काठमाडौं । भारतमा उत्पादित खोकीको औषधि (सिरप) विषाक्त पदार्थ फेला परेको छ। विषाक्त पदार्थ पाइएकै कारण भारतका १०० भन्दा बढी कम्पनीका कफ सिरप गुणस्तर परीक्षणमा फेल भएका छन्। यी परीक्षण भारतको केन्द्र सरकारले सञ्चालन गरेको थियो।
धेरै सिरपमा विषाक्त पदार्थ पाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्ता विषाक्त पदार्थ गाम्बिया, उज्बेकिस्तान र क्यामरुनका बालबालिकाको मृत्युसँग सम्बन्धित कफ सिरपमा पनि पाइएको थियो।
भारतको सरकारी प्रतिवेदनमा यस्तो खुलासा भएको हो। प्रतिवेदन केन्द्रीय औषधि मानक नियन्त्रण संगठनका तर्फबाट स्वास्थ्य मन्त्रालयमा बुझाइएको हो। यी सिरपले डाइथिलिन ग्लाइकोल (डीईजी) वा इथिलिन ग्लाइकोल (ईजी) जस्ता मापदण्ड पूरा नगरेको र गुणस्तरमा असफल भएको बताइएको छ। मानक गुणस्तर पूरा नगरेको कारण तिनीहरुलाई एनएसक्यू (मानक गुणस्तरको होइन) भनिएको छ।
प्रतिवेदनमा यसलाई चिन्ताको विषयका रुपमा वर्णन गरिएको छ। ‘खोकी सिरपको ब्याचहरुलाई डीईजी÷ईजी परख, माइक्रोबियल वृद्धि, पीएच र भोल्युमजस्ता मापदण्डका लागि एनएसक्यू घोषित गरिएको थियो। अर्थात् तिनीहरुको गुणस्तरहीन पाइएको छ’, प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनअनुसार कुल ७०८७ ब्याचको औषधिको गुणस्तर परीक्षण गरिएको थियो। जसमध्ये ३५३ वटाको गुणस्तरहीन रहेको पाइएको छ। जब कि ९ सिरप डीईजी र ईजीको उपस्थितिका कारण असफल भए। डीईजी र ईजी कफ सिरपमा मिसाइएका रसायन हुन्। त्यसको निश्चित मात्रालाई सिरपमा मिसाउने तय गरिएको छ। अत्याधिक मात्राका कारण सिरप विषालु हुन्छ। जसको प्रयोग गर्दा मानिसको ज्यान जान सक्छ।
भारतमा बनेको कफ सिरपको प्रयोगका कारण विश्वभर १४१ बालबालिकाको मृत्यु भएको आरोप लगाइएको छ। त्यसपछि भारत सरकार कारबाहीमा उत्रिएको हो। कफ सिरप उत्पादन गर्ने कम्पनीको सिरपको गुणस्तर परीक्षण सुरु गरेको थियो। यी सिरपको सरकारी तथा निजी प्रयोगशालामा परीक्षण गरिएको थियो।
अक्टोबर २०२२ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक रिपोर्टले गाम्बियामा करिब ७० बालबालिकाको मिर्गौला रोगका कारण मृत्यु भएको जनाएको थियो। यसको कारण भारतमा बनेको रुघाखोकी र चिसो सिरपसँग सम्बन्धित हुन सक्छ। किनकि ती बालबालिकाले खोकीको सिरप प्रयोग गरेका थिए। त्यसपछि कफ सिरप बनाउने भारतीय औषधि कम्पनीहरु निशानामा परेका छन्।
गत वर्ष मे महिनामा भारतको औषधि नियन्त्रक (डीसीजीआई) ले राज्यको स्वामित्वमा रहेको एनएबीएल मान्यता प्राप्त प्रयोगशालालाई निर्यात उद्देश्यका लागि कफ सिरप उत्पादन गर्ने कम्पनीहरुबाट प्राप्त नमुनालाई गुणस्तर परीक्षण गर्न निर्देशन दिएको थियो। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले पनि कफ सिरपको निर्यातकर्ताहरुलाई सरकारी प्रयोगशालामा परीक्षण गराउन र विश्लेषणको प्रमाणपत्र (सीओए) पेस गर्न अनिवार्य गरेको थियो।