GBIME
IME Life

आठ वर्ष बीमा एजेन्सीको भूमिका निभाएकी जमुना अहिले शाखा सम्हाल्दै, ‘बीमा विश्वासको पेसा हो’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हरेक मानिसको जीवनमा संघर्षका आफ्नै गाथा हुन्छन्। जिन्दगीको सफरमा आइपर्ने चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने मानिसले एक न एक दिन अवश्य पनि सफलता हासिल गर्छ। बिना संघर्ष कुनै पनि मानिस सफल भएका हुँदैनन्। जिन्दगीमा संघर्षमात्रै होइन, धेरै अवसर पनि हुने गर्दछन्। तिनै अवसरका खजानाको सन्दुक खोल्न जो व्यक्ति संघर्षको मैदानमा उत्रन्छ, त्यही व्यक्तिले आफूले चाहेकोे सफलता पाउँछ। हो, यही यस्तै मेहनत र संघर्षबाट सफलता हात पारेकी महिला हुन्, जमुना कटुवाल।

जमुना २०४५ सालमा इलामको माई नगरपालिका–६ मा संयुक्त परिवारमा जन्मिएकी हुन्। जमुना घरकी सबैभन्दा कान्छी सदस्य हुन्। ठूलो परिवारमा भएर होला उनले सबैको मायामा हुर्कने मौका पाइन्। जमुनाको बाल्यकाल सामान्य परिवारमा सहज रुपमा नै बित्यो। उनले ८ कक्षासम्मको पढाइ भने आफ्नो जन्मथलोबाट गरिन्। त्यतिबेला जमुनाको गाउँमा रहेको विद्यालयमा ८ कक्षाभन्दा माथिको पढाइ हुँदैन थियो। उनका दाइ कुवेर कटुवाल घरबाट थोरै टाढा माङसेबुङ गाउँपालिकास्थित एउटा विद्यालयमा अध्ययापन गराउँथे। त्यही भएर कक्षा ८ को पढाइ पूरा गरेपछि जमुना आफ्ना दाइ कुवेरसँगै बसेर ९ र १० कक्षा पढिन्। उनले इलामकै माङसेबुङ गाउँपालिकाबाट एलएलसीसम्मको अध्ययन पूरा गरिन्।

SKYWELL
Crest

हाल जमुनाले सिटिजन लाइफ इन्स्योरेन्सको बिर्तामोड शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन्। उनले लामो संघर्ष र त्यागपछि आज यो सफलता पाएकी हुन्। उनले अहिले शाखा प्रमुख भएर आफ्नो शाखाको निगरानी गरिरहेकी छिन्। उनले आफ्नो शाखामा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा विभिन्न क्षमता अभिवृद्धि हुने खालका तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका काम गर्दै आइरहेकी छन्। यतिमात्रै होइन उनले बीमामा सबैको पहुँच विस्तार गर्न विभिन्न क्षेत्रमा गएर बीमा जागरण, बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका कार्यक्रम पनि आयोजना गर्दै आएकी छन्।

एसएलसीपछि राम्रो विषय लिएर सहरमै गएर पढ्ने हरेक व्यक्तिको इच्छा हुन्छ। जमुनाको पनि राम्रो पढ्ने सपना थियो। फलस्वरुप जमुना प्लस टु पढ्न इलामको सदरमुकाम झरिन्। जमुना सबैको मायामा हुर्किएकी भए पनि सानैबाट मेहनत गर्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने संस्कार पाएकी थिइन्। सानैबाट मेहनत गर्न रुचाउने भएकाले पनि जमुनाले प्लस टुको परीक्षा दिएलगत्तै एउटा विद्यालयमा पढाउन थालिन्। समय बित्दै गयो। उनले आफू पढ्दै अरुलाई पढाउँदै गरिइरहेकी थिइन्। जमुनाले व्यवस्थापन विषयमा स्नातकसम्मको पढाइ पनि पूरा गरिन्। स्कुले जागिरमा भनेजस्तो तलब सुविधा नहुने हुँदा जमुनाले शिक्षकबाट अलग हुने विकल्प खोजिरहेकी थिइन्। कर्पोरेट क्षेत्रमै करिअर बनाउने सोचका साथ जमुनाले त्यस्तै खाले काम खोजिरहेकी थिइन्।

जमुनाले दाइ कुवेरसँग ‘टिचिङ पेसाभन्दा पनि अरु नै केही गर्न पाए हुन्थ्यो’ भन्ने कुरा राखेकी थिइन्। कुवेर विद्यालय सञ्चालन गर्दै साविक सूर्या लाइफका एजेन्सी म्यानेजरको रुपमा कार्यरत थिए। त्यही भएर उनले जमुनालाई इन्स्योरेन्स सेक्टरमा प्रवेश गर्न सल्लाह दिए। कुवेरले ‘मेहनत गर्यो भने इन्स्योरेन्स क्षेत्र धेरै राम्रो छ र करिअरको हिसाबले पनि सपोर्ट हुन्छ’ भने। टिचिङ पेसामा भन्दा धेरै सेवासुविधा इन्स्योरेन्स क्षेत्रमा छ भनेर कुवेरले भनेपछि दाइको गाइडमा जमुनाले २०६६ सालमा साविक सूर्या लाइफबाट लाइसेन्स लिएर इन्स्योरेन्स क्षेत्रको यात्रा सुरु गरिन्। ‘जिन्दगीमा बाटो देखाउने मान्छे नै महान हुन्छ’, जमुनाले भनिन्, ‘मेरो दाइको गाइडले आज म यो क्षेत्रमा सफलता पाउन सफल भएकी छु। दाइले बाटो देखाइदिनु भयो यो नै सबैभन्दा ठुलो कुरा हो। मेरा लागि प्रेरणाको स्रोत नै मेरो दाइ कुवेर हुन्। इन्स्योरेन्स क्षेत्रमा आएपछि त मलाई धेरैले सहयोग गर्नुभयो तर सुरुमा बाटो देखाउने भनेको मेरो दाइ नै हुन्।’

टिचिङ गर्दै जमुनाले इन्स्योरेन्स क्षेत्रलाई पनि समय दिएर काम गर्दै आइरहेकी थिइन्। उनले फुर्सदको समय अनि शनिबार आफ्नो गाउँमा गएर बीमा शिक्षा दिएर बीमा गर्ने गर्थिन्। बीमा अभिकर्ता पेसा सामाजिक काम भएको हुँदा पनि बीमा शिक्षा दिनुपर्छ र बीमा सबैलाई बुझाउनुपर्छ भन्ने धारणा जमुनामा थियो। त्यो हिसाबले गर्दा पनि उनले बीमा सचेतना गाउँ–गाउँमा गएर दिन्थिन्। गाउँमा गएर स–साना बीमा गराउन सफल भएपछि उनलाई यो पेसामा आकर्षण झन् बढ्दै गयो। उनका दाइले पनि गाइड गर्दै गए। जमुनाले आम्दानी पनि गर्दै गइन्। त्यसपछि उनलाई यही पेसामा लाग्छु भन्ने हिम्मत आयो। जमुनाले २ वर्षको टिचिङ पेसालाई बिट मारेर व्यावासायिक हिसाबले इन्स्योरेन्समै लाग्ने निधो गरिन्।

ब्याचलरको रिजल्ट आएलगत्तै जमुनाको विवाह भयो। विवाहपछि छोरी मान्छेलाई घरपरिवार सम्हाल्न र काम गर्न गाह्रो नै हुन्छ। उनको घर दार्जिलिङ हो तर उनका श्रीमानको जागिर भने पोखरामा थियो। त्यसपछि उनलाई पनि पोखरा जानुपर्ने भयो। ‘रहरको अगाडि बाध्यताको केही नलाग्दो रहेछ’ भनेझैँ जमुनालाई अब इन्स्योरेन्सको एजेन्टको काम कसरी गर्ने पिर पर्यो। इन्स्योरेन्सको भर्खर–भर्खर लत लागेको उनलाई त भित्रैबाट यही क्षेत्रमा केही गर्छु भन्ने हुटहुटी थियो। तर, बाध्यताले उनलाई पोखरा पुर्यायो। ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ अवसरको खोजीमा रहेकी जमुनालाई आफ्नो दाइको सहयोगमा पोखरामा पनि साविक सूर्या लाइफका ब्रान्च म्यानेजर मीनबहादुर जीसीलाई भेट गराई काम गर्ने मौका जुराइदिए। त्यसपछि जमुनाले विभिन्न बीमासम्बन्धी तालिम अनि सेमिनारमा भाग लिएर आफूमा निखारता ल्याइन्। फेरि इन्स्योरेन्स क्षेत्रमा मेहनत गरिन्। जमुनाका श्रीमानलाई इन्स्योरेन्सबारे त्यति ज्ञान थिएन। जुमनाले श्रीमानलाई पनि इन्स्योरेन्स बुझाइन्। त्यसपछि श्रीमानबाट उनलाई सहयोग मिल्यो। अनि दुवैजना मिलेर बीमा क्षेत्रमा अगाडि बढ्न थाले।

जमुना साविक सूर्या लाइफमा पनि हरेक टार्गेट मिट गर्थिन्। उनले सफलता पाउन अथाह मेहनत गरिन्। आफ्नो अमूल्य समय नै बीमा क्षेत्रमा खर्च गरिन्। उनी साविक सूर्या लाइफमा हुँदा एजेन्सी म्यानेजरसम्म भइन्। काम गर्ने दौरानमा उनलाई घरपरिवारको जिम्मेवारीले गर्दा सासु–ससुरासँग बस्नुपर्ने अवस्था आयो। त्यसपछि जमुना फेरि पोखरा छोडेर बिर्तामोड नै जानुपर्ने भयो। अनि जमुनाले साविक सूर्या लाइफमा आफ्नो यात्रालाई बिट मार्ने निधो गरिन्। उनी साविक सूर्या लाइफमा ८ वर्ष काम गरेर परिवारको जिम्मेवारीले २०७५ सालमा फेरि बिर्तामोड फर्किन्।

जमुनाको सिटिजन लाइफको यात्रा
लामो समय बीमा क्षेत्रमा विभिन्न आरोह र अवरोहलाई पार गर्दै एउटा उचाइमा पुग्न लागेकी जमुनालाई परिवारको जिम्मेवारीले थिच्यो। ८ वर्ष बीमा क्षेत्रमा काम गरेकी जमुनालाई अब परिवारसँग बस्नुपर्ने बाध्यता आइलाग्यो। आफ्नो सपना साकार पार्न परिवारको जिम्मेवारी त के पहाड नै खसे पनि उनी अलिकति पनि विचलित नभई काम गर्ने अठोट गरेकी थिइन्। बुझ्ने परिवार र श्रीमान भएकै कारण उनलाई फेरि बीमा क्षेत्रमा आउन त्यति गाह्रो भएन। उनलाई इन्स्योरेन्स क्षेत्रमा लत लागिसकेको थियो। तर, बीमा क्षेत्रमा ८ वर्ष एजेन्टको भूमिका निभाएकी जमुनालाई अब कर्मचारी भएर काम गर्ने सपना थियो।

त्यो समयमा धेरै बीमा कम्पनीले कर्मचारी माग गरेका थिए। जागिर खाने सोचेर जमुनाले ती कम्पनीबारेमा बुझ्न र अध्ययन गर्न थालिन्। अनि जमुनालाई सिटिजन लाइफ राम्रो कम्पनी लाग्यो र जागिरका लागि आवेदन दिइन्। आवेदन दिएको केही समयमा उनको अन्तर्वार्ता भयो। सानैबाट पढाइमा अब्बल जमुनाले अन्तर्वार्ता पनि पास गरिन्। २०७५ साल फागुनबाट सिटिजन लाइफमा उनले बिजनेस डेभलपमेन्ट कोअर्डिनेटरका रुपमा काम सुरु गरिन्। त्यसको २ वर्षपछि उनलाई २०७७ सालमा शाखा प्रबन्धकको जिम्मेवारी दिइयो।

संघर्षका बीचमा जमुनालाई सफलता हात पर्यो। उनका लागि यो सपना थियो । शाखा प्रमुख भएपछि पनि जमुनाले आफ्नो ठाउँबाट गर्ने मेहनत र परिश्रममा भने कमी गरिनन्। उनको अथाह मेहनतका कारण पनि शाखा बलियो बन्यो। कम्पनीले दिने टार्गेट सधैँ मिट गर्न र उद्देश्य पूरा गर्न उनी सधैँ तल्लीन रहन्छिन्। ‘बीमा क्षेत्रमा अभिकर्ता भएर प्रवेश गरेको भएर होला मैले कर्मचारी र अभिकर्तालाई गर्ने सम्मान र इज्जत सधैँ एउटै हुन्छ’, जमुनाले भनिन्, ‘हरेक किसिमका अभिकर्तासँग भेट हुने गर्दछ। हरेक अभिकर्ताको क्षमता फरक–फरक हुन्छ। त्यसैले उनीहरुको क्षमता बुझेर अगाडि बढाउने गरेकी छु। कुनै अभिकर्ताको राम्रो लिंक हुन्छ, कुनै अभिकर्ता मीठो बोलेर बीमा ल्याउन सक्ने हुन्छन्, कुनै अभिकर्ताले नयाँ अभिकर्ता जन्माउन सक्छन्, हो यस्तै क्षमता पत्ता लगाएर उनीहरुलाई माया गर्दै क्षमताका आधारमा काममा अग्रसर गरायो भने पक्कै पनि कम्पनीले राम्रो नतिजा हासिल गर्छ।’

‘एजेन्सीहरुलाई समय–समयमा तालिम दिएर मोभिलाइज गरायो भने उनीहरु अपग्रेड हुन्छन्। यो हिसाबले पनि उनीहरुको क्षमता वृद्धि गर्न सकिन्छ। गतिशीलतामा काम गर्यो भने बीमा क्षेत्रमा अवश्य पनि सफलता भइन्छ’, जमुनाले थपिन्, ‘बीमा गर्नु खासै सहज पनि होइन अनि असहज पनि छैन। बीमा भनेको नै विश्वास बेच्ने बजार हो। जहाँ कि अभिकर्ताले भ्रममा नपारी राम्रा–राम्रा सूचना सम्प्रेषण गरेर बीमा बुझाए भने बीमा ल्याउन सकिन्छ। हिजो म पनि त्यही फेजबाट आएको भएर होला अभिकर्ताले भ्रामक सूचना प्रचार नगरी जे हो कम्पनीका बारेमा त्यही सूचना दिएर बीमा गरायो भने सबैमा बीमाप्रति विश्वास जाक्छ र बीमा बजार पनि सकारात्मक हुन्छ।’

सधैँ नयाँ–नयाँ काम गर्न रुचाउने प्रवृत्ति भएर पनि होला कम्पनीले आफूलाई टार्गेट दिनुभन्दा पनि आफैँले टार्गेट लिने गरेको जमुना बताउँछिन्। ‘टार्गेट लिएर हिँड्यो भने त्यो पूरा गर्न हरपल लागिपरिन्छ। तर, बिना टार्गेट हिँड्यो भने हामी अल्मलिन्छौँ’, उनले भनिन्, ‘त्यही भएर टार्गेट लिएर हिँड्यो भने हामीले ढिलो चाँडो अवश्य सफलता पाउँछौँ।’

यो पेसामा लाग्नुको मोटिभेटिङ फ्याक्टर के हो भनेर इन्स्योरेन्स खबरले गरेको प्रश्नमा जमुनाले भनिन्, ‘यो पेसा नितान्त स्वार्थरहित सामाजिक पेसा हो। यस पेसामा लाग्ने मानिसले अरुको सुरक्षाका लागि काम गरेका हुन्छन्। अरुको दुःखमा मलम लगाउने काम गर्छन्। कसैको सुरक्षाका लागि आवाज उठाउँदै हिँड्छन्। हो जुनसुकै पेसा गरेबापत हामीलाई पैसा तलब त आउँछ तर यो पेसा यस्तो पेसा हो कि हामीले अरुको जीवनको सुरक्षाका लागि जनचेतना फैलाउँदै हिँड्ने भएकाले पनि यो सामाजिक पेसा हो। यही कारण म आकर्षित भएँ।’

कुनै पनि पेसा महिला र पुरुषका लागि भन्ने नहुने जमुना बताउँछिन्। ‘जुन पेसा पुरुषले गर्न सक्छन्, त्यही पेसा महिलाले पनि गर्न सक्छन्’, उनले भनिन्, ‘आफूले चाहेको र रोजेको पेसा गर्यो भने जुनसुकै पेसामा पनि सफलता मिल्छ। आफ्नो क्षमतालाई अगाडि ल्याएर डर नमानी रमाएर काम गर्यो भने अफलता नै डराएर भाग्छ। महिलामा धैर्यता र सहनशीलता हुने भएकाले बीमा अभिकर्ता पेसामा महिला सफल हुन्छन्। यो पेसा महिलाका लागि अझै उत्कृष्ट छ। परिवार सबैलाई समय दिएर गर्न सकिने भएकाले पनि अझ महिलाका लागि अभिकर्ता पेसा बेस्ट हुन्छ।’

जीवन बीमा सबैका लागि अपरिहार्य
जमुनाले भनिन्, ‘बीमा थोरै आम्दानी, मध्यम आम्दानी र धेरै आम्दानी भएकाहरुका लागि भन्ने हुँदैन। जीवन बीमा भविष्यमा पर्ने सक्ने सम्भावित आर्थिक क्षति तथा जोखिमको रक्षावरण गर्ने एउटा माध्यम हो भने सुनिश्चित भविष्यको परिकल्पना हो । मानिसको जन्म मृत्यु निश्चित छ। सबै मृत्यु प्राकृतिक हुन्छन् भन्ने छैन। कुनै–कुनै अकाल र अस्वाभाविक पनि हुन्छन्। त्यसकारण जीवन तथा सम्पत्ति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पत्तिको नाश हुन्छ। यसले पार्ने प्रभाव मानवीय रुपमा तथा भौतिक रुपमा विकराल हुन सक्छ। जसका लागि जोखिमको सिद्धान्तअनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ। त्यरकाण बीमा सबैका लागि अपरिहार्य छ। वित्तीय व्यवस्थापनमा पनि बीमा अनिवार्य अँगाल्नुपर्छ।’

मानिसहरु जीवन बीमालाई लिएर पहिलाभन्दा सकारात्मक रहेको जमुनाको बुझाइ छ। ‘अहिलेका मानिसले बीमा बुझेका छन्। अहिले बीमा शिक्षा दियो र बीमा बुझाउन सक्यो भने बीमा गराउन गाह्रो हुँदैन’, उनको अनुभव छ।

अन्य कम्पनीको तुलनामा सिटिजन लाइफ डिजिटलाइजेसनमा अगाडी हुनुको साथै बीमा योजनाहरु समय सापेक्ष छन् । सिटिजन लाइफको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको जमुनाको भनाइ छ। ‘डिजिटल भएपछि मानिसमा विश्वास बढेको छ’, उनले भनिन्, ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाटै हुन्छ। यसले ग्राहक र कम्पनी दुवैलाई सहज भएको छ।’

‘बीमा क्षेत्रमा कर्मचारीका रुपमा छिर्ने तय गर्दैगर्दा मेरा अगाडि धेरै कम्पनी थिए तर सिटिजन लाइफको व्यवस्थापन टिम मन परेको हुनाले मेरो रोजाइमा सिटिजन लाइफ पर्यो। यही टिमका कारण आज मैले सफलता पाएकी छु’, जमुनाले थपिन्, ‘कम्पनीका सीईओ पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल सर, चिफ बिजनेस अफिसर बिमल कुमार वाग्ले सर र रिजनल म्यानेजर उत्तम कोइराला लगायतका उच्च व्यवस्थापन, सबै टिमको उत्प्रेरण र हौसलाले आज कम्पनीले यो उचाइ हात पारेकोमा सबैलाई धन्यवाद दिइन्।’

आगामी दिनमा पनि कम्पनीको नयाँ–नयाँ च्यालेन्चलाई फेस गर्दै हरेक टार्गेट पूरा गर्न तत्पर हुने प्रतिबद्धतासमेत जमुनाले व्यक्त गरिन्। ‘टिमको कामप्रतिको जिम्मेवारी र बफादारीले नै मेरो मन जितेको छ। माथिल्लो तहबाट हुने कामले गर्दा हामी त्यही बाटोमा हिँडेका छौँ’, उनले भनिन्, कम्पनी बलियो हुन व्यवस्थापन टिम र कार्यशैली राम्रो हुनुपर्छ । हाम्रो सिटिजनको पोलिसी युनिक र समय सापेक्ष भएर पनि होला बीमा क्षेत्रमा छुट्टै छाप बनाउन सफल भएको छ।’

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS