काठमाडौं । त्रिभूवन विश्वविद्यालयको गणित विज्ञान स्कूलले नेपालमा एक्चुअरियल विज्ञानको अध्ययन अध्यापन शुरु भएको पनि सात वर्ष भई सकेको छ। नेपालको बीमा बैंक तथा वित्तीय क्षेत्रमा एक्च्युअरी सेवा लामाे समयदेखि प्रयोग हुँदै आएपनि यसको औपचारिक अध्यापन कार्य ढिलो गरी सात वर्ष अघि मात्र शुरु भएको हो ।
एक्च्युअरीयल साइन्स अर्थात् गणित विज्ञान अन्य विषयको तुलनामा धेरै प्राविधिक र जटिल विषय हो । यसमा गणितीय शुत्रहरुको सहयोगबाट तथ्यांकहरुलाई विश्लेषण गर्ने र केही प्रक्षेपण गरिने भएकाले यो सामान्य गणितभन्दा पनि अनुसन्धानसँग सम्बन्धित भएकाले गणितीय विज्ञान पनि भनिएको हो ।
पछिल्लो समयमा नेपालमा एक्चुअरीको माग बढ्दै जाँदा यो विषयको अध्ययनका लागि यूवा पुस्तामा आकर्षण पनि बढ्दै गएको देखिन्छ। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले समेत बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी अवधारणा तथा जोखिममा आधारित अनुगमन सम्बन्धी अवधारणा लागू गरेसँगै बीमा कम्पनीहरुमा पूर्णकालीन एक्चुअरीको आवश्यकता बढेको छ।
बीमा, वित्त, र लगानी सहित विभिन्न क्षेत्रमा कारोबार र लगानीसँग सम्बन्धित जोखिमको मूल्याङ्कन गर्न र व्यवस्थापनको उपाय सुझाउनका लागि एक्चुअरीको आवश्यक्ता हुन्छ। सामान्य लेखापालन वा विश्लेषणको सहायताबाट जटिल विषयको निर्णय गर्न संभव नहुने भएकाले नै एक्चुअरी विज्ञानको प्रादुर्भाव भएको हो ।
एक्चुअरी विज्ञानको विद्यार्थीहरुको आवश्यकता हुन सक्ने कार्यक्षेत्रहरुः
१. बीमा कम्पनीहरु:
बीमा कम्पनीहरु विशेषगरी जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका लागि एक्चुअरी सेवा नभई नहुने अवस्था छ। निर्जीवन बीमा कम्पनीका लागि पनि भावी दायीत्व सुनिश्चित गर्नका लागि एक्चुअरी सेवा आवश्यक हुने भएपनि जोखिमको सीमांकन गर्न सकिने र छोटो अवधिको लागि मात्र दायीत्व बहन गर्नुपर्ने भएको हुँदा अन्य दुई प्रकारका बीमक जतिको जटिल अवस्था हुँदैन । एक्चुअरीले बीमा कम्पनीहरुको कारोबारबाट प्राप्त हुने तथ्यांकलाई केलाउने मात्र नभएर अन्य बीमा कम्पनी र समग्र बीमा क्षेत्रको कारोबारको तथ्यांक, कारोबारको प्रवृत्ती, व्यवसायीक अभ्यास, बैंक ब्याज दर लगायतको सुक्ष्म विश्लेषण गरिरहेका हुन्छन् । यस्तो विश्लेषणको मद्दतबाट बीमा कम्पनीका लागि उपयुक्त बीमालेख तयार पार्न, बीमाशुल्क दर तय गर्न, जोखिम रहित प्रतिफल दर तय गर्ने निर्णय गर्न उपयोगी हुन्छ । बीमा कम्पनीहरुको कारोबारको आकार बढ्दै जाँदा पूर्णकालीन एक्चुअरीको माग बढ्दै गएको छ। प्राधिकरणले समेत जीवन बीमक र पुनर्बीमकलाई अनिवार्यरुपमा एकजना पूर्णकालीन एक्चुअरी नियुक्त गर्न निर्देशन दिई सकेको अवस्था छ ।
२. पेन्सन र सामाजिक सुरक्षा कोषः
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सर्वसाधारणबाट विभिन्न योजना अन्तर्गत खर्ब रुपैयाँभन्दा बढी संकलन गरेका छन् । यस्तो रकम निश्चित अवधिपछि निश्चित अतिरिक्त लाभ सहित फिर्ता दिने वा केही सुविधाहरु दिने प्रतिबद्धताका आधारमा कोषहरुले संकलन गरेका हुन्छन् । संकलित कोषलाई पूर्व निर्धारित दायीत्व पुरा गर्न सक्ने गरी सुरक्षित क्षेत्र र निश्चित प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु कोष सञ्चालक संस्थाको दायीत्व हुन्छन् । यस्तो कम्पनीले लगानीका लागि गर्ने सामान्य हेलचक्र्याइँले समेत सर्वसाधारणको मिहिनेत पसिनाको कमाई डुब्न सक्छ । निवृत्तिभरण अर्थात् पेन्सन योजना र सामाजिक सुरक्षा कार्यक्रमको अवधारणा तयार पार्न र जोखिम व्यवस्थापन गर्नका लागि एक्चुअरीको परामर्श आवश्यक हुन्छ। नेपालमा सरकारी स्वामित्वका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले खर्ब रुपैयाँभन्दा बढी परिचालन गरि रहेपनि एक्चुअरी विज्ञबाट सेवा लिने कार्य अझैसम्म पनि गरेका छैनन् । सरकारले आफ्नो साख जोगाउनका लागि समेत यस्ता कोषहरुको व्यवस्थापन र जोखिमांकनका लागि एक्चुअरी सेवा अनिवार्य गर्नु जरुरी छ।
३. बैंक तथा वित्तीय संस्थाहरु:
एक्चुअरीले दिने जोखिम विश्लेषण तथा कारोबार विश्लेषणको सेवा बैंक तथा वित्तीय संस्थाका लागि पनि उत्तिक्कै महत्वपूर्ण हुन्छ । बैंक वित्तीय संस्थाले सर्वसाधारणबाट बचतका रुपमा संकलन गरेको पूँजीलाई विभिन्न क्षेत्रमा कर्जाका रुपमा लगानी गरेका हुन्छन् । यस्तो लगानीसँग सम्बन्धित जोखिमको विश्लेषण गर्न र आवश्यक व्यवसायीक रणनीति अपनाउनका लागि एक्चुअरीले बहुमूल्य सुझाव दिन्छन् । बैंकले कार्यान्वयनमा ल्याएको व्यवसायीक तथा लगानी रणनीति, वित्तीय औजारहरुको प्रयोग, लगानीको विविधिकरणसँग निहित जोखिम र नियामक अनुपालन सुनिश्चित गर्नका लागि समेत एक्चुअरीको विशेषज्ञ सेवा आवश्यक हुन्छ। न्।
४. परामर्श र जोखिम व्यवस्थापन:
एक्चुअरी विज्ञानमा विशेषज्ञता हासिल गरेका पेशाकर्मीहरूसँग कुनै पनि क्षेत्रको कारोबार र लगानीसँग सम्बन्धित जोखिमको सुक्ष्म विश्लेषण गर्न सक्ने क्षमता हुन्छ। यस्तो क्षमतालाई लगानी, पूर्वाधार निर्माण, म्युचुअल फल यसले उनीहरूलाई परामर्श फर्महरू र संस्थाहरूको जोखिम व्यवस्थापन विभागहरूमा खोजी गर्ने पेशेवरहरू बनाउँदछ। एक्चुअरीहरूले वित्त, बीमा, र लगानीसँग सम्बन्धित जोखिमहरू व्यवस्थापन गर्न विशेषज्ञ सल्लाह प्रदान गर्न सक्छन्।
सामना गर्नुपर्ने चुनौतिहरु:
१. सीमित जागरूकता:
एक्चुरियल विज्ञानको प्रयोग नेपालमा बीमा उद्योगको विकाससँगै शुरु भएपनि विस्तारितरुपमा प्रयोग हुन थालेको तीन दशक यता मात्र हो । पछिल्लो समयमा नेपाल बीमा प्राधिकरणले बीमकको वार्षिक बीमाङ्कीय मूल्याङ्कन प्रयोजनका लागि मात्र नभएर दैनिक कार्य सञ्चालन, पूँजी निर्धारण लगायतको काममा पनि एक्चुअरी विशेषज्ञको सेवा अनिवार्य गर्न थालेको । बीमा उद्योगभित्रै पनि यो अझैसम्म झ्याङ्गिएको छैन, बीमकहरू नै अहिले पूर्णकालीन एक्चुअरीको नियुक्तिमा अल्झिएका छन् । यो पेशा अपेक्षाकृतरुपमा नेपाली वित्तीय क्षेत्रका लागि नयाँ क्षेत्र हो। यद्दपी एक्चुअरीहरुको संगठनले एक्चुअरी पेशा सम्बन्धमा जागरुकता जगाउने तथा विभिन्न तालिम तथा सभाहरुको आयोजना गरि रहेका छन्।
२. सीमित शैक्षिक संस्था:
नेपालमा एक्चुअरियल विज्ञान विषयमा अध्यापन गराउने सीमित शिक्षण संस्थाहरु मात्र छन् । त्रिभूवन विश्वविद्यालयले औपचारिक उपाधि सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेको छ भने एक्चुअरियल सोसाइटीले एक्चुअरी विज्ञान सम्बन्धमा स सानो अवधिको तालिम तथा सभा सम्मेलनको आयोजना गरेर प्रवर्द्धनको प्रयास गरिरहेको छ। सीमित शिक्षण संस्थामा अझ काठमाडौंभित्रै मात्र यो विषयको अध्यापन हुँदा यसले सबैका लागि पहुँच सुनिश्चित गर्न चुनौती खडा गरेको छ। यसबाहेक अध्ययनका लागि आवश्यक शैक्षिक सामाग्रीको अभाव तथा सीमित पहुँचले समेत यो पेशाको बिस्तारका लागि चुनौती खडा गरेको छ।
३. पेशागत लाइसेन्स :
पेशागतरूपमा एक्चुअरी सेवा शुरू गर्नका लागि एक्चुअरी विज्ञान सम्बन्धी औपचारिक अध्ययन र उपाधिले मात्र पर्याप्त हुँदैन । एक्चुअरी सोसाइटीको सदस्यता समेत प्राप्त गर्नुपर्छ। सोसाइटी अफ एक्चुअरीद्वारा यो पेशाका नवप्रवेशीहरुको परिक्षा लिनुका साथै अभिमूखिकरणको चरण पुरा गरेर व्यवसायीक प्रमाण पत्र प्रदान गरिन्छ। चिकित्सकले एमबिबिएस वा एमडी उतीर्ण गरि सकेपछि नेपाल मेडिकल काउन्सिलबाट र कानूनका विद्यार्थीले ल क्याम्पस उतीर्ण गरि सकेपछि नेपाल कानून परिषदबाट पेशागत इजाजत पत्र प्राप्त गरे जस्तै एक्चुअरी पेशाका लागि पनि इजाजत पत्र अनिवार्य हुन्छ। एक्चुअरी पेशाकर्मीको रुपमा स्वतन्त्ररुपमा काम गर्नका लागि इजाजत पत्र हासिल गर्न प्रमाणीकरण प्रकृयामा विभिन्न तहको परिक्षामा अनिवार्य उतीर्ण हुनुपर्छ।
४. व्यवहारिक अनुभव:
एक्चुअरी विज्ञानको विद्यार्थीलाई औपचारिक वा सैद्धान्तिक अध्ययनबाट यो पेशाका लागि आवश्यक पर्ने ज्ञान वा दक्षता हासिल हुँदैन । यसका लागि व्यवहारिक अनुभव समेत हासिल गर्नु अनिवार्य हुन्छ। नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, सैनिक तथा प्रहरीको कल्याणकारी कोषको व्यवस्थापनमा अझैसम्म पनि एक्चुअरीको भूमिकालाई स्थान दिइएको छैन । सीमित बीमा कम्पनीहरुभित्र मात्र व्यवहारिक ज्ञानको अवसर खोज्नुपर्दा यो पेशामा प्रवेश गर्न चाहनेका लागि स्थितिलाई जटिल बनाएको छ। अर्को तर्फ एक्चुअरी सेवा प्रदायक संस्थाको संख्या समेत सीमित भएकाले एक्चुअरी विज्ञानका विद्यार्थीलाई यो क्षेत्रमा व्यवहारिक अनुभवका लागि पर्याप्त अवसर उपलब्ध छैन ।
यी सबै चुनौतीका बावजुद नेपालमा एक्चुअरियल विज्ञानको अध्ययन अध्यापन बिस्तार हुँदै जाँदा भविष्यमा नीतिगतरुपमा नै एक्चुअरी विशेषज्ञ सेवाको अनिवार्य आवश्यकता हुने क्षेत्रहरु बिस्तार हुँदै गएको अवस्थामा विद्यार्थीहरुका लागि रोजगारीका पर्याप्त अवसरहरु सिर्जना हुनेछन् । प्राविधिक विषय भएकाले विदेशमा पनि यसको ठूलो माग हुने भएकाले स्वदेशभित्र अवसर नपाएर बेरोजगार बस्नुपर्ने चिन्ता लिनुपर्ने अवस्था पनि हुँदैन ।