नेपालको पूँजी बजारलाई डम्पिङ साईट बनाएर सर्बसाधारण लगानीकर्ताको सम्पति लुटाउने कि राम्रा कम्पनीहरुलाई बजारमा ल्याएर धेरै भन्दा धेरै जनतालाई पूँजी बजारबाट प्रतिफल बाँड्ने भन्ने गंभीर प्रश्न घोराही सिमेन्ट लगायतका धितोपत्र बोर्डले हालै स्वीकृति दिएका आईपीओका विवरण पत्र हेर्दा उठेको छ ।
सिमेन्ट उत्पादनको क्षेत्रमा चर्को प्रतिस्पर्धा भएर सिमेन्टको भाउ लगातार खस्किरहेको छ भने ६८ सिमेन्ट कम्पनीहरु मध्ये आधा जसो मात्र संचालनमा रहँदा ५० पैसा प्रतिसेयर आम्दानी रहेको घोराहीलाई ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्न दिँदाका औचित्य नेपाल धितोपत्र बोर्डले पुष्टि गर्नेपर्छ । नत्र यो सेयर बजारमा गरिएको खुलेआम डकैति प्रमाणित हुनेछ र आईपीओ स्वीकृत गर्ने जिम्मेवारहरुलाई जेलमा कोच्नुको विकल्प हुन्न । यस्तो बदमासीलाई तह नलगाउने हो भने नेपालको सेयर बजार विकृत र झन् संकटग्रस्त भएर मात्रै जाँदैन, सर्बसाधारणको विस्वासै समाप्त हुन्छ ।
धितोपत्र बोर्डले आफ्नो वेवसाईटमा राखेको घोराही सिमेन्टको विवरण पत्रमा अहिले उसको प्रतिसेयर आम्दानी ५० पैसा मात्र रहेको देखाईएको छ । यस आधारमा उसले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा ३३५ रुपैयाँ प्रिमियम थपेर निश्काशन गरेको आईपीओको आधारमा मुल्य आम्दानी अनुपात हिसाब गर्ने हो भने ८७६ गुणा हुन जान्छ । सेयर बजारमा १५ गुणासम्म मूल्य आम्दानी अनुपात भएका कम्पनीलाई राम्रो मानिन्छ र ३० गुणासम्मको मूल्य आम्दानी अनुपातलाई ठीक मान्नुपर्छ तर धितोपत्र बोर्डले ८७६ गुणा मूल्य आम्दानी अनुपात भएको कम्पनीलाई कसरी ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्न अनुमति दियो ?
विवरण पत्रको ५२ नम्बर पृष्ठमा कम्पनीको विगत तीन बर्षको खुद नाफा तुलना गर्दै २०७७।०७८ भन्दा २०७८।०७९ मा खुद नाफा घटेको देखाईएको छ भने धितोपत्रको प्रिमियम मूल्य निर्धारण गर्दाको आधारहरुमा ‘ग’ नम्बरमा बित्तीय प्रक्षेपणका आधारहरुको औचित्यलाई आधार लिईएको भनिएको छ भने ‘घ’ नम्बरमा उस्तै प्रकृतिको सापेक्षिक सूचीकृत उद्योग शिवम सिमेन्टको पूँजी र ऋण अनुपातको समायोजन गरी आधार लिईएको उल्लेख छ जब कि अहिलेको कम्पनीको समग्र अबस्था र सिमेन्ट सिमेन्ट दुबैको अबस्थाले घोराहीको महंगो आईपीओलाई आधार दिदैनन् ।
घोराहीले २०७९ पुस मसाान्तको बित्तीय विवरण अनुसार २२७ रुपैयाँ प्रतिसेयर नेटवर्थ देखाएको आधारमा त्यसको दुई गुणा बढी मूल्यमा आईपीओ बिक्री गर्न दिएको हो भने पनि कम्पनीको विगतको अबस्था र भबिष्यमा हुने प्रगतिको आँकलनको मेल कहाँ खान्छ ? कम्पनीले २०७७।०७८ मा प्रतिसेयर आम्दानी १२ रुपैयाँ देखाएकोमा २०७८।०८९ मा खस्केर ६ रुपैयाँ ८१ पैसामा झरेको छ भने २०७९।०८० को पुस मसान्तसम्मको हिसाबका आधारमा त्यो खस्केर ५० पैसामा झरेको छ । अहिलेको आर्थिक मन्दी, निर्माण क्षेत्र सुस्ताएको र सिमेन्ट कम्पनीहरुबीच चर्को प्रतिस्पर्धा भएर मूल्य सस्तिता घोराहीको प्रतिसेयर आम्दानी कसरी बढोत्तरी भएर जान्छ ? यस आर्थिक बर्षको अन्त्यसम्ममा उसले प्रक्षेपित नाफा कमाएर प्रति सेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा नै भयो भने पनि कायम हुने ३८ गुणा मूल्य आम्दानी अनुपात जोखिमपूर्ण हुनेछ । सेयर प्रिमियमबाट जम्मा हुने रकम लाभांशमा बाँड्ने आश देखाएर सर्बसाधारणलाई मुर्ख बनाउँन पाइँदैन ।
त्यसमाथि झन् घोराहीबासीले उद्योगले वातावरणीय र वायु प्रदुषण फैलाएको भन्दै उद्योग नै स्थानान्तरणको मागसहित आन्दोलन थालेकाले उद्योगको भबिष्य के हुने प्रश्न उब्जेको छ भने स्थानीयले महंगो मूल्यको आईपीओ नै बहिष्कार गरेका छन् । तर कम्पनीको विवरण पत्रको १४ नम्बर पृष्ठको १२ नम्बरमा मजदुर सगठनहरुसँग कुनै विवाद नरहेको भन्दै स्थानीय बासिन्दाहरुसँगको विवाद लुकाईएको छ । यसलाई विवरण पत्र हैन, झुटको पुलिन्दा नै भन्नुपर्छ । उही ब्यापारिक समूहको नजिक मानिने केयर रेटिङ नेपालको रेटिङलाई मात्रै विस्वास गर्ने आधार छैन, ठूलो मिलेमतो रहेको प्रशस्त आधारहरु छन् ।
यस्तो बिषम अबस्थाले धितोपत्र बोर्डले महंगो मूल्यमा आईपीओ बिक्रीको स्वीकृति कसरी दियो भन्ने गंभीर प्रश्न छदैछ, त्यस भन्दा अगाडि लाखौं कर्मचारीहरुले आफ्नो गाँस काटेर जम्मा गरेको रकम जोखिममा पर्ने गरी नागरिक लगानी कोषले नबिक्ने महंगो मूल्यको सेयर किन्ने प्रत्याभुति अर्थात अन्डरराइृटिङ कसरी दियो भन्ने बारेमा पनि तत्काल छानविन हुनुपर्ने देखिएको छ । घोराहीले बिक्रीमा ल्याउने ७० लाख ४३ हजार ८०१ कित्ता सेयर सर्बसाधारणले नकिनेमा नागरिक लगानी कोषले सकार्नुपर्नेछ र त्यस वापत कर्मचारीको चार अर्ब बचत जोखिममा पर्नेछ । जब कि तीन बर्ष अगाडि आईपीओ बिक्री गरेको शिवम सिमेन्टको भाउ नै ४०० रुपैयाँ भन्दा तल झरिसकेको छ । तीन बर्षपछि घोराहीका संस्थापकले पनि सबै सेयर साधारण बनाएर दोस्रो बजारमा तीन करोड कित्ता सेयर आपुर्तिको खोलो बगाउँदा सर्बसाधारण लगानीकर्तामाथि थपिने जोखिम छदैछ । लगानीकर्तामा ब्याप्त चरम निराशा र अधिक आपुर्तिले थला परेको बजारमा २५७ रुपैयाँ नेटवर्थ रहेको कम्पनीको सेयर मूल्य २५० तल झरिसकेको अबस्थामा जोडजाड गरिएको नेटवर्थ देखाईएको कम्पनीको आईपीओ अंकित मूल्य भन्दा चार गुणा बढी मूल्यमा किन भनेर कसरी भन्न सकेको ?
सिमेन्ट, छड जस्ता उत्पादनमुलक कम्पनीहरु सेयर बजारमा आउनैपर्छ र उनीहरुलाई ल्याउन सरकारले प्रोत्साहन पनि गर्नुपर्छ । उच्च नेटवर्थ र संभावना भएका कम्पनीहरुलाई प्रिमियममा वा बुक बिल्डिङमा आईपीओ ल्याउन दिनुपर्छ । तर त्यसको बदलामा लाखौं सर्बसाधारणहरुलाई गुमराहमा पारेर केही उद्योगपतिहरुले लुट्ने अवसर सिर्जना गरिनुहुन्न । घोराही सिमेन्ट साँच्चै राम्रो कम्पनी हो भने उसलाई बुक बिल्डिङ मार्फत संस्थागत लगानीकर्ताहरुबाट मुल्यांकन गराएर किन आईपीओ ल्याउ भनिएन ? घोराहीबासीले वातावरणीय प्रदुषण भयो भनेर आफ्ना पीडा ब्यक्त गरिरहँदा उनीहरुलाई चर्को प्रिमियम लगाएर सेयर किन भन्नु कहाँसम्मको न्याय हो ? वातावरण प्रदुषण हटाउने उपाय अबलम्बन गरी स्थानीयबासीलाई क्षतिपुर्ति स्वरुप अंकित मूल्य १०० रुपैयाँ मै सेयर दिईनुपर्दथ्यो तर उल्टै शोषणको तरिका अपनाईयो । आम सर्बसाधारणमा पनि अंकित मूल्य भन्दा बढीमा सेयर बिक्री गर्नुपर्ने औचित्य पुष्टि हुन सकेको छैन ।
आईपीओमा लगानी गर्ने लगानीकर्ताहरुले सेयर बजारको जोखिम र कम्पनीको अबस्था राम्रोसँग बुझ्न नसक्ने हुँदा नियमनकारी निकायले उनीहरुको हितमा बढी गंभीर भएर काम गर्नुपर्छ, गोलमटोल भाषामा आफै अध्ययन गरेर लगानी गर भन्दैमा धितोपत्र बोर्डले कर्तब्य पुरा गरेको ठहरिदैन । दोस्रो बजारका लगानीकर्ताहरु तलुनात्मक रुपमा जागरुक र जोखिमबहन गर्नसक्ने खालका भएकाले नीति, नियम र नियमन कडा बनाएर बजारलाई जति स्वतन्त्र छाडे पनि हुन्छ । प्रिमियमसहितका आईपीओमा जे गरे पनि हुन्छ भन्ने खालको धितोपत्र बोर्डको कृयाकलाप विगतदेखि नै विवादित हुँदै आएको यसै हैन भन्ने प्रष्ट हुँदैछ ।