IME Life
GBIME

नेपालमा हाइड्रो बीमाको समस्या समाधानका लागि पुल खडा गर्नुपर्छ: टोटन चक्रवर्ती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, टोटन चक्रवर्ती। बीमा बजारको विभिन्न आयामका साथै ओरिएन्टल इन्स्योरेन्सको सञ्चालन, चुनौती र भावी योजनाबारेमा सीईओ चक्रवर्तीसँग इन्स्योरेन्स टकमा छलफल गरिएको छ। उनीसँग व्यापार रणनीति, बजार अवस्था र समग्र बीमा क्षेत्रका विषयमा गरेको कुराकानीको सारसंक्षेपः

नेपालको दोस्रो पुरानो निर्जीवन बीमक कम्पनी भएर पनि बजार विस्तारमा तपाइँहरु किन पछि पर्नुभएको हो ?

SKYWELL
Crest

हाम्रो गौरवशाली इतिहासलाई मध्यनजर गर्दै हामी संख्यात्मकभन्दा पनि गुणात्मक व्यापारका लागि यहाँ सेवा गरिरहेका छौं। हामी टप लाइन विस्तारभन्दा पनि बटम लाइन वृद्धिमा केन्द्रित छौँ।

तपाइँहरुको उपस्थिति भारत सरकारको रणनीतिक उपस्थितिमात्र हो ?

होइन, रणनीतिक होइन। हामी विशिष्टीकृत र व्यावसायिक सेवा दिन यहाँ आएका हौँ। विशेषगरी सम्पत्ति बीमा र इन्जिनियरिङ बीमामा सेवा दिइरहेका छौँ। साथै, स्थानीय बीमकलाई पनि रिइन्स्योरेन्स सपोर्ट गरिरहेका छौँ। हाम्रो मुख्य उद्देश्य पनि यही हो र हामी यसलाई पछ्याइरहेका छौँ।

नेपाली बीमा बजारमा व्यापार विस्तारका लागि तपाइँहरुले कुन क्षेत्रलाई प्राथमिकतामा राख्नुभएको छ ?

यो अलिक घुमाउरो प्रश्न छ। नेपालमा बीमामा पहुँच १ प्रतिशतभन्दा पनि तल छ। त्यसैले यहाँ व्यापार विस्तारका लागि थुप्रै काम गर्न बाँकी छन्। तर, भारतीय बीमकको शाखा भएकाले हामीसँग स्थानीय बीमकसरह काम गर्ने सवालमा केही सीमितता छ। यसका बाबजुद पनि हामी विशिष्टीकृत बीमालाई प्राथमिकता दिँदै सेवा र व्यापार विस्तारमा प्रयासरत छौँ। नेपालमा निर्जीवन बीमाको व्यापारको संरचना विश्लेषण गर्दा सम्पत्ति र मोटर बीमाले कुल व्यापारको ५० प्रतिशत हिस्सा ओगटेको छ। कृषि बीमाको योगदा ५ प्रतिशतभन्दा पनि मुनि छ। ठूलो सम्भाव्यता भए पनि स्वास्थ्य बीमा नेपालमा निक्कै पछाडि परेको छ। हामीले व्यापार विस्तार गर्ने हो भने यी दुवै क्षेत्रलाई प्राथमिकताको सूचीमा ल्याउनुपर्छ।

तर, तपाइँहरुसँग ठूला सहर केन्द्रित केही सीमित शाखाहरुमात्र सञ्चालनमा छन्। कसरी तपाइँहरुले व्यवसाय विस्तारको त्यो अवसर छोप्न सक्नुहुन्छ ?

तपाइँ पनि अवगत हुनुहुन्छ, वर्तमान अवस्थामा भौतिक उपस्थिति उति साह्रो अनिवार्य रहेन। अचेल डिजिटल प्रविधि डिजिटल प्लाटफर्ममार्फत बीमा योजनाहरुलाई डिजिटलाइज गरेर बेच्न सकिन्छ। त्यो माध्यमलाई हामी व्यापार विस्तारको अवसर बनाउन सक्छौँ। त्यसका लागि हामीले स–साना र सहजै तिर्न सक्ने बीमाशुल्कको विकल्प उपलब्ध गराउनुपर्छ। हामी त्यतातिर पनि अघि सर्नेबारे योजना बनाइरहेका छौँ।

विदेशी बीमकको शाखा भएकाले तपाइँहरुले स्थानीयको तुलनामा केही ग्राहयता पाउनु भएको छ, हो ? स्थानीय बीमकहरु दुर्गम र ग्रामीण क्षेत्रमा उपस्थिति दर्ज गरिरहँदा तपाइँहरु सुगम भूगोलमा मात्र सीमित हुनुहुन्छ।

होइन, हामीले नियामकका तर्फबाट कुनै विशेष सुविधा वा ग्राहयता पाएका छैनौँ। हामी दुर्गम भूगोलमा पनि सेवा दिइरहेका छौँ। इटहरी, धनकुटामात्र नभएर तेह्रथुम, राजविराजमा पनि हाम्रो शाखा छन्। यी शाखा विशेषतः कृषि बीमा सेवाका लागि नै खोलिएका हुन्। गरिब समुदायसम्म बीमाको पहुँच बनाउने उद्देश्यले।

व्यावसायिक र सञ्चालन खर्चका हिसाबले तपाइँहरु मनग्ये नाफा कमाइ रहनुभएको होला। अन्य बीमकको तुलनामा सीमित शाखा र सीमित जनशक्तिका कारण ?

तपाइँले त्यसो भन्नु स्वाभाविक भए पनि हाम्रो व्यापारको ठूलो हिस्सा सम्पत्ति, इन्जिनियरिङ र जलविद्युत परियोजनाको बीमाले ओगटेको छ। यी तीनवटै क्षेत्र उच्च जोखिमयुक्त छन्। कुनै पनि बेला ठूलो दाबी आइलाग्न सक्ने जोखिम छ।

बैंकिङ र जीवन बीमा क्षेत्रमा भारतीय संयुक्त लगानीका केही उपक्रमहरु देख्न सकिन्छ। तर, तपाइँहरु अझै पनि संयुक्त लगानीको निर्जीवन बीमा कम्पनीका लागि तयार देखिनु भएको छैन।

हाम्रो कम्पनी सतप्रतिशत भारत सरकारको स्वामित्वको कम्पनी हो। त्यसैले संयुक्त लगानीको उपक्रम खोल्नका लागि धेरै औपचारिकताहरु पूरा गर्नुपर्छ। तर, भारत सरकारले भविष्यमा यसबारे कुनै निर्णय गर्यो भने त्यसका लागि हामी तयार छौँ। अर्कोतर्फ नेपालको निर्जीवन बीमा उद्योगको व्यापार ४० अर्ब रुपैयाँ हाराहारीमात्र छ। तपाइँले भारुमा हेर्नुभयो भने जम्मा २५ अर्ब रुपैयाँको बीमा बजार छ। तपाइँले ओरिएन्टल इन्डियाको कारोबारको आकार हेर्नुभयो भने यो २ खर्ब रुपैयाँबराबरको छ। त्यसैले नेपालमा व्यापार विस्तार गर्नु उति साह्रो आकर्षक पनि देखिँदैन।

त्यसो भए नेपालको सानो बजारमा तपाइँहरुको उपस्थिति नेपालका लागि माउ कम्पनीको सामाजिक सेवामात्र हो ?

तपाइँले त्यसो पनि भन्न सक्नुहुन्छ। हामी हाम्रो विशेषज्ञता स्थानीय बीमकसँग बाँडिरहेका छौँ। तपाइँले निजी क्षेत्रका निर्जीवन बीमकको कार्यालयमा उच्च व्यवस्थापन तहका अधिकारीहरु देख्नुभयो भने अधिकांश उनीहरु सुरुआती समयमा ओरिएन्टल इन्स्योरेन्स वा नेसनल इन्स्योरेन्समा आबद्ध रहेको पाउनुहुनेछ। उनीहरुले यहीबाट ज्ञान र अनुभव हासिल गरेर नेपालको बीमा बजारको भलाइका लागि काम गरिरहेको पाउनुहुनेछ। तपाइँले यसरी पनि बुझ्न सक्नुहुन्छ।

ओरिएन्टल इन्स्योरेन्ससँग औपचारिक पुँजी संरचना छैन। तपाइँहरु जगेडा वा निर्दिष्ट पुँजीका भरमा व्यापार सञ्चालन गरि रहनुभएको छ। यस्तो पृष्ठभूमिमा तपाइँहरुले कसरी मुनाफा भारत पठाउनुहुन्छ ?

हामीले आजका दिनसम्म पनि लाभांशवापतको रकम भारत पठाएका छैनौँ। भारतबाट पनि केही ल्याएका छैनौँ। जे जति लाभ कमाएका छौँ, रिजर्भका रुपमा यतै राखेका छौँ। साथै, नेपाली बजारमा मुद्दति निक्षेप, सरकारी ऋणपत्रहरुमा लगानी गरेका छौँ। नेपालको जलवायू परिवर्तनको जोखिमलाई मध्यनजर गर्दा हामीसँग राम्रो रिजर्भ पुँजी छ। हाम्रो माउ कम्पनीले अझैसम्म पनि यताको लाभांश लैजाने विषयबारे सोधीखोजी गरेको छैन। तर, तपाइँको प्रश्नमा केन्द्रित हुँदा यदि भावी दिनमा माउ कम्पनीले यसका लागि माग गर्यो भने त्योभन्दा पहिले हामीले स्थानीय नियामकसँग स्वीकृति हासिल गर्नुपर्नेछ।

भारतीय बीमा बजारमा समेत तपाइँले हासिल गर्नुभएको अनुभवका आधारमा नेपालको निर्जीवन बीमाका लागि बजार के देख्नु भएको छ ?

नेपालको तुलनामा भारत निक्कै ठूलो बीमा बजार हो। यति भनिरहँदा बीमामा नेपालले पनि राम्रो गरिरहेको छ। यहाँ विकासको ठूलो सम्भाव्यता पनि छ। छिमेकी देशको बजारको तुलनामा नेपाली बीमा कम्पनीहरु नवप्रवेशी पनि छैनन्। यद्यपि उनीहरुको क्षमता कम छ, रिजर्भ कम छ। तर, संयुक्त पहलबाट नेपालको बीमा बजार एउटा उल्लेख्य उचाइमा पुग्नेछ।

तपाइँहरुले नेपाली बजारमा व्यापार विस्तारका लागि अझै पनि कुनै विशेष क्षेत्रलाई तय गरिसक्नु भएको छैन, चाहे त्यो जलविद्युत् होस्, चाहे सम्पत्ति बीमा ?

मलाई के लाग्छ भने स्वास्थ्य बीमा विश्वव्यापी रुपमै विस्तारका लागि क्षेत्र हो। यसमा ठूलो संभाव्यता छ। हामीले यसका लागि विशेष तयारी गर्नु जरुरी छ। किनकि संसारका अन्य भागमा स्वास्थ्य बीमा निक्कै अघि बढिसकेको छ। नगदरहित सुविधा, स्वास्थ्य संस्थासँगको आबद्धता गरिरहेका छन्। तर, हामी यो पाटोमा पछि परिरहेका छौँ। उचित व्यवस्थापन हुन नसक्दा नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम घाटामा चलिरहेको छ। मलाई लाग्छ ३० प्रतिशत जति योगदानको सम्भावना छ। ग्रामीण क्षेत्रको हकमा लघु बीमा, समावेशी बीमाको सम्भावना पनि छ, किनकि अझै पनि नेपालको बीमा बजारमा पहुँच १ प्रतिशतभन्दा मुनि रहेको अवस्था छ। हामी त्यहाँसम्म पुग्नुपर्छ।

तर, तपाइँहरु ठूला सहर बजारमा केन्द्रित हुनुहुन्छ। गाउँघरतिर जानुभएको छैन।

तपाइँको भनाइमा केही सत्यता अवश्य पनि छ। त्यो हाम्रो कमजोर पक्ष हो। हामी यो विषयमा पनि गृहकार्य गरिरहेका छौँ। तर, एउटा पक्ष के छ भने हामी कहाँ बीमा वितरणको माध्यम प्रत्यक्षमात्र छ, केही हदसम्म एजेन्ट पनि छन्। हामीले मात्र होइन नियामकले पनि सर्वसाधारणसम्म व्यापक रुपमा बीमा पुर्याउने विकल्पका विचार गर्नुपर्छ। सहकारीहरु छन्, हामीले मध्यस्थकर्ता परिचालन गर्न सक्छौँ। उनीहरु कुनाकाप्चा पुग्न सक्छन्। बीमकले दुर्गममा कार्यालय सञ्चालन गर्न सम्भाव्य नहुन सक्छ। त्यस्ता ठाउँहरुमा हामीले मध्यस्थकर्ता परिचालन गर्न सक्छौँ।

नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम घाटामा छ। निजी क्षेत्रका बीमकले त्यो सेवालाई अहिलेकै प्रारुपमा निरन्तरता दिन सक्छन् ?

हेर्नुहोस्, स्वास्थ्य बीमा एउटा सामाजिक सेवा हो। यो कहिल्यै पनि नाफामूलक व्यापार बन्न सक्दैन। सबैखाले स्वास्थ्य बीमा कार्यक्रमको सफलता तपाइँले यसलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भन्नेमा निर्भर रहन्छ। त्यो पाटोलाई तपाइँले मध्यस्थकर्ताको सहयोगमा प्रभावकारी बनाउन सक्नुहुन्छ। हामीले अस्पतालसँग मिलेर दाबी फर्छ्यौट गर्न सक्छौँ। नेपाली बजारमा कुनै पनि उपचार सेवाका लागि दरहरु तोकिएका छैनन्। भारतीय बजारको उदाहरण लिने हो भने त्यहाँ समान प्रकृतिका उपचारका लागि दरहरु निर्धारण गरिएका छन्। हामीले नेपालमा पनि यो कार्यक्रम सफल बनाउन यी पक्षहरुमा सुधारका लागि प्रयास गर्न सक्छौँ।

हामी कहाँ तीन तहका सरकार छन्। तीनवटै तहका सरकार आमनागरिकलाई सुविधा दिन चाहिरहेका छन्। स्वास्थ्य र सम्पत्ति बीमामा सहयोग गर्न खोजिरहेका छन्।

यस विषयमा सरकारी सहयोग र समन्वयको खाँचो छ। यसका लागि सरकारी सहयोग महत्वपूर्ण हुन्छ। त्यसको अनुपस्थितिमा सम्भव हुने छैन।

जलविद्युत आयोजनाका सञ्चालकहरु चर्को बीमाशुल्क लिएर पनि दाबी भुक्तानी नभएको गुनासाहरु व्यापक छन् नि ?

यसमा दुई पाटा छन्। एउटा पाटो जोखिम बहनको क्षमता। हामीसँग सबै जोखिम बहन गर्न सक्ने क्षमता छैन। नेपाल बाहिर नै जानुपर्छ। नेपालबारे विदेशी पुनर्बीमा जगतमा नकारात्मक छबि छ। त्यसैले उनीहरुले अलिक महँगो कोटेसन दिन्छन्। र, अर्को पाटोमा हामीले आफ्नो क्षमता बढाउनुपर्छ। दाबी भुक्तानीको विवादको हकमा हामी बीमकले पहिलो दिन नै बीमितलाई बुझाउनुपर्छ, के जोखिम बहन हुन्छ के हुँदैन भनेर अनि मात्र विवाद न्यून हुनेछ।

ठूला परियोजनका लागि पुनर्बीमा समर्थन प्राप्त गर्नका लागि तपाइँहरुलाई समस्या भइरहेको छ भनिन्छ नि ?

हो, नियामकको निर्देशनअनुसार ए रेटिङ प्राप्त पुनर्बीमकबाट समर्थन प्राप्त गर्नुपर्छ। तर, यहाँको भौगोलिक अवस्थिति, जलवायू परिवर्तनको जोखिमलगायत कारणले भारको जीआईसीले समेत सहजै पुनर्बीमा समर्थन दिन मान्दैन। नेपाल, भारतलगायत एसियाली उपमहादेशकको भौगोलिक अवस्थिति र जलवायु परिवर्तनको जोखिमले यो क्षेत्रलाई अलि बढी संवेदनशील बनाएको छ। त्यसैले हामीलाई कठिनाइ भइरहेको छ। यसको सामना र समाधान गर्न हामीले क्षमता विकास गर्न र ठूलो अंश हामीले नै बहन गर्ने कोसिस गर्नुपर्छ, अनि बाँकी रहेको जोखिम विदेशमा हस्तान्तरण गर्न सके अहिलेलाई उपयुक्त हुन सक्छ। जलविद्युत परियोजनालगायतका ठूला योजनाका लागि बीमापुल खडा गर्नेबारे स्थानीय पुनर्बीमकसँग पनि छलफल भइरहेको छ। र, मेरो विचारमा अहिलेलाई यसको विकल्प पनि छैन। यो दीर्घकालीन उपाय नहुन सक्छ। कोरोनाको सन्दर्भमा हामी नयाँ अनुभव थियो। तर, जलविद्युत आयोजनामा हामी अनुभवी छौँ। त्यही अनुभवको सदुपयोग गर्न सकिन्छ।

निर्जीवन बीमा दाबीमा हुने छलकपटको सम्बन्धमा भारतीय र नेपाली बजारमा कतिको समानता पाउनुभएको छ ?

दाबीमा समानता छ। तर, एउटा पक्ष के हो भने चेतना छैन। अर्को समस्या के हो भने दाबीका लागि एउटा निश्चित मापदण्ड छैन। फ्रड दाबी एउटा प्रक्रियाबाट अर्कोले अर्को प्रक्रियाबाट गरिरहेको हुन्छ। यसले मिस कम्युनिकेसन र मिस अन्डरस्ट्यान्डिङ सिर्जना गरेको छ। दाबीका लागि आवश्यक कागजात र प्रक्रियाहरु सुनिश्चित गरिनुपर्छ। दाबीका लागि आवश्यक कागजातहरु कस्तो दाबी हो भन्नेमा आवश्यक पर्छ। प्रहरी प्रतिवेदन आवश्यक पर्नेमा त्यो चाहिन्छ। भारतीय बजारमा ५० हजार देखि १ लाख रुपैयाँसम्मको दाबीमा कागजपत्ररहित बीमा दाबीको सुविधा दिइएको छ। नेपालमा पनि दाबीको प्रकृतिका आधारमा बीमितले पेस गर्नुपर्ने कागजातसँग सम्बन्धित कुनै निश्चित मापदण्ड, फारम र प्रक्रिया तोकिन सके यसले विवाद न्यूनीकरणमा योगदान गर्ने थियो।

दाबी भुक्तानी ढिलो भएको सम्बन्धमा बीमितले गुनासो गर्दै आएका छन् नि।

जब बीमा गर्छन् तब बीमितलाई थाहा हुँदैन, बीमकले बीमितलाई स्पष्ट र पर्याप्त स्थान दिनुपर्छ। त्यसबेला बीमितले किनेका हुँदैनन्, हामीले बेचिरहेका छौँ। जबसम्म उनीहरुले नै किन्दैनन् तबसम्म बीमाबारे पुरा बुझ्दैनन्। र, दाबी भुक्तानीका समयमा कुनै न कुनै खाले गुनासो आइरहनेछ।

नेपालमा ठूला आयोजनाहरुको बीमालाई लिएर चासो र चिन्ता छ। बीमितले सस्तो बीमा खोजी गरिरहेका छन्। न्यून बीमाको समस्या विद्यमान छ। बीमकले पनि चासो दिएका छैनन् भनिन्छ।

म तपाइँसँग यो विषयमा असहमति राख्छु। बीमकले कहिल्यै पनि न्यून मूल्यांकनमा बीमा गर्न सुझाव दिँदैनन्। हामी कहाँ हाइड्रोको ठूलो सम्भाव्यता छ। हामीले जोखिम मूल्यांकन गरेरमात्र प्रस्ताव स्वीकार्नुपर्छ। हामीले उपयुक्त समाधान दिनुपर्छ। दाबीको समयमा यो जोखिम समावेश गरिएको थिएन भनेर बीमितलाई दुःख दिनु उचित व्यावसायिक अभ्यास होइन। हो, अहिले बीमाको सर्त र दर विश्वव्यापी अभ्यासअनुरुपका छैनन्। त्यसैले केही समयका लागि हामीले त्यसलाई अपनाउनुपर्छ। तबसम्म जबसम्म हामीले नेपालभित्रै जोखिम बहनको क्षमता विकास गरिसक्दैनौँ। बीमकबीच अस्वस्थ्य प्रतिस्पर्धाका कारण तर बीमकबीच खराब प्रतिस्पर्धा छ।

विज्ञहरुले नेपालमा सम्पत्ति बीमा र स्वास्थ्य बीमाको सम्भाव्यता भए पनि बीमकले पर्याप्त चासो दिन नसकेको भन्ने पनि सुनिन्छ नि ?

अहिले समय यस्तो आएको छ कि कुनै पसल थापेर हामीसँग यो यो सेवा छ भन्दै बेच्न सकिने अवस्था छैन। ग्राहकको आवश्यकताअनुसारको सेवा दिनुपर्ने बेला आइसकेको छ। व्यक्तिपिच्छेका आवश्यकताहरु फरक–फरक हुन्छन्। त्यसैले व्यक्तिगत आवश्यकता सम्बोधन गर्न सकिने गरी लचक हुनसक्नुपर्छ। संसार त्यस दिशामा अग्रसर हुँदैछ। हामी पनि लाग्नुपर्छ। नेपालको परिप्रेक्ष्यमा मलाई लाग्छ अझैसम्म बजार नियन्त्रित छ। त्यसलाई खुला गरिनुपर्छ। संसारको अन्य कुनै पनि कुनामा बीमा बजारलाई नियामकले नियन्त्रण गर्दैन। केही अंशहरुमा नियन्त्रण आवश्यक हुन सक्छ, जस्तै भूकम्पीय जोखिमको बीमा। तर, त्यस्ता जोखिमबाहेकका क्षेत्रलाई खुला गरिनुपर्छ। कसैले नियमित रुपमा आफ्नो घर–भवन मर्मतसम्भार गरिरहेको छ, पर्याप्त सुरक्षाका उपकरणहरु जडान गरेको छ, गुणस्तरीय विद्युतीय उपकरणहरु जडान गरिएका छन्। दुवै खालेका लागि समान दर हुनुहुँदैन। पर्याप्त सुरक्षा अपनाएकोमा तपाइँले केही छुट पाउनुपर्छ। ती विषयहरु सम्बोधन गरिनुपर्छ। भविष्यमा यसो हुनसक्ला भन्ने आशा गरौँ।

दाबी भुक्तानी सहजीकरणका लागि नियामकले शाखा स्तरमा अधिकार प्रत्यायोजनमार्फत विकेन्द्रीकरण गर्न भनिरहेको अवस्था छ।

ठूला बीमा दाबी र साना दाबीका सम्बन्धमा उस्तै खाले कागजपत्र माग गरिन्छ। विकेन्द्रीकरणलाई लिएर हाम्रो आफ्नै विज्ञ टोली छन्, केन्द्रीय कार्यालयमा। त्यहीँबाट दाबी फर्छ्यौटका सबै काम गरिन्छ। भारतमै पनि मोटरका लागि, स्वास्थ्य बीमाका लागि, तेस्रो पक्ष बीमा दाबीका लागि बेग्ला–बेग्लै केन्द्रीय हबमार्फत काम भइरहेको छ। शाखाहरुको काम दाबीको प्रारम्भिक प्रक्रिया सुरु गरिदिनेसम्म मात्र हो।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS