IME Life New

नृत्य सिकाउने कृष्ण अभिकर्ता बनेर बीमा बुझाउँदै, भन्छन्ः राम्रो कमाउन विदेश जानु पर्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृष्ण श्रेष्ठ जीवन बीमा क्षेत्रमा सबैले चिन्ने गरेको नाम हो। कृष्ण पेसाले बीमा अभिकर्ता हुन्। उनी २०४२ सालमा काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ नैकापमा जन्मिएका हुन्। कृष्णको बाल्यकाल कठिन नै रह्यो। उनका बुवा पेसाले ड्राइभर हुन् भने आमा गृहणी। अथाह अभावलाई झल्दै आफ्नो बाल्यकाल बिताएका कृष्णको जीवनले भने अहिले सफलताको गति लिएको छ। उनले प्लसटुसम्मको अध्ययन गरेका छन्।

सानैबाट दुःखमा हुर्किएका कृष्णले अभाव, खुसी, सुखी, दुःखी र हाँसोलाई नजिकैबाट नियाल्ने मौका पाए। ‘दुःख पनि एक किसिमको सकारात्मक पाठ नै हो’, कृष्णले भने, ‘जीवनमा जे भोगिन्छ, त्यसबाट हामीले पाठ सिक्छौँ। दुःख भोग्यौँ भने हामी परिवक्व हुन्छौँ, दुःखलाई फेस गर्न सक्छौँ र आगामी चुनौतीसँग लडेर अगाडि बढ्न सक्छौँ। तर, सुख भयो भने जीवन यस्तै रहेछ, जसरी पनि चल्छ भनेर छोड्छौँ होला। त्यही भएर दुःख नै हाम्रो जिन्दगी बदल्ने वा अगाडि बढ्ने अवसर हो।’

Esewa
Crest

कृष्ण हाल सिटिजन लाइफको मैतीदेवी शाखामा एजेन्सी म्यानेजरको भूमिकामा छन्। उनी आफ्ना साथीभाइ, छरछिमेकी, परिवारबाहेक बीमा गर्न अन्जान व्यक्तिसम्म पुग्छन्। उनी घुम्न वा अन्य काम पुगेको ठाउँमा पनि बीमाकै कुरा गर्छन्। मानिसले बीमा गरुन् वा नगरुन् उनको उद्देश्य भनेकै बीमा बुझाउने हुन्छ। उनी भन्छन्, ‘म जुन ठाउँमा गए पनि बीमाबारे ज्ञान दिएकै हुन्छु। अनि भन्छु पनि तपाइँहरुले बीमा गर्नु नै पर्छ भन्ने छैन तर बीमा बुझ्न चाहिँ जरुरी छ।’

बीमा क्षेत्रमा प्रवेश गर्नुअघि कृष्णले स्कुलहरुमा कल्चरल नृत्य सिकाउने गर्थे। साथै, उनले इलेक्ट्रिोनिक पसल तथा रेस्टुरेन्ट व्यवसाय गरेका थिए। उनले अहिले पनि रेस्टुरेन्ट व्यवसाय गरिहेका छन्। तर, कृष्णले अहिले आफ्नो रेस्टुरेन्ट व्यवसायमा मान्छे राखेर आफू भने पूरै समय बीमा क्षेत्रलाई नै दिँदै आइरहेका छन्।

आफ्नै रेस्टुरेन्ट व्यवसायमा जम्दै आइरहेका कृष्णलाई सम्झना परियारले बीमा गराउने क्रममा बीमा क्षेत्रमा लाग्न प्रेरित गरिन्। कृष्णले पनि आफ्नो बीमा गराउने क्रममा बीमा अभिकर्ता पेसाप्रति चासो राखे। अन्ततः कृष्णले २०७७ सालमा सिटिजन लाइफबाट बीमा अभिकर्ताको लाइसेन्स लिएर काम गर्न थाले।

अभिकर्ताको लाइसेन्स लिएपछि कृष्णले पहिलो बीमा आफ्नै बहिनीको गराए। त्यसपछि साथीभाइ, इष्टमित्रका साथै जोकोहीको पनि बीमा गर्दै आए। उनले लाइसेन्स लिइसकेपछि राम्रो व्यापार गर्दै गए। बीमा गर्दै जाँदा उनलाई यो पेसामा हौसला मिल्दै गयो। हौसलाले उनलाई झन्–झन् यो पेसा गर्न सकिने रहेछ भन्ने आँट र आत्माविश्वास जाग्दै गयो। अभिकर्ता तालिम लिए अनि त्यसपछि उनमा बीमा बुझाइ बढ्दै गयो।

‘आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाई राख्ने काम नै बीमाले गर्दछ’, कृष्ण भन्छन्, ‘बीमा बचत गर्ने प्रमुख आधार हो। बीमा भनेको एकदमै महत्वपूर्ण छ। बीमा पैसा हुनेलाई भन्दा पनि पैसा नहुनेलाई धेरै जरुरी छ। जसलाई आर्थिक समस्या छ। हो, त्यही मानिसलाई बीमाको खाँचो छ।’बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने कृष्णको सुझाव छ। ‘बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ वा छैन साथै आर्थिक स्रोत के छ ? हेरेरमात्रै मैले बीमाको प्रस्ताव अघि बढाउने गरेको छु’, उनले सुनाए।

कृष्णले भने, ‘मैले दाइ पर्ने एकजना व्यक्तिको बीमा गराएको थिएँ। बीमा गराएको ३ वर्षपछि उनको २ वटै मिर्गौला फेल भयो। त्यसपछि उनले सिटिजन लाइफबाट घातक रोगबापत दाबी भुक्तानी पाए। त्यसपछि उनको परिवार र उनी धेरै खुसी भए। बीमा राम्रो रहेछ भन्ने कुरा मलाई त्यो घट्नाले पनि सम्झायो। त्यसपछि मलाई बीमा सबैका लागि आवश्यक रहेछ, सबैलाई यसको दायरामा ल्याउनुपर्छ भन्ने प्रेरणा मिल्यो।’

अभिकर्ता भनेको सामाजिक भाव मिसिएको पेसा रहेको कृष्णको बुझाइ छ। ‘यो पेसामा आम्दानी हुनुका साथै सामाजिक भाव पनि मिसिएको छ। जहाँ बीमा गराउने र गर्ने दुवैलाई राम्रो हुन्छ’, उनले थपे, ‘अझ भन्दा बीमा गराउनेका लागि भन्दा पनि बीमा गर्नेहरुको भविष्य राम्रो हुन्छ। समाजसेवा भन्नेबित्तिकै आर्थिक पक्ष हुँदैन, हामीले कसैलाई सामाजिक काम गर्छौं भने पैसा पाइँदैन, बरु उल्टै आफ्नो पैसा खर्च हुन्छ। तर, अभिकर्ता सामाजिक काम गर्दा आत्मनिर्भर पनि भइने पेसा हो। आफूले बोल्न सक्ने हुँदा पनि यो पेसा अपनाउन सकिन्छ। त्यसकारण म यो पेसाबाट खुसी छु।’

अभिकर्ता पेसामा जोडिएपछि कृष्णले आफ्नो जीवनशैलीमा परिवर्तन पाएका छन्। बीमा अभिकर्ता बनेपछि आर्थिक बाटो बलियो हुनुका साथै साथीभाइ, परिवार र इष्टमित्र सबैबाट राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ। ‘यो पेसा मेरा लागि अभिभावक भएर उभिएको छ’, उनले भने, ‘यो पेसामा लागेपछि आर्थिक पाटो सबल हुनुका साथै जनसम्पर्क बढेको छ।’

राम्रो काम गरेबापत विभिन्न अवार्ड पाउँदा र सम्मानित हुँदा धेरै गर्व महसुस हुने गरेको कृष्ण सुनाउँछन्। ‘सबैलाई चिन्ने मौका पाएँ। सानादेखि ठूला मानिसलाई भेट्ने मौका पाएँ। समाज र समाजका मानिसलाई नजिकबाट नियाल्ने मौका पाएँ। यो पेसाप्रति म धेरै सन्तुष्ट छु’, उनले भने।
‘नेवारी भाषामा बीमाको अर्थ ‘दिनुपर्छ’ भन्ने हुन्छ। त्यसकारण बीमा भनेको दिने नै हो। बीमा भनेको रिटर्न दिने नै हो’, कृष्णले भने, ‘बीमा अवधि पूरा भएपछि होस् वा दुर्घटना हुँदा होस् अथवा मानिसको मृत्यु हुँदा होस्, बीमाले मानिसलाई रिटर्न दिने नै हो। त्यसकारण बीमा गर्न गाह्रो नमान्नुहोस्। एक दिन न एक दिन यसले फाइदासहित रिटर्न दिन्छ।’अभिकर्ता पेसालाई नराम्रो भन्नेहरु पनि रहेको कृष्णको अनुभव छ। ‘तर, यो पेसालाई बुझेर अपनायो भने यो पेसामा लागेपछि विदेश जानु पर्दैन। विदेशमा कमाइ हुने आम्दानी यही पेसाबाट नेपालमै हुन्छ’, उनले भने, ‘समाजको काम नै यही हो, यो समाजले त सबैलाई गाली गर्छ। समाजले प्रधानमन्त्रीलाई त गाली गर्छ भने हामी अभिकर्ता त सामान्य भयौँ। तर, उनीहरुले नबुझेर गाली गरेका हुन्, बीमा बुझाएर गर्यो भने राम्रो हुन्छ।’

सफल बीमा अभिकर्ता हुनका लागि आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने कृष्णको सुझाव छ। ‘अभिकर्तामा धैर्यता, कम्पनीका बारेमा ज्ञान, कम्पनीको पोलिसीका बारेमा जानकारी, मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्छ’, उनले भने, ‘म बीमा क्षेत्रमा करिअर नै बनाउँछु भनेर आउनेलाई यो पेसा उत्तम छ।’

बीमा अभिकर्ता पेसामा आउन चाहनेलाई बुझेर र अध्ययन गरेर बीमासम्बन्धी ज्ञान बोकेरमात्रै यस क्षेत्रमा आउन कृष्णको आग्रह छ। आफ्नो फुर्सदको समय काम गरेर पनि आर्थिक रुपमा सबल हुने भएकाले यो पेसा राम्रो रहेको उनको भनाइ छ।

कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न कृष्ण तयार हुने गरेको र लक्ष्य पूरा गर्ने गरेको बताउँछन्। उनी लगातार ३ पटक एमडीआरटी बन्न सफल भइसकेका छन्। त्यस्तै, उनी सिटिजन लाइफको नेपालभरि शाखाबाट नम्बर अफ पोलिसीमा तेस्रो स्थान हासिल गरी नगदसहित सम्मान समेत भएका छन्। उनले २०२१ मा सिल्भर क्लब, २०२२ मा डाइमन्ड क्लब, २०२३ मा गोल्ड क्लब र २०२४ मा प्लाटिम क्लबअन्तर्गतको अवार्ड पाउन सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS