काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर खेती बीमालेख र मेन्था ‘पुदिना’ खेती बीमालेख जारी गरेको छ । टिमुर खती बीमालेख लागत र उत्पादनमा आधारित छ भने मेन्थाखेती लागतमा आधारित रहेको छ । प्राधिकरणले टिमुर खेती र मेन्था खतीमा हुने क्षति विरुद्ध बीमा गर्नका लागि बीमितले बीमा शुल्क भुक्तानी गर्ने गरी तयार पारेको हो । बीमा कम्पनीहरुले यहि बीमालेख अनुसार आफैले बीमालेख तयार पारि जारी गर्न सक्ने छन् ।
टिमुर बीमालेख र पुदिना खेती बीमालेखको रक्षावरण
कृषकले बीमा अवधिभित्र अग्निजन्य क्षतिको दाबी प्राप्त गर्न सक्छन् । बीमितले हुँरीबतास, आँधिवेहरी, तुफान जस्ता हावजन्य क्षतिको दाबी प्राप्त गर्न सक्नेछन् । पानी जन्य क्षति अन्तर्गत अतिवृष्टि वा बेमौसमी वर्षाको कारणले भएको क्षति, असिना वा हिउँको कारणले भएको क्षतिको क्षतिपुर्ती पाउने छन् ।
मौसमजन्य क्षति अन्तर्गत खडेरीको कारणले भएको क्षति, तुसारोको कारणले भएको क्षतिको दाबी पाइनेछ । भुमि जन्य क्षति अन्तर्गत भुकम्पको कारणले भएको क्षति, पहिरो वा भुस्खलनको कारणले भएको क्षतिको दाबी पाउन्छ । बीमितले चट्याङको कारणले भएको क्षतिको क्षतिपुर्ती पाउने छन् ।
आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति अन्तर्गत जंगली जनावरको आक्रमणबाट भएको क्षतिको पनि दाबी पाउन सकिन्छ । रोक वा किराजन्य क्षति अन्तर्गत रोगको कारणले भएको क्षति र किराको कारणले भएको क्षतिको दाबी पाउन सकिनेछ ।
यदि यो बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र तोकिएको क्षति भएमा दुर्घटना बीमा बापत बीमितले २ लाख रुपैयाँसम्मको दाबी भुक्तानी पाउने छन् । बीमितको आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा २ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्नेछ । त्यस्तै स्पाइनल इन्जुरीको कारणले पुनः ठिक नहुने गरी असर पुर्याएमा पनि यस्तो दाबी पाउन सकिन्छ । दुबै आँखाको दृष्टि गुमेमा वा शरिर अंगभंग भएमा पनि यस्तो क्षतिपुर्ती पाउन सकिनेछ ।
तर दुबै खेतीमा नियोजित रुपमा क्षति पुर्याएको पाइएमा तोकिए बमोजिमको कुनै पनि दाबी पाउन सकिने छैन । यदि बीमितले झुट्टा विवरण दिएको पाइएमा दुबै पोलिसी स्वत रद्द हुनेछ । यदि कुनै कारणबस दुई कम्पनीमा बीमा भएर क्षति भएको पाइएमा उक्त क्षतिको दाबी भुक्तानी समानुपातिक रुपमा वितरण हुने प्राधिकरणले जनाएको छ ।
बीमाङ्क र बीमा शुल्क गणना
टिमुर खेतीको बीमाङ्क गणना गर्दा टिमुर बोटको संख्या र प्रति बोटको लागत मूल्य गणना गरिन्छ । त्यस्तै बीमा शुल्क गणना गर्दा बीमाङ्क रकमको तीन प्रतिशत अनुसार तय गरिन्छ । कृषकले बीमा शुल्क भुक्तानी गर्दा नेपाल सरकारले बेहोर्ने अनुदान रकम घटाएर बाँकी रकम मात्रै भुक्तानी गर्दा हुन्छ ।
त्यस्तै पुदिना खेतीको बीमा शुल्क गणना गर्दा पुदिना खती गरेको क्षेत्रफल (कठ्ठामा), प्रति कठ्ठा कच्चा पदार्थ उत्पादन किलोमा र प्रतिकिलो कच्चा पदार्थको मूल्यलाई गुणन गरिन्छ । यसरी तीन वटै पक्षलाई गुणन गरेर आउने अंक नै बीमाङ्क रकम हुनेछ । बीमा शुल्क गणना गर्दा माथिको बिधिबाट प्राप्त बीमाङ्क रकमको ४ प्रतिशत नै बीमा शुल्क हुनेछ ।
Mentha-Policy Timur-Policy