काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा रहेको साैर्य एयरलाइन्स जहाज दुर्घटना अनुसन्धान आयोगले मर्मतका लागि उडान अनुमति जारी गर्दा प्राधिकरणबाट लापरवाही भएको औंल्याएको छ।
आयोगले बिहीबार पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। मन्त्रालयले १८ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ।
आयोगले जहाजको नियमित मर्मतका क्रममा गरिने गैर व्यवसायीक ‘फेरी’ उड़ान (एसएयू-एफईआर) का लागि उडान अनुमति जारी गर्नका लागि अपनाइएको प्रकृया पर्याप्त नरहेको उल्लेख गरेको छ। आयोगका अनुसार प्राप्त अभिलेख अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान अनुमतिका लागि प्रकृया निर्देशिका २०१५ को पूर्ण पालना भएको थिएन।
यसैगरी जहाज उडानका क्रममा पाइलटले अस्वाभाविक उचाई लिएर विमान उडाएको विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले धावन मार्ग छोड्ने क्रममा जहाज अस्वाभाविक गतिमा रहेको टिप्पणी गरेको छ। प्रतिवेदनमा लेखिएको छ, जहाज उडानका क्रममा एफडिआर (फ्लाइट डाटा रेकर्डर) मा प्रति सेकेण्ड ८.६ डिग्रीसम्मको अस्वाभाविक गतिमा उचाई लिएको देखियो । उडान निर्देशिका अनुसार धावनमार्ग छोड्ने समयमा जहाज प्रति सेकेण्ड ३ डिग्रीभन्दा अधिक ठाडो भएर उचाई लिनु जोखिमयुक्त मानिन्छ।
Preliminary Accident Investigation Report of 9N-AME Saurya Airlinesआयोगले प्रारम्भिक प्रतिवेदनमा दुर्घटनास्थलको स्थलगत निरिक्षण, नाइन एन एएनएम सिआरजे २०० जहाजको अवस्था र साैर्य एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ कर्मचारीसँगको अन्तरवार्ताबाट साैर्य एयरलाइन्सले विमानको ताैल मापन, भार वहन र तोकिएको आवश्यक भार व्यवस्थापन सम्बन्धी प्रावधानहरूको पालना नगरेको पाइएको उल्लेख गरेको छ।
आयोगले फ्लाइट डाटा रेकर्डरमा जहाजको इन्जिनमा कुनै समस्या नदेखिएको उल्लेख गरेको छ। विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्न थप दुइ महिना लाग्नेछ।
जहाज क्याप्टेन मनिषरत्न शाक्यको कमाण्डमा उडान भरेको थियो । धावनमार्ग छोडे लगत्तै विमान धावनमार्ग नजिकै खुल्ला मैदानमा बजारिंदा दुर्घटना भएको थियो । बाँकी १८ यात्रुको निधन भएपनि पाइलट शाक्यलाइ जीवितै उद्धार गरिएको थियो ।
जहाजको ताैलको विषयमा पनि प्रश्नः
मर्मतका लागि जहाजमा राखिएको सामानको ताैलको विषयमा पनि आयोगले प्रश्न गरेको छ। ती सामान जहाजमा राख्दा सन्तुल मिलाउन तिर ध्यान नदिइएको कैफियत प्रतिवेदनमा छ। जहाजमा उचितरूपमा मर्मतका लागि लोड गरिएको उपकरणहरू व्यवस्थित तरिकाले नराखिएको र ताैल सन्तुलनमा पनि लापरवाही भएकाले जहाजमा सन्तुलन कायम गर्न कठिनाइ भएको देखिन्छ।
५० सिट क्षमताको जहाजमा मर्मत सामाग्रीका अतिरिक्त चालक दलका सदस्यसहित १९ जना सवार थिए । जहाजको क्षमताभन्दा थोरै वजन र यात्रुका कारण सेन्टर अफ ग्राभिटी(गुरूत्वाकर्षण केन्द्रका कारण) असन्तुलन हुने संभावना धेरै हुन्छ। सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
आयोगको सुझावहरूः
१. सबै वायू सेवा सञ्चालकले तत्कालै आफ्नो स्पिडकार्ड पुनरावलोकन गर्नुपर्ने
२. सबै वायू सेवा सञ्चालकले कार्गो र ब्यागेज ह्यान्डलिङका विषयमा पनि मापदण्ड पालना गर्नुपर्ने
३. क्यानद्वारा गैर व्यवसायीक र गैर उडान तालिकामा रहेका विमानको उडान अनुमतिको प्रकृया र मापदण्डको पुनरावलोकन गर्नुपर्ने