IME Life New

एक वर्षमा सात कम्पनीले मात्र पाए आइपीओ अनुमति, वित्तीय झेलले एउटा अलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०।८१ मा ७ वटामात्रै कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ। त्यसमध्ये पनि एउटा कम्पनीको आइपीओ वित्तीय विवरणमा कैफियत देखिएपछि धितोपत्र बोर्ड आफैँले रोकेको छ।

२०८० साउन १७ गतेदेखि २०८१ असार १२ गतेसम्म उत्पादन तथा प्रशोधन समूहका ३ कम्पनी, अन्य समूहका ३ कम्पनी र एउटा हाइड्रोपावर कम्पनीले अनुमति पाएका हुन्। तीमध्ये गत असार १२ गते अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि धितोपत्र बोर्डले रोकेको छ। बाँकी सबै आइपीओ निष्कासन भएर दोस्रो बजारमा कारोबारमा आइसकेका छन्।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ मा सबैभन्दा पहिले सोनापुर मिनरल्स एन्ड आयलले प्रिमियममा आइपीओ ल्याउने अनुमति पाएको थियो। यो कम्पनीले स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई २२५ रुपैयाँ र सर्वसाधारणलाई २३७.५८ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो।

यसैगरी गत वर्ष भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनी, असोज १० मा मुक्तिनाथ कृषि कम्पनी र असोज १० मै नेपाल वेयरहाजिङले आइपीओ ल्याउने अनुमति पाएका थिए। यी दुवै अंकित मूल्यमै सर्वसाधारण आइपीओ बिक्री गरेका छन्।

त्यसैगरी बुक बिल्डिङ विधिबाट पहिलोपटक कात्तिक १ गते सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। योग्य संस्थागत लगानीकर्ताले न्यूनतम रेन्ज प्रतिकित्ता ४०१ रुपैयाँ बोलकबोल गरेपछि त्यसमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई ३६०.९ रुपैयाँमा कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। सर्वसाधारणका लागि आइपीओ जारी गर्ने अनुमति भने कम्पनीले पुस ३ गते पाएको थियो।

धितोपत्र बोर्डले कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आइपीओ ल्याउन अनुमति दिएको थियो। यो कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता २०६ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो।

यसैगरी रिलायन्स स्पिनिङले संस्थागत लगानीकर्तालाई आइपीओ बिक्री गर्न गत पुस १९ गते अनुमति पाएको थियो। यो कम्पनीले भने संस्थागत लगानीकर्ताबाट अधिकतम बोलकबोल प्रतिकित्ता ९१२ रुपैयाँ प्राप्त गरेको थियो। त्यसमा १० प्रतिशतले घटेर सर्वसाधारणलाई ८२०.८० रुपैयाँ आइपीओ ल्याउन गत असार १२ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीले असार २६ गतेबाट आइपीओ ल्याउन विवरणपत्र सार्वजनिक गरे पनि कम्पनीको वित्तीय स्वास्थ्यलाई लिएर सर्वसाधारणदेखि सार्वजनिक लेखा समितिसम्म आवाज उठेपछि अन्ततः धितोपत्र बोर्डले असार २५ गते आइपीओ रोक्न निर्देशन दिएको थियो।

हाल रिलायन्स स्पिनिङको आइपीओ कम्पनीले रोकेको छ। कम्पनीको वित्तीय विवरणमाथि धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ भने सार्वजनिक लेखा समितिले मागेको जबाफ पनि पठाइसकेको स्रोत बताउँछ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनीको आइपीओ पाइपलाइनमा रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ४२ वटा कम्पनीले आइपीओ अनुमति पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS