IME Life
GBIME

सम्पत्ती शुद्धीकरणमा विदेशी मुद्राको हुण्डी कारोवारले निम्त्याएका चुनौती, शाम्बराज लामिछानेको लेख

SPIL
NIC ASIA new
NLIC

शाम्बराज लामिछाने

कुनै पनि राष्ट्र बैदेशिक सम्बन्धबाट अलग भई रहन सक्दैन, बैदेशिक व्यापार, कूटनैतिक सम्बन्ध, बैदेशिक भ्रमण, पारस्परिक सहयोग आदिका माध्यमबाट बैदेशिक सम्बन्धमा निरन्तरता भइरहेको हुन्छ । यसबाट बैदेशिक मुद्रा समेतको आदान प्रदान भइरहने हुँदा अन्तर्राष्ट्रिय रूपमा ख्याती र मान्यता प्राप्त गरी सर्वग्राह्य मुद्राको रूपमा अन्तर्राष्ट्रिय कारोवारमा स्थापित रहन सफल प्रमूख मुद्राहरूमा अमेरिकी डलर, ब्रिटिश पाउण्ड, यूरो, जापानिज येन, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क आदि मुद्राहरू नै विश्व अर्थतन्त्रका प्रमुख उपकरणका रूपमा स्थापित रहेका पाइन्छन् ।

Crest

अन्तर्राष्ट्रिय व्यापारमा भुक्तानीका लागि ग्राह्य मुद्राको महत्व सर्वव्यापी रहेको छ भने यस्ता हार्ड करेन्सीहरूको मूल्य अधिक हुने हुँदा गैरकानूनी धन्दा, जस्तै अवैधरूपमा वन्यजन्तु तथा तीनका अङ्गहरू, सुन, लागूऔषध, हतियारहरूको ओसारपसार, मानव अपहरण, तस्करी, आतङ्कवाद आदि कारोवारमा समेत प्रयुक्त हुने गरेका र एक राष्ट्रको मुद्रा शुध्दीकरण गर्न अर्को मुद्रालाई प्रयोग गर्ने तथा बिदेशमा आर्जित धनलाई अवास्तबिक मुद्रा (भर्चुअल करेन्सी) जस्तै क्रिप्टो करेन्सी, बीटक्वाइन, लाइटक्वाईन, डिजीक्वाइन, इथरेम आदिमा लगानी गर्ने प्रवृत्ति पनि देखिएको सन्दर्भमा अबैध कारोवारबाट श्रृजित मुद्राको ओसारपसार र विनिमय कारोवारलाई नियन्त्रण गर्नु र शुध्दीकरण गरी राष्ट्रिय आर्थिक प्रणालीलाई दूषित बनाउने क्रियाकलापलाई रोक्नु अर्थतन्त्रको चुनौतीको रूपमा लिइन्छ ।

२. हुण्डी कारोवार

बैकिङ्ग प्रकृयाबाट रकम विदेश पठाउन र विदेशबाट झिकाउन निश्चित प्रावधान, कार्यविधि प्रकृया र सीमा बन्देजका सर्त पालना गर्नुपर्ने हुन्छ । त्यस्तै, बैकिङ्ग संयन्त्र, संजालले नछोएका स्थान पनि हुन सक्छन् सोको विकल्पमा व्यक्ति वा संगठित निकायको सम्पर्कबाट निजको अभिकर्ता (एजेण्ट) मार्फत रकमको कारोवार गर्नु नै हुण्डी कारोवार हो । विदेशमा रहेका एजेण्टले सम्बन्धित ग्राहकलाई निश्चित रकम भुक्तानी गरे बापतको रकम स्वदेशमा अर्को एजेण्टले लिने गर्दछ, त्यस्तै स्वदेशमा एजेण्टले रकम लिई विदेशी एजेण्टले सम्बन्धित लाभकर्तालाई तहांको मुद्रामा भुक्तानी गर्दछ । यो कुनै बैधानिक संजाल र संगठनबाट नभई भूमिगत र अनौपचारीक संगठनको संजाल अन्तर्गत पनि संचालित रहेको पाइन्छ ।

यस्तो कारोवारको दृष्टिकोणले खुला र लचिलो मुलुकमा ती एजेण्टहरूको मध्यस्त रहेको हुन्छ, त्यसै मार्फत रकम बैकिङ बाटोमा समेत प्रवेश गरेको हुन्छ । जस्तैः यसको संजालमा रहेको कुनै एजेण्ट हङकङ., सिङगापुर, यू.ए.ई. केन्या, ब्रिटिस भर्जिन आइल्याण्ड जस्ता स्थान, जहाँ समय र बैकिङ वित्तीय कारोवारको लचकता रहने स्थानमा बसी एजेण्टहरूबीच समन्वय गरी त्यहाँबाटै एसिया, अमेरिका, अष्ट्रेलिया, यूरोप, अफ्रिकामा रहेका ग्राहकहरूलाई बैङक वा व्यक्ति मार्फत रकम पुग्ने गर्दछ । सोही तरिकाबाट कमिशन, भ्रष्ट्राचार, माफिया कारोवार, अपराध तस्करी आदि श्रोत नखुलेको धन, कालोधन, अनधिकृत र आपराधिक कार्यबाट प्राप्त धन शुध्दीकरण प्रयोजनका लागि समेत विदेशमा र विदेशबाट स्वदेशमा ओसारपसार भइरहेको हुने गर्दछ ।

यस्ता कारोवार गर्न स्वदेश तथा विदेशमा व्यक्ति तथा कुनै प्रयोजन जस्तै ट्राभल एजेन्सी, मेनपावर, रेमिटान्स, नेटवर्कङ., कन्सल्टेन्सी जस्ता कार्य गर्ने उद्देश्य देखाई संस्थापना भई हुण्डी जस्ता गैरकानूनी कारोवारमा संलग्न रही सम्पत्ती शुध्दीकरण गर्ने मुख्य माध्यम बनिरहेको हुन सक्छन् । यस्तो कारोवारको लागि विनिमय दर आफुखूशी कायम गरिएको हुन्छ भने कमिशन पनि बढी लिने गर्दछन् ।

३. हुण्डी कारोवारको बाध्यता

बर्तमान समयमा मुद्राको कारोवारमा उचित प्रयोजन देखिनुपर्ने, परिमाणमा सिमा तोकिने, आम्दानीको श्रोत खुल्नुपर्ने, संलग्न पक्षहरूको परिचय स्पष्ट देखिनु पर्ने, अवैध कारोवारबाट प्राप्त नभएका वा त्यस्तो कामको लागि प्रयोग नहुने र मुद्रा शुध्दीकरण गर्ने प्रयोजन होइन भनी उद्घोषण गर्नुपर्ने जस्ता नियन्त्रणात्मक र अनुगमनात्मक प्रावधानहरू प्रत्येक राष्ट्रका विदेशी विनिमयका नीति, कार्यविधिमा समाविष्ट गरिएका पाइन्छन् । फलस्वरूप जहांबाट पनि जो कोहीले जुनसुकै प्रयोजनको लागि बैकिङ्ग र वित्तीय संस्थाहरूबाट रकमको प्रसारण गर्न नपाउने र नसक्ने स्थिति रहेको छ । साथै रेमिटोन्स कम्पनीहरूको संस्थागत कार्यालयहरूको उपलब्धता नरहनु र रहेका स्थानमा पनि प्रकृयागत प्रावधानहरू पूरा गर्नुपर्ने कारणले समेत बैकल्पिक माध्यमको रूपमा हुण्डी कारोवारले प्रश्रय पाएको देखिन्छ ।

यस प्रकारका कारोवारहरू राष्ट्रिय अर्थतन्त्रको तथ्यांकभित्र नआउने हुँदा बिद्यमान अवस्थामा विदेशी मुद्राको संचिति तथा आवश्यकता तथा पूर्तिका लागि वनाउनु पर्ने नीति निर्माणा तथा प्रक्षेपणका लागि लिइने तथ्यांक नै गलत भैरहेको हुन्छन् । राष्ट्रिय तथ्यांक बमोजिम विदेशी मुद्रा संचिति कम देखिएको समयमा बजारमा विदेशी मुद्रा पर्याप्त पाइने र बढी संचिती रहेको अवस्थामा बजारमा विदेशी मुद्राको अभाव रहन जाने अवस्था श्रृजना हुन पुगेको हुन्छन् ।

राज्यको आर्थिक नीतिमा प्रत्येक नागरिकको आर्थिक क्रियाकलाप कानून बमोजीम र पारदर्शी रहोस्, जस्ले त्यस्ता कारोवारहरू सरकारी तथ्यांकका श्रोत बन्नुपर्नेमा अधिकांश गैरकानूनी र माफिया धन्दामा रहेका तथा राजश्व छल्नखोज्ने व्यक्तिहरू आफनो आर्थिक कारोवारलाई गोप्य राख्न चाहन्छन् र आफ्नो कारोवारको प्रयोजन तथा श्रोत गोप्य राख्न खोज्ने कारणले सरकारको बैधानिक माध्यमभन्दा बाहिर कारोवार गर्न खोज्दा यस्ता हुण्डी जस्ता कारोवार फैलिन जान्छन् ।

नेपालमा विदेशी मुद्राको विनिमय कारोवारका सर्त तथा अवस्थाहरू नेपाल राष्ट्र बैंकबाट जारी हुने राज्यको मौद्रिक नीति अन्तर्गत समय समयमा परिवर्तन भइरहन्छ । अर्थतन्त्रमा देखिएका सूचकांकहरू अनुरूप विदेशी विनिमयको नीति निर्देशनहरू निर्धारित रहने भएकाले यसको कारोवार गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, विदेशी मुद्राको कारोवार गर्ने अन्य निकायहरूलाई समय समयमा जारी हुने इ.प्रा. परिपत्रहरू र चालू आर्थिक वर्षको आर्थिक ऐन तथा आर्थिक तथा मौद्रिक नीति हरूबाट निर्देशित रहन्छन् ।

इजाजत प्राप्त निकायहरूले ती नीतिगत व्यवस्थाहरूसंग अद्यावधिक रूपमा जानकार रही सो बमोजिम कारोवार गर्नु पर्ने हुन्छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा परेको समग्र प्रभावलाई मुल्यांकन र अनुसन्धान गरिरहेको हुन्छ भने विदेशी विनिमयका कारोवारहरूको तथ्यांकहरू प्राप्त गरी सोको विश्लेषणबाट आवश्यक नीति निर्देशनको तर्जूमा गरी लागू गर्ने हुदा इजाजत प्राप्त निकायहरूका कारोवारमा नेपाल राष्ट्र बैंकको नियमनकारी भूमिका रहन्छ । परिवर्त्य विदेशी मुद्रा र यसको संचितिको अनुपातसँगै हाम्रो बैदेशिक व्यापारको स्थिति दर्शिने गर्दछ । त्यसैले यसको कारोवारको हरेक पक्षलाई नेपाल राष्ट्र बैकले नियमन नियन्त्रण र अनुगमन गरिरहेको हुन्छ । आवश्यकता अनुसार नेपाल राष्ट बैकले आन्तरिक बैकिङ बजारमा हस्तक्षेप गरी विदेशी मुद्राको शोषण र प्रवाह समेत गर्ने गर्दछ ।

विदेशी मुद्राको कारोवार गर्न इजाजत प्राप्त निकायहरूको अनसाइट र अफसाइड निरीक्षण गरी केन्द्रीय बैंकले यसरी गैरकानूनी माध्यमबाट हुनसक्ने कारोवारलाई निरूत्साहित गर्नुपर्ने हुन्छ । नेपालको बैदेशिक व्यापारको अधिकांश हिस्सा भारतसंगको व्यापारले ओगटेको तथ्यांक रहेको छ तर भारतीय व्यपारीले नेपालमा गर्ने व्यापार र नेपाली वा भारतीय व्यापारीले भारतबाट नेपालमा गर्ने व्यापारको भुक्तानी प्रकृयाको माध्यम आपसी सम्बन्धको आधारमा हुण्डी प्रणालीलाई बढी प्रयोग गरेका पाइन्छ यस अर्थमा नेपाल र भारतबीचको व्यापारिक कारोवारको समेत सरकारी तथ्यांक दुरूस्त आउन हुण्डी कारोवारले बाधा पु–याएको छ भन्न सकिन्छ । नेपाली वजारमा भारतीय मुद्राको माग बढी हुनु र आपुर्तिमा समस्या रहनुको कारण पनि हुण्डीको लागि निजी व्यापारीक क्षेत्रमा भा.रू. को संचय गर्ने प्रबृत्तिले गर्दा नै हो भन्न सकिन्छ ।

४. बिदेशी मुद्रा बजारमा असर

बैंक तथा वित्तिय संस्थाहरूले गर्ने विदशी मुद्राको प्रत्येक कारोवार लेखाबध्द हुनु जरूरी छ, जसबाट कारोवारको प्रयोजन र श्रोत स्पष्ट हुन सकोस् । त्यस्ता कारोवारहरूको तथ्यांक अन्तत्वगत्वा केन्द्रीय तथ्यांक प्रणालीमा अनुवध्द हुन पुग्दछ । जस्तैः विदेशी मुद्रा खरीद गर्दा बैंक तथा अन्य इजाजतप्राप्त संस्थाहरूले रशीद (फरेन एकस्चेञ्ज ईन्क्यासमेण्ट रिसिप्ट–फीर) काट्न र बिक्री गर्दा आवश्यक कागजात अभिलेखका रूपमा राख्नु अनिवार्य छ, यसको अभावमा बैकिङ क्षेत्रबाट समेत विदेशी मुद्राको कारोवारमा चुहावट भई हुण्डी व्यवसायीलाई प्रोत्साहन पुग्न जान्छ र बजार र बैकिङबीचको फरक मूल्य गैरकानूनी कारोवारीले फाइदा लिनसक्ने अवस्था आउन सक्छ ।

हुण्डी कारोवार अबैध मानिने गरिएकोले कारोवारमा संलग्न हुँदा गूनासो, उजूर गर्ने बैधानिक बाटो रहँदैन भने संजालको एउटा संयन्त्रले धोका दिएमा ग्राहकको पूरै रकम डुब्न जाने अवस्था आउन सक्दछ । यस हुण्डी कारोवारबाट विदेशमा नेपालीले कमाएको रकम विदेशमानै रही नेपाली बैंकमा प्राप्त हुँदैन । त्यस्तै नेपालबाट विदेश जाने रकम बढी मूल्यमा कारोवार गर्नुपर्ने स्थिति आउन सक्छ । अन्ततः विदेशीले सोको भरपाई गैरकानूनी ढंगबाट जम्मा पारेका विदेशी मुद्राबाट लिएर जाने हँुदा स्वदेशमा पनि विदेशी मुद्राको अबैध संचिति कालो वजार, तस्करी, अपचलनका तरिकाहरू र अनधिकृत कारोवारमा प्रोत्साहन पुग्न जान्छ । साथै स्वदेशको पूँजी पलायन (क्यापिटल फ्लाईट) हुन गई राष्ट्रिय अर्थतन्त्र र आर्थिक विकाशको लागि घातक सिध्द हुन पुग्दछ ।

यदाकदा हाम्रो मुलुक गैरकानूनी व्यापारको पारवहन विन्दु (ट्रान्जीट प्वाईण्ट) को रूपमा विकसित भैरहेको र कतिपय विदेशी मुद्राहरू अनधिकृत रूपले ओसारपसार भैरहेको पाइनु राष्ट्रिय अर्थतन्त्रलाई नै चूनौतिको विषय बन्दै गएको छ । खास र जायज प्रयोजनको लागि रकम पठाउन विभिन्न प्रावधानहरूको पालना गर्नुपर्ने तर नाजायज प्रयोजनका लागि हुण्डी कारोवार बाट सहजै विदेशी मुद्राको कारोवार भैरहेका उदाहरण पाउन सकिन्छन्। लाखौं नेपालीहरूको रोजगारीको लागि गन्तव्य मुलुकहरू मलेशिया, कोरीया,जापान, खाडी तथा अन्य क्षेत्रबाट रेमिटान्स प्राप्त भई विदेशी मुद्राको प्रमुख श्रोतको रूपमा रेमिटान्स रही रेमिटान्सले धानिएको मुलुकको रूपमा चिनिन बाध्य भइरहेको परिप्रेक्ष्यमा त्यही श्रोत मुलुकहरूमा अफ्ठेरो परिस्थितिमा न्यूनतम रकम पनि नेपालबाट पठाउन सकिने बैध संयन्त्र स्थापना गर्न र विकास हुन सकेको छैन ।

एकातिर टिकट खर्च, उपचार, दण्ड, जरिवाना तिर्न नसकी विदेशमा अलपत्र परेका परेका अवस्थामा त्यस्ता मुलुकमा रहेका आफन्तहरूलाई रकम पठाउन कसरी सकिन्छ भनि बिभिन्न बैंकहरूमा धाउंदै बुभ्दै हिडेका कतिपय सर्वसाधरणा भेटिने गरेका छन्। तर बैंकिङ माध्यमबाट पठाउन औपचारिक कागजात जुटाउन असम्भव हुने हुँदा तिनीहरूले बाध्य भएर हुण्डी कारोवारी खोज्न बाध्य रहन्छन् भने अर्कातिर विदेशी नागरिकता पाउन, विदेशमा सम्पत्ति खरिद गर्न र बसोवास व्यापार गर्न तथा अवास्तविक मुद्राबजारमा लगानी गर्न भने लाखौं डलर हुण्डीको माध्यमबाट कारोवार भइरहेकोले यसले अर्थतन्त्रमा नकारात्मक असर पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

५. नियमनको आवश्यकता

बिभिन्न माध्यम र प्रकृयाबाट देशमा विदेशी मुद्रा प्राप्त भैरहन्छन् भने सोको उपयोग बिभिन्न प्रयोजनका लागि गरिन्छ । यस्ता प्रयोजन र क्रियाकलापका लागि विदेशी मूद्रा सम्बन्धि नीति र कार्यविधि निर्धारणा गरीएको हुन्छ । राष्ट्रिय अर्थतन्त्रमा आयात र निर्यातको भुक्तानी सन्तुलनको अवस्था कमजोर भएको स्थितिमा विदेशी मुद्राको संचयन अत्यन्त जरूरी हुन्छ । हुण्डी कारोवारले राष्ट्रियरूपमा विदेशी मुद्राको संचयनलाई मदत गर्देन बरू राष्ट्रिय नीति निर्देशनका छिद्रहरू (लूपहोल) पहिल्याई नाफाखोरी तर्फ त्यस्ता कारोवारीहरू उद्यत रहेका हुन्छन्।

बैंकहरूले जोखिम व्यवस्थापन रणनीति अपनाई मुद्राको मुल्यमा हुने संभावित उतार चढाव (फ्लक्चुएसन) बाट हुने घाटाको जोखिमलाई अन्य नाफा हुने मुद्रामा हस्तान्तरण गर्ने प्रविधि (हेजीङ टेक्निक) प्रति गैर बैकिङ क्षेत्रका मुद्रा कारोवारीहरू भन्दा बढी चनाखो र जानकार रही यसको कारोवार, संचयन, तथा व्यापार बैकिङ च्यानल बाहिर हुन सक्ने स्थितिलाई निरूत्साहित गर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

हाम्रो जस्तो आयातमा निर्भर रहनुपर्ने देशको लागि बस्तु तथा सेवाको आयातमा राष्ट्रिय आवश्यकता अनुरूपको मात्र प्रतितपत्र खोल्ने व्यवस्था गर्दा विदेशी मुद्राको संचयनले अर्थतन्त्रलाई आशातित ढंगमा कायम राख्न मद्दत गर्दछ, जसवाट निश्चित अवधिको आयात धान्न सकोस् र राष्ट्रिय आवश्यकता पुर्ति गर्न सकियोस्। त्यसैले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा विदेशी मुद्रालाई राष्ट्रिय सम्पत्तिको रूपमा लिइएको हुन्छ भने त्यसको स्थानीय विनिमयको मुल्यमा मात्र मुद्रा धनीले अधिकार राख्ने हुँदा बिदेशी मुद्रालाई हुण्डीको रूपमा ओसार्ने, थुपार्ने, श्रोत नखुलेका विदेशी मुद्राहरू कारोवारमा प्रयोग गर्ने जस्ता सम्पत्ती शुध्दीकरण जन्य कारोवारहरू हुन नदिन राष्ट्रिय हित अनुरूपको नीति निर्माण र कार्यान्वयनमा अनुसन्धानकारी तथा नियमनकारी निकायहरूको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ ।

(लामिछाने बीमा समितिका कानुन विभागको उपनिर्देशक हुन्)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS