको भए पनि लघु बीमाको कार्यान्वयन पक्षमा केही अप्ठ्यारा रहिआएका छन्। त्यस्ता वर्ग तथा समुदायमा तुलनात्मक रुपमा शैक्षिकस्तर कमजोर हुने र आधुनिक प्रविधिसँग सहज पहुँच नभएका कारण बीमाप्रति सचेतनाको कमी भएर लक्ष्यअनुसार आबद्ध भएको देखिँदैन। उक्त कुरालाई समेत मध्यनजर गरी उनीहरुका लागि सरल र सहज बीमालेख जारी गर्ने तथा दाबी प्रक्रियालाई पनि सहज बनाउनुपर्ने देखिन्छ। यसका साथै हाल सञ्चालित पूर्ण रुपमा प्रविधिमैत्री बन्न नसकेको यस्ता कमी–कमजोरीलाई सम्बोधन गरी लक्षित वर्गलाई लघु बीमामा आबद्ध गरी उनीहरुको दैनिक जीवनमा आउन सक्ने जोखिम ब्यवस्थापन गर्नु आजको आवश्यकता हो।
हाम्रा जीवनमा पनि विभिन्न जोखिमहरु जतिबेला पनि उत्पन्न हुन सक्छन् भन्ने स्वीकार गरीे जीवन जिउँदा बीमाको सुरक्षा लिनु अनिवार्य छ भनेर सचेत बनाई लघु बीमामार्फत बीमा गर्ने बानीको विकास गरी विस्तारै अन्य ठूला बीमा कम्पनीकोे दायराभित्र ल्याउन सकेमात्र उनीहरुको जीवनस्तर उकास्न सकिन्छ। आफ्नै वरपर छरछिमेकमा सञ्चालित गैरनाफामूलक संघसंस्था, वित्तीय कारोबार गर्ने संस्था, पसल वा काउन्टरबाट बीमालेख किन्न तथा दाबी गर्न मिल्ने गरी व्यवस्था मिलाउने हो भने अझै बीमाको दायराभन्दा बाहिर रहेका करिब ५७ प्रतिशत जनसंख्यालाई बीमामा पहुँच पुर्याउने माध्यम लघु बीमा बन्न सक्छ। जसले सहरी क्षेत्रमा अन्य बीमाले समेट्न नसकेका वर्ग समुदाय, क्षेत्र आदिमा अध्ययन गरी पुग्ने योजना र ग्रामीण दूरदराजसम्म प्रत्येक नागरिकको पहुँचमा हुने गरी लघु बीमाका व्यवसाय जोड्न सके नेपाल सरकारले राखेको बीमा नीति, प्राधिकरणको दीर्घकालीन सोच र बीमा कम्पनीको बीमा बजार विस्तार भई समग्र बीमा क्षेत्र चलायमान बनी आमनागरिकको आर्थिक, समाजिक सुरक्षाको प्रत्याभुक्ति हुने थियो।
(लेखक बस्नेत राष्ट्रिय बीमा कम्पनीका नायब व्यवस्थापक हुन्)